‘एफएनसीसीआई’ कोशी प्रदेशको परराष्ट्र सम्बन्धी सल्लाहकारको भूमिकामा पूर्वराजदूत तापस

हिमाल प्रेस २७ असार २०८३ १७:३४ | Saturday, July 11, 2026
14
SHARES
‘एफएनसीसीआई’ कोशी प्रदेशको परराष्ट्र सम्बन्धी सल्लाहकारको भूमिकामा पूर्वराजदूत तापस तापस अधिकारी

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) कोशी प्रदेशले पूर्वराजदूत तापस अधिकारीलाई परराष्ट्र मामिला सम्बन्धी सल्लाहकारमा मनोनयन गरेको छ। महासंघको कोशी प्रदेश कार्यसमितिको शुक्रबार सम्पन्न दोस्रो बैठकले कूटनीतिमा लामो अनुभव भएका अधिकारीलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।

महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले कूटनीति क्षेत्रमा लामाो अनुभव भएका तापसलाई परराष्ट्रसम्बन्धी सल्लाहकारमा मनोनीत गरेको जानकारी दिएका छन्।

‘निजी क्षेत्रको हकहितको संरक्षण, प्रवर्द्धन तथा सुदृढीकरणका लागि महासंघले निर्वाह गर्दै आएको भूमिकालाई थप प्रभावकारी, सशक्त र परिणाममुखी बनाउन अधिकारीको कूटनीतिक अनुभव तथा अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी विज्ञताले महत्वपूर्ण योगदान पुग्ने विश्वास गर्दछौँ,’ महासंघका अध्यक्ष राजेन्द्र राउतले भने।

अध्यक्ष राउतका अनुसार अधिकारीको सक्रिय सहयोग, रचनात्मक सुझाव तथा सद्भावबाट महासंघको संस्थागत क्षमता अभिवृद्धि हुनुका साथै अन्तर्राष्ट्रिय सम्बन्ध र आर्थिक कूटनीतिक क्षेत्रमा सहकार्य विस्तार हुने अपेक्षा महासंघको छ।

अधिकारी नेपाल सरकारका पूर्वसहसचिव तथा करिब तीन दशकभन्दा बढी समय परराष्ट्र सेवामा कार्यरत कूटनीतिज्ञ हुन्। उनले पाकिस्तानका लागि नेपालको आवासीय राजदूतका रूपमा कार्य गरेका थिए। त्यसअघि परराष्ट्र मन्त्रालयअन्तर्गत राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय संगठन महाशाखा, युरोप–अमेरिका महाशाखा, भारत–चीन महाशाखालगायत द्विपक्षीय तथा बहुपक्षीय कूटनीतिसँग सम्बन्धित विभिन्न महाशाखामा जिम्मेवारी सम्हालेका थिए।

उनले कन्सुलर सेवा तथा राहदानी विभागमा समेत महत्वपूर्ण समयमा भूमिका निर्वाह गरेका थिए। मन्त्रालयको प्रशासन प्रमुखका रूपमा कार्यरत रहँदा प्रशासनिक व्यवस्थापन, मानव स्रोत परिचालन तथा संस्थागत सुदृढीकरणसम्बन्धी जिम्मेवारी पनि सम्हालेका थिए। उनले विदेशस्थित नेपाली नियोगसँगको समन्वय, कूटनीतिक प्रोटोकल, कन्सुलर सेवा, राहदानी व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा उनले लामो अनुभव हासिल गरेका छन्।

परराष्ट्र सेवाका क्रममा अधिकारीले संयुक्त राष्ट्रसंघसँग सम्बन्धित विषय, क्षेत्रीय तथा द्विपक्षीय सम्बन्ध, कूटनीतिक वार्ता, अन्तर्राष्ट्रिय सम्मेलन तथा नेपालका वैदेशिक हित प्रवर्द्धनसँग सम्बन्धित विभिन्न जिम्मेवारी निर्वाह गरेका थिए। उनी राजदूत हुँदा पनि राजनीतिक नेतृत्वसँग सिधा पहुँच राख्ने राजदूतको रुपमा परिचित थिए। उनी एक वर्षअघि परराष्ट्र सेवाबाट अवकाशप्राप्त भएका हुन्।

महासंघले अधिकारीको अनुभवलाई निजी क्षेत्रसँग जोड्दै आर्थिक कूटनीति, व्यापार प्रवर्द्धन, लगानी आकर्षण, निर्यात विस्तार तथा अन्तर्राष्ट्रिय व्यापारिक सञ्जालसँगको सम्बन्ध सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षासहित उनलाई परराष्ट्र सम्बन्धी सल्लाहकारको जिम्मेवारी दिएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast