प्रस्तावित राजदूतहरूको ‘अपरिपक्व’ अभिव्यक्ति

हिमाल प्रेस १८ भदौ २०८१ १८:२१
12
SHARES
प्रस्तावित राजदूतहरूको ‘अपरिपक्व’ अभिव्यक्ति

काठमाडौँ– संसदीय समितिमा यति बेला विभिन्न मुलुकका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ चलिरहेको छ। प्रस्तावित राजदूतहरू आफ्नै अभिव्यक्तिका कारण हाँसोका पात्र बनेका छन्। सुनुवाइ आइतबार सुरु भएको हो। छिमेकी भारत र चीनका लागि प्रस्तावित राजदूतहरू क्रमशः शंकरप्रसाद शर्मा र कृष्णप्रसाद ओलीको सुनुवाइ गरिसकेको संसदीय समितिले सोमबार इजरायल, मलेसियासहित चार देशका लागि सिफारिस राजदूतहरूको सुनुवाइ गरेको थियो।

इजरायलको राजदूतमा सिफारिस प्रा. धनप्रसाद पण्डितले ‘प्यालेस्टाइनलाई बाँच्न दिनुपर्ने’ टिप्पणी गरेका थिए। इजरायल स्वतन्त्र राष्ट्र छँदा प्यालेस्टाइनलाई पनि बाँच्न दिनुपर्ने उनको भनाइ थियो। पण्डितले इजरालयको राजदूत भइसकेपछि हमाससँग युद्धविरामका लागि पहल गर्ने बताए। उनले भने, ‘लडाइँ कम गर्न, बन्द गर्न इजरायलको प्रतिनिधि तयार हुनुपर्छ।’

अमेरिका र रूसजस्ता ठूला शक्ति राष्ट्रलाई इजरायल-हमास युद्ध साम्य पार्न सकस परिरहेका बेला प्रस्तावित राजदूत पण्डितले सुनुवाइ समितिमा दिएको यस्तो जवाफ ‘अपरिपक्व’ देखिएको छ। विश्वकै ‘बेस्ट माइन्ड’ भनेर चिनिने इजरायली अर्थात् जुजहरुलाई सुझाव दिने उनको अभिव्यक्ति हास्यास्पद रहेको सुनुवाइ समितिका सदस्यहरूले बताए।

पण्डितले पूर्वीय दर्शन, चाणक्य नीति तथा कृष्ण नीतिअनुसार काम गर्ने बताएका थिए। उनले नेपालीहरू अवैधानिक तरिकाबाट भारत हुँदै इजरायल जाने गरेको जानकारी दिँद यसलाई रोक्न जरुरी रहेको पनि बताए। कतिपय नेपाली दार्जिलिङ र सिक्किम पुगेर भारतीय पासपोर्ट बनाएर अवैध तरिकाबाट इजरायल पुग्ने गरेको उनको भनाइ छ।

‘यहाँबाट दार्जिलिङ गएका छन्, सिक्किम गएका छन्, लाखौँ खर्च गरेर त्यहाँको पासपोर्ट लिएका छन् अनि इजरायल गएका छन्,’ पण्डितले भने, ‘कतिपय भारत पुगेर दलालमार्फत त्यहाँ गएका छन्। यसलाई रोक्ने मेरो प्राथमिकता हुनेछ।’

‘जीटूजी’ का साथै चार तरिकाबाट नेपालीहरू इजरायल पुग्ने गरेको जानकारी आफूसँग रहेको उनले बताए। सरकारी आँकडाअनुसार ‘जीटूजी’ मार्फत त्यहाँ पुग्ने नेपाली १ हजार ३४५ मात्रै रहे पनि यो संख्या ७ हजार ४५ रहेको उनको भनाइ छ।

‘सांस्कृतिक कार्यक्रम गर्दा नेपाली बनेर आउँछन् रे, उसको मृत्यु भयो भने पासपोर्ट इन्डियन छ। यस्ता प्राविधिक समस्या आउने गरेको अनौपचारिक जानकारी माननीयज्यूहरूलाई गराउन चाहेँ,’ पण्डितले भने।

कार्ययोजना प्रस्तुत गर्दै उनले विगतमा इजरायलले नेपाली सेनालाई प्याराजम्पिङको तालिममा सहयोग गरे पनि अहिले रोकिएको भन्दै निरन्तरता दिन पहल गर्ने बताए।

इजरायलका साथै नेपालका लागि महत्त्व बोकेको अर्को छिमेकी मुलुक हो, मलेसिया। नेपाली कामदारको प्रमुख रोजगार गन्तव्य भएकाले मलेसियालाई महत्त्व दिने गरिएको छ। मलेसियामा साढे पाँच लाख कामदार कार्यरत रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्यांकले देखाउँछ।

मलेसियाका लागि सरकारले नेत्रप्रसाद तिम्सिनालाई प्रस्ताव गरेको छ। सुनुवाइका लागि संसदीय सुनुवाइ समितिमा उपस्थित भएका उनले पटकपटक एउटा कुरा दोहोर्‍याए- मजदुरहरूलाई छोडेर म्यानपावरको पक्षमा काम गर्ने छैन।

उनले यस्तो धारणा राख्नुपछाडि एउटा कारण थियो- पछिल्लो राजदूत डिल्लीराज पौडेलमाथि मलेसियाको रोजगारीमा सिन्डिकेट लगाउने प्रयास गरेको आरोप लागेको थियो।

कार्ययोजना सुनाउँदै तिम्सिनाले श्रम आप्रवासनका क्षेत्रमा गम्भीरतापूर्वक काम गर्ने बताए। उनले वाणिज्य, पर्यटन र वैदेशिक लगानीहरू नेपालमा भित्र्याउन आफूले प्राथमिकताका साथ काम गर्ने योजना सुनाए।

‘‘समृद्ध नेपाली, सुखी नेपाली’ हामीले लिएको आकांक्षा अहिले पनि एकखालको निरन्तरता छ, यसका लागि वाणिज्य, पर्यटन र वैदेशिक लगानीहरू नेपालमा कसरी भित्र्याउन सकिन्छ त्यका लागि काम गर्छु,’ उनले भने, ‘श्रम आप्रवासन हुने देशको राजदूत भएँ, तर हामीले धेरै नेपाली यताबाट उता लानुभन्दा कसरी त्यहाँ भएका सुविधाहरू आफ्नो देशमा सिर्जना गर्न सकिन्छ भन्ने लाग्छ।’

तिम्सिनाले मजदुर वर्गको हितको न्यूनतम अधिकार र सामाजिक सुरक्षाका लागि विश्वव्यापी अभियानमा लामो समयसम्म काम गरेको सुनाएका थिए। उनले कार्ययोजना सुनाएपछि जसपा नेपालका सांसद प्रकाश अधिकारीले ‘म्यानपावर राजदूतले सिफारिस गरेको त होइन?’ भन्ने प्रश्न गरे।

जवाफमा तिम्सिनाले आफूलाई म्यानपावर व्यवसायीले नभई सरकारले राजदूत सिफारिस गरेको बताए। स्वच्छ काम गर्छ भनेर सरकारले आफूलाई राजदूतका लागि सिफारिस गरेको हुनसक्ने उनको भनाइ थियो।  तिम्सिनाले निजी क्षेत्रको दबाबबाट मुक्त भएर कामदारका पक्षमा काम गर्ने प्रतिबद्धता दोहोर्‍याए।

पाकिस्तानका लागि प्रस्तावित राजदूत रीता धितालले दुई देशबीचको सम्बन्ध अगाडि बढाउने ढाँचा तयारी अवस्थामा रहे पनि केही नयाँ क्षेत्र पहिचान गर्न आवश्यक रहेको बताइन्। उनी परराष्ट्रका कनिष्ट सहसचिव भए पनि महिला कोटामा राजदूतमा सिफारिस भएकी हुन्। यद्यपि उनमा ‘करिअर’ कूटनीतिक कौशल नदेखिएको सुनुवाइ समिति सदस्यहरुले सुनाए।

‘नेपालको शैक्षिक संस्था र पाकिस्तानको विश्वविद्यालयबीच विभिन्न विधामा सहकार्य गर्ने समझदारी छ, विभिन्न क्षेत्रमा दुई देशबीचको सम्बन्ध अगाडि बढाउने ढाँचा तयारी अवस्थामा छ,’ उनले भनिन्, ‘केही नयाँ क्षेत्र पहिचान गर्ने र भएका ढाँचालाई क्रियाशील बनाउनुपर्ने देखिन्छ।’ व्यापार, कृषि, पर्यटनलगायतका द्विपक्षीय सम्बन्धहरूमा सम्झौता भएको बताउँदै उनले यीमार्फत सहकार्य अगाडि बढाउने सम्भावना रहेको जिकिर गरिन्।

सुनुवाइका क्रममा दुई देशबीच यसअघि भएका समझदारी र सम्झौताहरूको चर्चा गरे पनि धितालले राजदूत नियुक्त भएर गइसकेपछि आफूले ल्याउने योजनाहरूबारे खासै चर्चा गरिनन्।

पोर्चुगलको राजदूतका लागि सिफारिस भएका प्रकाशमणि पौडेलले नेपाली विद्यार्थीलाई उच्चशिक्षाको सम्भावनाका लागि आफ्नो ध्यान केन्द्रित रहने बताए। साथै पोर्चुगलमा रहेका नेपालीको राहदानी प्रमाणीकरण, समस्यामा परेका नेपालीाई सहयोग, मृत्यु भएका नेपालीको शव पठाउन चुनौती देखिएकाले त्यसका लागि सहजीकरण गर्ने उनको भनाइ थियो।

नेपाल र पोर्चुगलबीच द्विपक्षीय संयन्त्र स्थापना भएको ६ वर्ष बितिसक्दा पनि सक्रिय नदेखिएको बताउँदै उनले यसका लागि काम गर्ने जिकिर गरे। पौडेलले पर्यटन प्रवद्र्धन, नेपाली उत्पादनका लागि बजारको खोजी, नेपालमा लगानी भित्र्याउन आफूले पोर्चुगलसँग सहकार्य गर्ने दाबी गरे।

यसअघि भारतका लागि प्रस्तावित राजदूत शंकर शर्माले अरूलाई नपाएर आफूलाई नै भारत पठाएको शैलीमा भनेका थिए, ‘मलाई नै नियुक्त गर्नुको काराण सरकारले दिने हो। मेरो चाहना भन्दा पनि सरकारले भारतमा पुनः नियुक्ति गरेको हो।’

भारतमा दुई वर्षभन्दा बढी समय बस्दा कुनै पनि उल्लेख्य काम गर्न नसकेका शर्माले भारतीय विदेमन्त्री यस जयशंकरलाई भेट्न एक वर्ष पर्खनुपरेको थियो। त्यहाँका प्रधानमन्त्रीसँग छुट्टै भेट्ने सम्भावना थिएन र भेटेनन् पनि।

चीनका लागि प्रस्तावित राजदूत कृष्णप्रसाद ओलीले चीनबाट पर्यटक र रेल ल्याउने अनि बेल्टएन्ड रोड मोडालिटीलाई अन्तिम रुप दिने बताए। त्यस्तै जर्मनीका लागि राजदूतमा सिफारिस शैल रुपाखेतीले आफ्नो चिकित्सा पेसा र आफ्ना बिरामीलाई नै अलपत्र पारेर त्यहाँ एयर सेफ्टीको कुरा गर्ने समेत सुनाए।

प्रकाशित: १८ भदौ २०८१ १८:२१

प्रतिक्रिया

One thought on “प्रस्तावित राजदूतहरूको ‘अपरिपक्व’ अभिव्यक्ति

  1. दुर्भागे हो देशको। यस्ता लाजदुत र राजदुत बनाउने नेति्रत्वबाट के अपेछा गर्ने?
    पररास्ट्रमा सिनियरलाइ नदिने र कनिस्टलाइ बनाउने खेल सुरु गरिन धितालले। जहा पनि महिला कोटा भन्दै सत्ता शक्ति र अनय विभिन्न उपाय प्रयोग गरि अरुलाइ पन्छाउदै र अरुको भाग खोस्न खप्पिस उनी पररास्ट्रकि कलंक नै हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + six =