कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल
दैलेख- नेकपा एमालेका सचिव यामलाल कँडेलले देशैभरि नेकपा एमालेका लागि अनुकूल राजनीतिक वातावरण बनेको दाबी गरेका छन्। नेकपा एमाले दैलेख प्रतिनिधि सभा क्षेत्र नं २ द्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले विगतको निर्वाचनमा सबै शक्ति एकातिर र नेकपा एमाले अर्कोतिर रहे पनि यस पटक राजनीतिक दलहरू आ–आफ्नै बाटोमा भएकाले एमालेका लागि परिस्थिति सहज बनेको बताए।
सचिव कँडेलले वर्तमान राजनीतिक प्रतिस्पर्धामा नेकपा एमाले सबैभन्दा अगाडि रहेको उल्लेख गर्दै भने, ‘यो निर्वाचन निर्माण गर्ने र विध्वंस गर्ने बीचको चुनाव हो। यदि यस पटक नेकपा एमालेले जित्न सकेन भने देशको संविधान, लोकतन्त्र र स्थायित्व जोखिममा पर्न सक्छ।’
समाजमा पुस्तागत अन्तर भए पनि आपसी सम्मान र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो। ‘हाम्रो घर–परिवारमै विभिन्न पुस्ता छन्, सबैले एक–अर्काको सम्मान गर्नुपर्छ,’ उनले भने, ‘नयाँ भनिनेहरुको गतिविधिले समाज कतातिर जाँदैछ भन्ने प्रश्न उठाएको छ।’ उनले टिकट वितरणमा पार्टीले निर्णय गरेपछि अनावश्यक टिप्पणी नगर्न कार्यकर्तालाई निर्देशन दिए। सचिव कँडेलले भने, ‘पार्टीलाई फुटाएर मात्रै अरू दलले जित्न सक्छन्, त्यसैले एकताबद्ध भएर अगाडि बढ्नु पर्छ, मतदातालाई उत्साहित बनाउँदै प्रत्येक जनताको घरदैलोमा एमालेको सन्देश पुर्याउन जरुरी छ।’
सहकारी ठगी गर्ने, सिंहदरबार र देश जलाउनेहरूले देश निर्माण गर्न सक्दैनन्, उनीहरूले खरानी मात्रै बनाउने उनको दाबी थियो। सचिव कँडेलले कार्यकर्ता भेलामा आगामी निर्वाचनलाई लक्षित गरी संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र सकारात्मक सन्देश प्रवाहमा केन्द्रित हुनुपर्नेमा जोड दिए।


