‘मेरो विद्यालयलाई, मेरो वार्षिक एक हजार रुपैयाँ’ अभियान

हिमाल प्रेस १८ वैशाख २०८१ १७:३८
132
SHARES
‘मेरो विद्यालयलाई, मेरो वार्षिक एक हजार रुपैयाँ’ अभियान प्रतिनिधिमूलक तस्बिर

कास्की- पोखरा महानगरपालिका–२१ कृष्तिस्थित भविष्य निर्माण माविले ‘मेरो विद्यालयलाई मेरो वार्षिक एक हजार रुपैयाँ’ अभियान सञ्चालन गरेको छ। आर्थिक संकलन गर्न विद्यालयले नयाँ अभ्यास सुरु गरेको हो।

विद्यालयको ७१औँ वार्षिकोत्सव उद्घाटन समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलकुमार भुजेलले आफू जीवित रहेसम्म विद्यालयलाई वार्षिक एक हजार आर्थिक सहयोग गर्ने घोषणा गरे। सो कार्यक्रममा ५३ अभिभावक उक्त अभियानसँग जोडिएका छन्।

अध्यक्ष भुजेलका अनुसार शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिका वञ्चित नहुन भन्ने उद्देश्यका साथ आफ्नो गाँस काटेर पूर्खाले विद्यालयका लागि गरेको योगदानको कदर गर्दै अभियान सञ्चालन गरिएको हो। विद्यार्थीलाई समय सापेक्ष गुणस्तरीय एवं प्रविधियुक्त शिक्षा प्रदान गर्नु अहिलेको आवश्यकता भएको उनको भनाइ छ।

अध्यक्ष भुजेलले भने,‘सरकारी सेवा सुविधाका भरमा मात्र विद्यालय सञ्चालन गर्न चुनौतीपूर्ण छ। एक हजार अभिभावकलाई यस कार्यक्रममा सहभागी गराएर वार्षिक १० लाख  संकलन गर्ने लक्ष्य छ।’ अभिभावकको सहयोगले विद्यालय सञ्चालन गर्न सहयोग पुगेको उनको भनाइ छ।

विद्यार्थीको सुविधाका लागि विद्यालयले एक वर्षदेखि बस सेवा समेत सञ्चालन गर्दै आएको छ। बस सेवालाई दिगो गर्न यसै वर्षदेखि अक्षयकोषको व्यवस्था गरिएको छ। अक्षयकोषको प्राप्त ब्याजबाट बस सञ्चालन गर्न सहयोग पुग्ने उद्देश्यले सुरु गरिएको उक्त अभियानअन्तर्गत हालसम्म ६० लाख संकलन भएको अक्षयकोष वृद्धि समितिका संयोजक झपिन्द्रराज रेग्मीले जानकारी दिए। रोजगारीका सिलसिलामा विदेशमा रहेका यस क्षेत्रका युवा एवं विभिन्न पेसा व्यवसायमा आवद्ध स्थानीयबाट आर्थिक सयोग प्राप्त भइरहेको उनले बताए।

ग्रामीण क्षेत्रमा सडक पूर्वाधार निर्माणसँगै सरकारी विद्यालयमा विद्यार्थीको अभाव हुन नदिन विद्यालयले बस सेवा सञ्चालन गरेको हो। पोखराको दक्षिणी भेगमा अवस्थित सो विद्यालयसम्म आउजाउ गर्न पक्की सडक निर्माण गरिएको छ। व्यवस्थापन संकायतर्फ दशजोड दुईको पढाइ भइरहेको सो विद्यालयमा हाल चार सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

वि‍‍.सं २००९ मा स्थापना भएको विद्यालयमा चार पक्की भवन छन्। कक्षा दशसम्म अग्रेजी माध्यममा पढाइ भइरहेको छ। विद्यालयमा हाल २१ शिक्षक शिक्षिका कार्यरत छन्। यसैबीच विद्यालयमा आयोजित ७१औँ वार्षिकोत्सव समारोहका प्रमुख अतिथि एवं पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले विद्यालयद्वारा सञ्चालित अक्षयकोषमा ५१ हजार ५५ को चेक हस्तान्तरण भएकाे छ।

प्रकाशित: १८ वैशाख २०८१ १७:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =