कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल
सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले समयलाई चिनेर दौडिएमात्र लक्ष्यमा पुग्न सकिने बताएका छन्।
प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रेस नेपालले आज आयोजना गरेको कर्णाली हाफ म्याराथन प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकुद मात्र नभई हरेक ठाउँमा समयलाई चिनेर दौडिएमा मात्र सही गन्तव्यमा पुग्न सकिने बताए।
कर्णालीमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै समयमै सम्पन्न गर्न दबाबस्वरुप यो प्रतियोगिताको आयोजना भएको आफूलाई लागेको मुख्यमन्त्री कँडेलले बताए।
कर्णालीको विकासलाई माग आकांक्षाभन्दा पनि स्रोतसाधनको उपलब्धताका आधारमा कार्ययोजना बनाई काम गरिने उनको भनाइ छ।
त्यस्तै, सामाजिक विकासमन्त्री बीरबहादुर शाहीले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताले कर्णालीलाई चिनाउने अभियानका लागि सुनौलो समय भएको बताए।
कर्णालीले पनि खेलकुदमा भारी मात्रामा काम गर्न लागेको छ भन्ने सन्देश दिएको उनको भनाइ छ।


