निजी छाडेर सामुदायिक विद्यालयमा आउन थाले विद्यार्थी

हिमाल प्रेस १९ फागुन २०८० १५:३९
772
SHARES
निजी छाडेर सामुदायिक विद्यालयमा आउन थाले विद्यार्थी

इलाम- सूर्योदय नगरपालिकाका सामुदायिक विद्यालयमा ‘चक’ र ‘डस्टर’लाई ‘स्मार्ट बोर्ड’ले बिस्थापित गरेको धेरै भइसक्यो। सामुदायिक विद्यालयमा प्रविधिको प्रयोग बढाउनका लागि परम्परागत कालोपाटीको साटो स्मार्टबोर्ड ल्याइएको थियो। सामुदायिक विद्यालयले यसरी नयाँ प्रविधि प्रयोग गर्न थालेसँगै विद्यालयमा भर्ना हुनेको सङ्ख्या पनि बढेको छ।

यसैमध्ये एक हुन प्रसिका नेपाल। निजी विद्यालयमा अध्ययनरत उनी केही समय अघि बोर्डिङ स्कुल छाडेर सूर्योदय नगरपालिका–१० स्थित फिक्कल माध्यमिक विद्यालयमा कक्षा ८ मा भर्ना भइन्। उनले भनिन्,‘यहाँ त अडियो सुन्दै र भिडिओ हेर्दै पढ्न पाइन्छ।’

आमाबुवाले निजी विद्यालयमा पढ्न आग्रह गर्दागर्दै आफ्नै ढिँपीले कक्षा ८ देखि फिक्कलमा अध्ययन सुरु गरेकी उनको एकबर्से परिणाम देखेर उनका बुवा दंग छन्। नगरपालिकाका अनुसार अघिल्लो शैक्षिक वर्षको तुलनामा यहाँका सामुदायिक विद्यालयमा ११ दशमलव २५ प्रतिशतले विद्यार्थी वृद्धि भएका छन्। कूल ६६ सामुदायिक र ३१ संस्थागत गरी ९७ विद्यालयमा नर्सरी देखि १२ कक्षासम्म ११ हजार छ सय विद्यार्थी अध्ययनरत छन्। तीमध्ये सामुदायिक विद्यालयमा मात्र सात हजार ७३ जना छन् भने संस्थागतमा चार हजार पाँच सय २७ विद्यार्थी छन्।

नगरपालिकाका प्रवक्ता ख्यामबहादुर भुजेलका अनुसार हाल ६० दशमलव ९८ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालय र संस्थागतमा ३९ दशमलव ०.२ प्रतिशत छन्। वि.सं. २०७५ सालमा संस्थागत विद्यालयमा ५७ प्रितिशत र सामुदायिक विद्यालयमा ४३ प्रतिशत मात्रै विद्यार्थी रहेकोमा पछिल्लो पाँच वर्षमा उल्लेख्य रूपमा सामुदायिकमा विद्यार्थीको सङ्ख्या बढेको उनको भनाइ छ।

आराधना भट्टराई, अनामिका बस्याल, तासी तामाङ, केञ्जोला लेप्चा, सुप्रशान्त घिमिरे, दिव्यम प्रधान र प्रशान्त तामाङ प्रसिकासँगै निजी छोडेर सामुदायिकमा भर्ना हुने विद्यार्थीमा छन्। ‘बोर्डिङमा हुँदा रटेर लेखिन्थ्यो अहिले सिक्ने तरिका फरक छ’, आराधनाले भनिन्,‘पावरप्वाइन्ट, एक्सेल र वर्ड चलाउन जान्ने भएका छौँ। नयाँ कुरा थाहा पाउन इन्टरनेट छँदैछ।’

सामुदायिकमा विद्यार्थीको सङ्ख्या बढ्नुको मुख्य कारण विद्यालयको भौतिक संरचनामा आएको सुधार र गुणस्तरीय शिक्षा नै भएको हिमालय माविका पूर्वप्रधानाध्यापक नित्यानन्द सापकोटाले बताए। ‘नगरपालिकाले शिक्षकलाई विभिन्न प्राविधिक तालिम दियो, अभिभावकलाई सचेत गरायो र विद्यालय व्यवस्थापन समितिलाई तालिम दिन थालेको छ,’ सापकोटाले भने,‘निरन्तरको खबरदारी र नगर प्रमुखको शैक्षिक गुणस्तर सुधार गर्ने योजनाले नै पनि अवस्था सुधार भएको हो।’

सात वर्षअघि फिक्कल माविको पुरानो भवन थियो। विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) लागू भएपछि विद्यालयमा प्रविधिमैत्री भवन बनेको प्रधानाध्यापक गंगाबहादुर महतले बताए। हाल यस विद्यालका प्रत्येक कोठामा स्मार्ट बोर्ड (इन्टर्‍याक्टिभ प्यानल) जडान गरिएको छ। ई–लाइब्रेरी, कम्प्युटर ल्याव, गणित ल्याव, इन्टरनेट र सिसी क्यामेरा जडान गरिएको छ।

छात्राहरूलाई महिनावारी भएपछि विद्यालय आउन समस्या पथ्यो। हिजोआज विद्यालयमै स्यानिटरी प्याडको व्यवस्था भएपछि नियमित विद्यालय आउने गरेका छन्। कक्षाकोठमा शिक्षकले पढाएको वा नपढाएको सिसी क्यामराबाट हेर्न सकिन्छ। सिसी क्यामरा जडान गरेपछि शिक्षक नियमित र समयावधिभर नै विद्यार्थीलाई पढाउने गरेका छन्।

विद्यालयमा ईहाजिरीको व्यवस्था गरिएको छ। शिक्षक-कर्मचारी विद्यालयमा गए नगएको जानकारी नगरपालिकाको शिक्षा शाखाले हेर्नसक्ने व्यवस्था छ। ‘शिक्षक-कर्मचारी विद्यालयमा गए नगएको नगरपालिकामै पनि हेर्न सकिने व्यवस्था गरेका छौँ’, सूर्योदय नगरपालिकाका शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईले भने,‘अधिकांश विद्यालयमा ईहाजिरी राखेका छौँ। यसले नियमित कक्षा सञ्चालनमा मद्दत गरेको छ।

सूर्योदय नगरपालिकामा एसएसडिपी कार्यक्रमअन्तर्गत भवन, शौचालय, आइसिटी र ई–लाइब्रेरी बनिएको छ। ‘सबै विद्यालयमा विज्ञान प्रयोगशाला, इन्टरनेट, कम्प्युटर र सिसी क्यामरा राखिएको छ’, उनले भने,‘प्रविधिमैत्री विद्यालय निर्माण गरिएकाछन्।’

नगरपालिकाभित्र रहेका ६६ वटा सामुदायिक विद्यालयका करिब ११ हजार विद्यार्थीलाई निःशुल्क पाठयपुस्तक दिने गरिएको छ। शिक्षा शाखा प्रमुख भट्टराई भन्छन्,‘विद्यार्थीले सहजरूपमा पाठ्यपुस्तक पाएका छन्। कक्षा एकदेखि छसम्मको दिवा खाजा कार्यक्रम प्रभावकारी बनेको छ। दिवा खाजा कार्यक्रमले विद्यार्थी नियमित विद्यालय आउने गरेका छन्। उत्तीर्ण प्रतिशत पनि बढेको छ।’

विद्यालयमा भौतिक संरचनाको काम अधिकांश सकिएको छ। अब शिक्षाको गुणस्तरमा फोकस हुने योजना नगरपालिका र विद्यालयको छ। नगरपालिकाले प्रधानाध्यापकसँग र प्रधानाध्यापकले शिक्षकसँग गुणस्तरीय शिक्षाका लागि सम्झौता गर्ने गरिएको नगर प्रमुख रणबहादुर राईले बताए।

प्रकाशित: १९ फागुन २०८० १५:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 8 =