काठमाडौँ- इरानको विदेश मन्त्रालयले दक्षिण कोरियालाई होर्मुज जलसन्धिमा अमेरिकी अभियानमा सैन्य तैनाथी वा सहभागिता नजनाउन चेतावनी दिएको छ। यस्तो कदमले ‘गम्भीर परिणाम’ निम्त्याउन सक्ने भन्दै इरानले चेतावनी दिएको हो।
दक्षिण कोरियाले शुक्रबार रणनीतिक महत्वको होर्मुज जलसन्धिमा अमेरिकी सुरक्षा प्रयासमा योगदान गर्ने विषयमा विचार गरिरहेको जनाएको थियो। फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिकासँग युद्ध सुरु भएयता इरानले यस क्षेत्रमा ठूलो हदसम्म नियन्त्रण कायम राखेको छ।
सोलले आफ्नो सैन्य तयारीमा असर नपर्ने सर्तमा सम्भावित सहभागिताबारे विचार गरिरहेको जनाएको छ। तर यस विषयमा कुनै निर्णय भइनसकेको पनि उसले स्पष्ट पारेको छ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकायीले सोमबार दक्षिण कोरियालाई अमेरिकी दबाब र धम्कीको अगाडि नझुक्न आग्रह गरे।
‘फारसी खाडी वा होर्मुज जलसन्धिमा अन्य देशले गर्ने कुनै पनि सैन्य तैनाथी वा अभियानमा सहभागितालाई आक्रामकताका लागि जिम्मेवार पक्षको प्रत्यक्ष समर्थनका रूपमा मात्र बुझ्न सकिन्छ र यसका गम्भीर परिणाम हुनेछन्,’ उनले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्।
अप्रिलमा भएको युद्धविरामले सुरुवाती तीव्र बमबारी अन्त्य गरे पनि इरान र अमेरिकाबीच होर्मुज जलसन्धि तथा आसपासका क्षेत्रमा तनाव र गोली हानाहान जारी रहेको छ।
होर्मुजमाथि नियन्त्रण कायम गर्ने विषयमा देखिएको विवादका कारण दुई देशबीचको वार्ता पनि अवरुद्ध भएको छ। सामान्य अवस्थामा विश्वको करिब २० प्रतिशत हिस्सा तेल तथा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) यही जलसन्धिमार्फत ढुवानी हुने गर्छ।
युद्ध सुरु भएयता यस महत्वपूर्ण जलमार्गमा जहाज आवतजावत लगभग ठप्प हुँदा विश्वव्यापी ऊर्जा बजारमा समेत अवरोध सिर्जना भएको छ।
इरानले जलसन्धिमार्फत आवतजावत गर्ने जहाजलाई आफ्नो अनुमति लिन अनिवार्य गरेको छ। वासिङ्टनसहित क्षेत्रका धेरै देशले यसको विरोध गरेका छन्। इरानले भने युद्धअघि जस्तै निर्वाध रूपमा जहाज आवतजावत गर्ने व्यवस्था पुनःस्थापित गर्न नसकिने अडान लिएको छ।


