सातै प्रदेशमा निर्यातगृह स्थापना गर्न उद्योगमन्त्रीलाई चेम्बरको आग्रह

हिमाल प्रेस ९ चैत २०८० १९:४९
12
SHARES
सातै प्रदेशमा निर्यातगृह स्थापना गर्न उद्योगमन्त्रीलाई चेम्बरको आग्रह

काठमाडौँ- निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले सातै प्रदेशमा स्थानीय उत्पादनको प्रवर्द्धन हुनेगरी निर्यातगृह खोल्न उद्योगमन्त्रीलाई आग्रह गरेको छ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वको टोलीले आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई भेटगरी स्थानीय उत्पादनको एकीकृत प्रवर्द्धन, बजारीकरण एवं गुणस्तर मापनपछि एकद्धार प्रणालीमार्फत निर्यात गर्न सातै प्रदेशमा निर्यातगृह खोल्न आग्रह गरेको हो।

चेम्बरले विप्रेषणबाट भित्रिने रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी नीतिगत व्यवस्था गर्न पनि मन्त्री भण्डारीलाई आग्रह गरेको छ। विप्रेषणको झण्डै ९० प्रतिशत हिस्सा उपभोगमै खर्च भइरहेको सन्दर्भमा चेम्बरले अर्थतन्त्रको विस्तारमा योगदान गर्नेगरी उत्पादनमूलक क्षेत्रमा लगानीको वातावरण बनाउनुपर्ने बताएको हो।

चेम्बरले अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेकाले संसद्मा विचाराधीन आर्थिक विधेयकलाई तत्काल पारित गर्नका लागि भूमिका खेल्नसमेत आग्रह गरेको छ। ‘सरकारले वैशाख तेस्रो साता अन्तर्राष्ट्रिय लगानी सम्मेलनको तयारी गरिरहँदा विदेशी लगानीका लागि कतिपय ऐन नियमहरु बाधक रहेकाले समयमै समस्या हल गर्नुपर्छ’, अध्यक्ष मल्लले भने। वर्तमान समयमा कालोबजार ऐन, २०३२ का कतिपय प्रावधानहरू असान्दर्भिक भएकाले समयसापेक्ष सुधार गनुपर्ने चेम्बरले जनाएको छ।

चेम्बरले स्थानीय स्रोतमा आधारित खनिजजन्य रत्नपत्थर, जडीबुटी एवं वन जन्य उद्योगमा आवश्यक कानुन बनाई निर्यात प्रवर्द्धन गरिनुपर्ने बताएको छ। बजार अनुगमनका नाममा व्यवसायीले अनावश्यक दुःख नदिन चेम्बरले मन्त्रीसमक्ष आग्रह गरेको छ। रासस

प्रकाशित: ९ चैत २०८० १९:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − twelve =