भारतमा लोकसभा निर्वाचन : पहिलो चरणको मतदान सुरु

हिमाल प्रेस ७ वैशाख २०८१ १०:२५
12
SHARES
भारतमा लोकसभा निर्वाचन : पहिलो चरणको मतदान सुरु मतदानका लागि लामबद्ध मतदाता। तस्बिर साभार : रोयटर्स

नयाँदिल्ली- भारतका विभिन्न प्रान्तमा लोकसभा निर्वाचनमा मतदान सुरु भएको छ। लोकसभा निर्वाचनको पहिलो चरण बिहीबार सुरु भएको हो। निर्वाचनको प्रतिस्पर्धामा होमिएका दल र उम्मेदवारले आफ्नो पक्षमा जित हासिल गर्न अनेक मेहनत गरिरहेका छन् भने निर्वाचनमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

उत्तराखण्डमा सुरक्षित निर्वाचन गर्न हेलिकप्टरको प्रबन्ध गरिएको छ। उत्तराखण्डका अतिरिक्त मुख्य निर्वाचन अधिकारी विजयकुमार जोगदण्डेले पाँच लोकसभा स्थानका लागि हुने निर्वाचनको मतदान केन्द्रमा आपत्कालीन सेवाका लागि दुईवटा हेलिकप्टरको व्यवस्था गरिएको जानकारी दिए। उनले यपटकको मतदान हिंसा वा हताहतमुक्त हुने र कुनै आपत्कालीन अवस्था नआउने बताए।

पहाडी प्रदेशमा मतदाताको सहभागिता बढाउन राज्यभर ११ हजारभन्दा बढी मतदान केन्द्र स्थापना गरिएको छ।

यसैबीच उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले बुधबार नैनीतालमा पत्रकारहरूसँग कुरा गर्दै लोकसभा चुनावमा ठूलो संख्यामा सहभागी हुन मतदाताहरूलाई आग्रह गरेका छन्।

पूर्वमुख्यमन्त्री रावत र हरिद्वारमा पूर्वमुख्यमन्त्रीका छोराबीच प्रतिस्पार्धा

पहिलो चरणमा हरिद्वार र उत्तराखण्डको अन्य चार लोकसभा निर्वाचन क्षेत्रहरूमा मतदान हुनेछ। यस क्षेत्रमा भारतीय जनता पार्टीका नेता तथा उत्तराखण्डका पूर्वमुख्यमन्त्री त्रिवेन्द्रसिंह रावत र उत्तराखण्डका पूर्वमुख्यमन्त्री हरिश रावतका छोरा कांग्रेसका वीरेन्द्र रावतबीच प्रतिस्पर्धा छ।

हरिद्वार संसदीय क्षेत्र कुल १४ विधानसभाहरू मिलेर बनेको छ। बिजेपीले सन् २०१९ र २०१४ को लोकसभा चुनावमा हरिद्वारका सबै सिटमा जित हासिल गरेको थियो। उत्तराखण्डमा परम्परागत रूपमा भाजपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ।

दुवै पार्टीले राज्यलाई आफ्नो राष्ट्रिय संकल्प अनुसार सञ्चालन गर्न आवश्यक युद्धभूमिको रूपमा हेर्छन्। डिब्रुगढ, जोरहाट, लखिमपुर, सोनितपुर र काजिरंगामा पनि पहिलो चरणको मतदान जारी छ। सबै निर्वाचन क्षेत्रमा पर्यवेक्षकहरू राखिएकाले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने विश्वास दिइएको छ।

लोकसभा चुनावमा ९६ करोड ८८ लाख २१ हजार ९ सय २६ मतदाताले मतदान गर्नेछन्। अघिल्लो चुनावभन्दा यसपटक १ करोड ८४ लाख ८१ हजार ६ सय १० नयाँ मतदाता थपिएको भारतीय निर्वाचन आयोगको विवरणमा उल्लेख छ। ५ सय ४३ सदस्यीय लोकसभामा जसले बहुमत ल्याउँछ उसले पाँच वर्ष भारतमा शासन गर्छ।

भारतमा सात चरणमा हुने लोकसभा निर्वाचनको नतिजा भने एकै पटक आउनेछ। अप्रिल १९ मा सुरु हुने मतदान जुन १ मा सकिनेछ। जुन ४ मा नतिजा आइसक्नेछ। पहिलो चरण १९ अप्रिलमा १०२ सिटका लागि चुनाव हुनेछ। दोस्रो चरणको मतदान २६ अप्रिलमा ८९ सिटका लागि हुनेछ भने तेस्रो चरणमा मे ७ मा ९४ सिटका लागि मतदान हुनेछ।

यसैगरी चौथो चरण १३ मेमा ९६ सिटका लागि हुने मतदान हुने कार्यतालिका छ। पाँचौँ चरणको मतदान २० मेमा  ४९ सिटका लागि हुने कार्यतालिका छ। छैटौँ चरणको मतदान २५ मेमा ५७ सिटका लागि र सातौँ चरणको मतदान १ जुनमा ५७ सिटका लागि हुनेछ। भारतीय संविधानअनुसार स्पष्ट बहुमतका लागि २७२ सिटमा चुनाव जित्नुपर्छ।पीटीआईको सहयोगमा

तेस्रोपल्ट बहुमत ल्याउने मोदी कसरत

प्रकाशित: ७ वैशाख २०८१ १०:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + fifteen =