काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक र आर्थिक लोकतन्त्र स्थापित नभएसम्म राजनीतिक लोकतन्त्रको कुनै अर्थ, भविष्य वा स्थायित्व नहुने बताएका छन्।
सोमबार काठमाडौँमा डा. रेखा यादवद्वारा लिखित ‘निर्झरको प्रश्न’ कथाकृतिको लोकार्पण गर्दै अध्यक्ष यादवले सामाजिक तथा आर्थिक रूपान्तरणका लागि सबैभन्दा पहिले जनताको सामाजिक चेतनामा परिवर्तन ल्याउनु अनिवार्य हुने समेत बताए।
उनले समाजलाई जागृत बनाउने, सोच्न बाध्य पार्ने र रूपान्तरणको दिशा दिने सबैभन्दा शक्तिशाली अस्त्र साहित्य नै भएको धारणा राखे। अहिले पनि शिक्षाबाट वञ्चित अवस्था, छोरा र छोरीबीचको असमान व्यवहार, रुढीवादिता, अज्ञानता र गरिबी÷विपन्नता अझै समाजमा गहिरोसँग जरा गाडेर बसेको उल्लेख गरे।
अध्यक्ष यादवले नेपालमा विभेद, असमानता, विपन्नता र अन्याय भोगिरहेका पिछडिएका समुदायलाई न्याय दिलाउन र समाजलाई सही दिशा दिन साहित्यिक क्षेत्रबाट अझै धेरै काम गर्न बाँकी रहेको बताए।


