बारामा शङ्कास्पद वस्तु विस्फोट : थप दुईको मृत्यु

हिमाल प्रेस १५ फागुन २०८० १४:०४
20
SHARES
बारामा शङ्कास्पद वस्तु विस्फोट : थप दुईको मृत्यु विस्फोट भएको ठाउँ

बारा- निजगढ नगरपालिका–७ ‘रोहित वर्कशप’मा बमजस्तो देखिने शङ्कास्पद वस्तु पड्किँदा घाइते दुईको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत गवाहीका ३५ वर्षीय राकेश जयसवाल र वीरगञ्ज महानगरपालिका–९ का रितु रजत रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए। घाइतेहरुको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

बम जस्तो देखिने वस्तु सोमबार विस्फोट हुँदा वर्कशप सञ्चालक निजगढ नगरपालिका–९ का रेशम जर्घा मगरको घटनास्थलमै मृत्यु भएको थियो। कवाड सञ्चालक राज जैसवालले बमजस्तो देखिने वस्तुमा रहेको तामा निकाल्न वर्कशपमा ल्याएको र काट्ने क्रममा सो वस्तु विस्फोट भएको प्रहरीको भनाइ छ।

घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–९ का फिरोद देवान र भारत राम गढवाका अरीवन साह रहेको प्रहरी प्रवक्ता न्यौपानेले जानकारी दिए।

साथै वर्कशपमा सो वस्तु ल्याउने कवाड पसल सञ्चालक भारतीय नागरिक राज जैसवाल र उनकी श्रीमती सुशीलादेवी जैसवाललाई भारत भाग्नेक्रममा पक्राउ गरिएका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए। घटनाबारे अनुसन्धान जारी रहेको उनको भनाइ छ। रासस

प्रकाशित: १५ फागुन २०८० १४:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eleven =