८५ प्रतिशतभन्दा बढी शव सिंगो अवस्थामा छैनन्, डीएनए नमुना लिएर सुरक्षित रूपमा गाडिएको हो : मन्त्री पुन

हिमाल प्रेस १४ भदौ २०८३ ११:१४ | Sunday, August 30, 2026
८५ प्रतिशतभन्दा बढी शव सिंगो अवस्थामा छैनन्, डीएनए नमुना लिएर सुरक्षित रूपमा गाडिएको हो : मन्त्री पुन

काठमाडौँ- विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले भोटेकोशी-त्रिशूली बाढीमा फेला परेका अधिकांश शव सिंगो अवस्थामा नरहेकाले डीएनए नमुना संकलन गरेर सुरक्षित रूपमा गाड्ने प्रक्रिया अपनाइएको बताएका छन्।

शव गाड्ने विषयमा उठेका विभिन्न प्रश्नहरूको जवाफ दिँदै मन्त्री पुनले भने,‘फेला पारिएका ८५ प्रतिशतभन्दा बढी शवको सिंगो भाग छैन। प्राप्त भएका शवका हात, खुट्टा, करङ र शरीरका चोक्टा-चोक्टा मात्र छन्। सग्लो शरीर भएकाहरूको पनि अधिकांश चिनिने अवस्थामा छैनन्।’

उनका अनुसार यस्ता शवको पहिचान गर्ने सबैभन्दा भरपर्दो आधुनिक उपाय डीएनए परीक्षण भएकाले प्रत्येक शव वा शरीरका अंशबाट डीएनए नमुना संकलन गरिएको छ।

‘डीएनए नमुना लिएर प्रत्येक शवका टुक्रालाई नम्बर लगाई सेना र प्रहरीको परिसरमा सुरक्षित रूपमा गाडिएको हो। पछि आफन्त आएर डीएनए नमुना दिएपछि परीक्षणबाट मिल्ने हड्डी वा शरीरका अंश परिवारलाई काजक्रिया र अन्त्येष्टिका लागि उपलब्ध गराइन्छ,’ मन्त्री पुनले भने।

उनले शव व्यवस्थापनमा वैज्ञानिक विधि अपनाइएको बताए। भने,‘शरीरको कुनै अंगको कोषबाट डीएनए परीक्षण गरेर त्यसको अभिलेख राखिन्छ। यही वास्तविक प्रक्रिया हो।’

भोटेकोशी-त्रिशूली क्षेत्रमा आएको भीषण बाढीपछि उद्धार टोलीले विभिन्न स्थानबाट शव तथा शरीरका अंश फेला पारिरहेको छ।

शवको अवस्था अत्यन्त जटिल भएकाले पहिचान सुनिश्चित गर्न डीएनए परीक्षणलाई प्राथमिकता दिइएको सरकारले जनाएको छ।

प्रकाशित: १४ भदौ २०८३ ११:१४ | Sunday, August 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast