दक्षिण कोरियामा १६ वर्षपछि महिलाको शव फेला, प्रेमीले शवमाथि गरेका थिए ढलान

हिमाल प्रेस ८ असोज २०८१ १८:२५
34
SHARES
दक्षिण कोरियामा १६ वर्षपछि महिलाको शव फेला, प्रेमीले शवमाथि गरेका थिए ढलान

दक्षिण कोरिया (रासस/एएफपी)- हत्याको १६ वर्षपछि दक्षिण कोरियामा एक महिलाको शव फेला परेको छ। घरको बालकोनीमा शव राखेर माथिबाट ढलान गरेको अवस्थामा शव फेला परेको हो।

हत्या आरोपमा एक पुरुषलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार ती पुरुषले आफूले आफ्नी प्रेमिकाको हत्या गरेर शवमाथि ढलान गरेको स्वीकार गरेका छन्।

५० वर्षीय ती पुरुषले सन् २००८ अक्टोबरमा झगडा हुँदा ती महिलाको हत्या गरेको बताएका छन्। प्रहरीका अनुसार उनले महिलालाई भुत्ते हतियारले प्रहार गरी हत्या गरेर उनको शरीरलाई एउटा ठूलो झोलामा राखेका थिए। त्यसपछि उनले शवलाई आफ्नो बालकोनीमा इँटा थुपारेर १० सेन्टिमिटर मोटो सिमेन्टको ढलान गरेर लुकाए। ती महिला आफ्नै परिवारसँग सम्पर्कमा नभएकाले तीन वर्षपछि मात्र हराएको रिपोर्ट गरिएको थियो।

सन् २०११ को हराएको व्यक्तिको जाँचका क्रममा ती पुरुषले प्रहरीलाई उनीहरूको ‘ब्रेकअप’ भएको बताएका थिए। प्रमाणको अभावमा मुद्दा सुल्झिएको थिएन।

शवलाई सानो बालकोनीको स्थानमा फिट गरिएको र त्यो कोठा ‘सन् २०१६ देखि लगभग खाली’ रहेकाले शवको खोजी पहिले नगरिएको एक प्रहरी अधिकारीले पत्रकारहरूलाई बताए ।

त्यस वर्ष ती पुरुषलाई लागुऔषध प्रयोग गरेको आरोपमा पक्राउ गरिएको थियो। घरधनीले उक्त सम्पत्ति भण्डारण स्थानका रूपमा प्रयोग गरिएको बताएका थिए।

गत महिना पानी चुहिएपछि खोजी गर्दा एक कामदारले सो झोला फेला पारेपछि शव फेला परेको थियो। निरीक्षण गर्दा प्रहरीले महिलाको शव ‘केही हदसम्म संरक्षित’ भएको पाएको थियो।

‘शरीर पूरै रूपमा हाडखोरमा परिणत नभएकाले हामीले औँठाछापमार्फत उनको पहिचान गर्न सक्यौँ,’ प्रहरीले भनेको छ। ती पुरुषलाई सोधपुछका लागि ल्याइएपछि अन्ततः उनले हत्या स्वीकार गरेका थिए।

प्रकाशित: ८ असोज २०८१ १८:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − twelve =