बेपत्ता युवक खोज्न फेरि सेती ड्याम खोलिने

हिमाल प्रेस २१ फागुन २०८० १४:४८
22
SHARES
बेपत्ता युवक खोज्न फेरि सेती ड्याम खोलिने

पोखरा- सेती नदीमा बेपत्ता एक युवक खोज्न फेरि सेती ड्याम खोलिने भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार पोखरा-१६ दीपस्थित ड्याम खोलेर नदीमा पानीको बहाब बढाई खोजतलास गर्ने जनाएको छ।

पोखरा-११ निवासी सुगम बास्तोला गत फागुन १८ गतेदेखि नदीपुरको पुरानो पुलबाट सेतीमा हाम फालेर बेपत्ता भएका थिए। उनको खोजीमा खटिएकाे  प्रहरीको उद्धार टोलीले फेला पार्न नसकेपछि परिवारको आग्रहमा ड्याम खोली खोजतलासको अनुरोध भएपछि मंगलबार बिहान १० देखि दिउँसो २ बजेसम्म ड्याम खोलिने भएको हो।

प्रहरीले सार्वजनिक सूचना जारी गर्दै उक्त समयमा नदीमा पानीको बहाब बढ्न सक्ने भएकोले नदी वरिपरि काम गर्ने, त्यस आसपास हिँडडुल गर्ने मानिस चनाखो हुन र सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ।

यही फागुन १७ गते पनि एक युवक खोज्न  ड्याम खोलिएको थियो। माछा मार्नेक्रममा पोखरा सिम्पानीका सार्की लामा तामाङ महतगौंडाबाट सेती नदीमा बेपत्ता भएका थिए।

ड्याम खोलेर खोजी गर्दा फेला नपरेका उनी बेपत्ता भएको ५ दिनपछि (फागुन १८ गते) पोखरा–१५ स्थित पट्नेरीमा मृत फेला परेका थिए।

प्रकाशित: २१ फागुन २०८० १४:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 10 =