यूएई रोजगार मेला : सरकारको ५० लाख खर्च, देखिएन रोजगारदाताको आकर्षण

रमेश भारती २० फागुन २०८० २०:४१
98
SHARES
यूएई रोजगार मेला : सरकारको ५० लाख खर्च, देखिएन रोजगारदाताको आकर्षण

काठमाडौँ- संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजित रोजगार मेला (जब फेयर) मा रोजगारदाता आकर्षित नभएको पाइएको छ। मेला नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार बोर्डको सहकार्यमा यूएईको राजधानी अबुधाबीमा शनिबार सम्पन्न गरेको हो।

मेलामा त्यहाँका रोजगारदाता कम्पनीको सोचेजति उपस्थिति नरहेको कार्यक्रममा सहभागी आयोजक वैदेशिक रोजगार व्यवसाय संघका प्रतिनिधिले बताएका छन्। ‘जब फेयर आयोजना त गरियो। यूएईमा रोजगारदाता कम्पनीको सहभागिता भने न्यून रह्यो’, एक म्यानपावर सञ्चालकले यूएईबाट जानकारी दिए।

ती व्यवसायीका अनुसार रोजगार मेलामा ६४ म्यानपावर कम्पनीका सञ्चालकका कर्मचारीसहित एक सय १० जनाभन्दा बढी सहभागी थिए। मेलामा ४०-५० वटाभन्दा बढी रोजगारदाता कम्पनी कार्यक्रममा सहभागी नभएको ती म्यानपावर व्यवसायीले हिमाल प्रेसलाई जानकारी दिए।

वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष राजेन्द्र भण्डारी भने यूएईमा ‘जब फेयर २०२४’ भव्य भएको दाबी गर्छन्। यूएईमा ‘जब फेयर २०२४’ मेलामा एक सयभन्दा बढी म्यानपावर व्यवसायी र सोही संख्यामा यूएईका रोजगारदाता कम्पनी सहभागी भएको भण्डारीले बताए।

उनले भने, ‘रोजगार मेला सोचेभन्दा राम्ररी सम्पन्न भएको छ। पहिलोपटक भएका कारण केही सामान्य कमजोरी भयो होला।’ रोजगार मेलामा रोजगारदाता कम्पनीको सहभागिता उल्लेख्य रहेको दाबी उनको छ। ‘यूएई रोजगार मेला वैदेशिक रोजगारी क्षेत्रमा एउटा नयाँ अभ्यास हो। यसले दुई देशबीचको रोजगार मात्र नभएर अन्य कुटनीतिक सम्बन्धमा पनि प्रभाव परेको छ’, उनले भने।

उनका अनुसार आगामी दिनमा यस्तै रोजगार मेला अन्य देशमा पनि सञ्चालन गर्ने योजना छ। यूएई रोजगार मेलामा नेपालबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, सचिव केवलप्रसाद भण्डारी र वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेती गएका थिए। मेलामा यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री, यूएईका श्रम डिभिजन प्रमुख अहमेद अल यासी र इन्टरनेसनल रिलेसन स्पेसियालिस्ट अब्दुल लाजिज अल सामसी सहभागी थिए।

बोर्ड र संघले आयोजना गरेको रोजगार मेलामा यूएईका उच्च तहका कर्मचारीलाई निमन्त्रणा गरिए पनि सहभागी नभएको यूएईस्थित नेपाली दूतावासका एक अधिकारीले बताए।

यूएई सरकारका तर्फबाट सामान्य कर्मचारी आए पनि उनीहरुले रोजगार मेलालाई त्यति महत्त्व नदिएको दूतावासका ती कर्मचारीले जानकारी दिए। यूएईका श्रम डिभिजन प्रमुख अहमेद अल यासी र इन्टरनेसनल रिलेसन स्पेसियालिष्ट अब्दुल लाजिज अल शामसी मेला सहभागि थिए। यूएई रोजगार मेलाका बारेमा बुझ्न खोज्दा श्रम मन्त्री भण्डार र सचिव भण्डारी सम्पर्कमा आएन।

५० लाख खर्च

श्रममन्त्री, सचिव र अन्य कर्मचारीको आवत-जावत खर्चसहित यूएईमा खान-बस्न ५० लाख जति खर्च भएको वैदेशिक रोजगार बोर्डको सचिवालय स्रोतले जनाएको छ। यूएईमा भएको मेलामा खर्च अझ बढ्न सक्ने बताइएको छ।

यस विषयमा कुराकानी गर्न खोज्दा बोर्डका प्रवक्ता तथा सूचना अधिकारी टीकाराम ढकालले फोन अफ गरे। बोर्डका कार्यकारी निर्देशक उप्रेती यूएई रोजगार मेला कार्यक्रममा त्यहाँ गएका कारण सम्पर्क हुन सकेन।

५० लाख रुपैयाँ सरकारी खर्च हो भने स्टलचाहिँ म्यानपावरले आफ्नै खर्चमा राखेका थिए। यूएई रोजगार मेलाको उद्देश्य त्यहाँका रोजगारदाता कम्पनीसँग सीधै सम्पर्क गर्ने, नेपाली कामदारले भोग्दै आएका समस्या रोजगारदाता कम्पनीसँग राख्ने र नेपाली कामदारका समस्या यूएई सरकारसम्म पुर्‍याउनु रहेको बोर्डले जनाएको छ।

संघ र बोर्डको उद्देश्यअनुसार रोजगार मेलाको तयारी नभएको, यूएई सरकारका प्रतिनिधि रोजगार मेलामा सहभागी नभएको, रोजगारदाताले रोजगार मेलाप्रति चासो नदिएको र मेलामा यूएईका रोजगारदातको आकर्षण नदेखिएको आयोजकहरू बताउँछन्।

प्रकाशित: २० फागुन २०८० २०:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =