इलाम-२ : गठबन्धन तोड्न माओवादी तयार!

किरण पौडेल १५ फागुन २०८० ५:५१
80
SHARES
इलाम-२ : गठबन्धन तोड्न माओवादी तयार!

काठमाडौँ- नेकपा माओवादी केन्द्र इलामले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा गठबन्धन नगर्ने तयारी गरेको छ। संविधानसभाको दोस्रो चुनावयता उक्त क्षेत्रका माओवादी कार्यकर्ताले आफ्नो दलको उम्मेदवारलाई भोट हाल्न पाएका छैनन्।

आउँदो उपचुनावमा पार्टीले कसैसँग गठबन्धन नगर्ने निष्कर्षमा पुगेको माओवादीका जिल्लास्तरका नेताहरू बताउँछन्। पार्टीको चुनाव चिह्न हँसिया हथौडामा मतदान गर्ने वातावरण बनाउने तयारी थालेको उनीहरूको भनाइ छ।

उपचुनावमा कसलाई उम्मेदवार बनाउने र गठबन्धन गर्ने या नगर्ने भन्ने निर्णयचाहिँ पार्टीको केन्द्र र सत्ता गठबन्धनबाट हुने पक्कापक्कीजस्तै छ। केन्द्रबाट पार्टीका उम्मेदवार नउठाउने निर्णय भएमा के गर्ने भन्ने विकल्प जिल्ला नेताहरूसँग छैन।

सुवास नेम्वाङको निधनका कारण रिक्त रहेको इलाम-२ मा प्रतिनिधिसभा सदस्यका लागि वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। निर्वाचन आयोगले निर्वाचन कार्यतालिका स्वीकृत भएपछि जिल्लास्थित राजनीतिक दलका नेताहरूको सक्रियता बढेको छ।

चुनाव चिह्न प्रचार गर्न र मत सुरक्षा गर्न पनि उम्मेदवारी दिनैपर्ने अवस्था रहेको माओवादी नेताहरू बताउँछन्। ‘यो आमचुनाव होइन। हामी सबै दलले उम्मेदवारी दिँदा पनि हुन्छ,’ माओवादी कोशीका नेता इन्द्र आङ्बो भन्छन्, ‘हामीले यही निर्णय केन्द्रमा पठाएका छौँ।’

माओवादीले गठबन्धन भन्दै यसअघिका दुई आमनिर्वाचनमा प्रतिनिधिसभातर्फ इलाम-२ मा उम्मेदवार उठाउन पाएन। २०७४ को निर्वाचनमा वाम गठबन्धनका कारण प्रतिनिधिसभामा माओवादी लड्न पाएन भने २०७९ सालको आमचुनावमा पनि कांग्रेससँगको गठबन्धनले माओवादी उम्मेदवारविहीन बनेको थियो।

माओवादीले २०७४ को चुनावमा एमाले नेता सुवास नेम्वाङलाई नै साथ दिनुपर्‍यो। त्यसबेला एमाले-माओवादी चुनावी गठबन्धन थियो। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई साथ दिँदा माओवादी प्रदेशमै सीमित भएको थियो।

‘हामीले यसपटक आफैँ चुनाव लड्ने तयारी गरेका छौँ,’ माओवादीका अर्का नेता प्रकाश परियारले भने। निर्णयका लागि प्राथमिकता भने गठबन्धनलाई दिएको परियार बताउँछन्। गठबन्धनमा पनि माओवादीकै उम्मेदवारमा सहमति हुनुपर्ने पक्षमा उनीहरू छन्। ‘हामी गठबन्धनभित्रैबाट माओवादीमा उठ्ने निर्णय केन्द्रमा पठाउँदैछौँ,’ परियार भन्छन्, ‘कांग्रेस, एकीकृत समाजवादी र जसपाको उम्मेदवार पनि माओवादी केन्द्रकै होस् भन्ने हाम्रो दाबी छ।’

गठबन्धनमा कुरा नमिले माओवादीले छुट्टै उम्मेदवार उठाउने तयारी गरेको छ। ‘पटकपटक माओवादीमाथि घात भयो। अब हामी फेरि कांग्रेसलाई सहयोग गर्दैनौँ’, माओवादी कोशी प्रदेशका एक पदाधिकारी भन्छन्, ‘गठबन्धन टुटे पनि हामी आफ्नै उम्मेदवार उठाउँछौँ।’

कोशीमा गठबन्धनबाट ‘अन्तरघात’ भएको ती नेताको गुनासो छ। राष्ट्रियसभा निर्वाचनमा माओवादी उम्मेदवार चम्पा कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला निर्वाचित भएकी थिइन्।

कोशीमा माओवादीले राष्ट्रियसभा सदस्य मात्र होइन, अन्य विभिन्न पद गुमाएको छ। कांग्रेसको मुख्यमन्त्री मत बचाउनका लागि आफूहरूले पद गुमाउनुपरेको माआवादी नेताहरू बताउँछन्। आमनिर्वाचनपछि कोशी (तत्कालीन प्रदेश १)मा माओवादीले सभामुख पद पाएको थियो।

तत्कालीन एमाले-माओवादी गठबन्धनबाट सभामुख माओवादीले पायो भने उपसभामुख एमालेले लियो। केन्द्रमा गठबन्धन परिवर्तन भएपछि कोशीमा कांग्रेसको सरकार बनाउनुपर्ने बाध्यता आइलाग्यो। कोशीमा तत्कालीन मुख्यमन्त्री हिक्मतबहादुर कार्की (एमाले) बिदा भएर कांग्रेसका उद्धव थापा मुख्यमन्त्री बने।

संख्याका आधारमा थापाका पक्षमा बहुमत नभएपछि माओवादीबाट सभामुख बनेका बाबुराम गौतमले राजीनामा दिए। अहिले कोशीमा राप्रपाका अम्बरबहादुर विष्ट सभामुख छन्। माओवादीले कांग्रेसका थापाको मुख्यमन्त्री जोगाइदिनकै लागि सभामुख त्याग गर्नुपरेको बताउने गरेको छ।

माओवादीले सभामुखबाट राजीनामा दिँदा पनि मुख्यमन्त्री थापाले दुई पटक विश्वासको मत पाउन सकेनन्। केन्द्रीय गठबन्धनमा राप्रपालाई साथमा लिएर माओवादीले मुख्यमन्त्री पाउने सहमति भयो। कांग्रेस सभापति शेरबहादुर देउवा इतरपक्ष (डा. शेखर कोइराला) पक्षले एमालेसँग मिलेर मुख्यमन्त्रीमा दाबी गर्‍यो।

केन्द्रीय गठबन्धनमा माओवादी कोशीका संसदीय दलको नेता इन्द्र आङ्बोलाई उठाउने सहमति हुँदा इतरपक्षले केदार कार्कीलाई अघि सार्‍यो। आङ्बोले विश्वासको मत नपाउने भएपछि पछि हटे। कार्की मुख्यमन्त्री बने। राष्ट्रियसभा निर्वाचनमा पनि माओवादी नेतृ हारेपछि गठबन्धनभित्र दरार आएको थियो। कोशीको राष्ट्रियसभा निर्वाचनमा कांग्रेसका कृष्णप्रसाद सिटौलाले जित्दा माओवादीकी चम्पा कार्की हारेकी थिइन्।

जिल्लामा उस्तै अन्तर्घात

इलाम-२ मा प्रदेशकै रोग सरेको देखिन्छ। आमचुनाव २०७४ मा प्रतिनिधिसभातर्फ सुवास नेम्वाङ उठ्दा प्रदेशसभा २ (क) मा एमालेका राम राना र प्रदेश २ (ख)मा माओवादीका धीरेन्द्र शर्मा ‘रमण’ मैदानमा थिए। वामपन्थी गठबन्धनमा राना र शर्मा दुवैले जिते।

आमनिर्वाचन २०७९ मा प्रदेशमा भिन्न समीकरण बन्यो। कांग्रेससँग गठबन्धन बनेको माओवादीले प्रदेशसभा २ (ख)मा उम्मेदवारी दिएको थियो। पहिले रमण उठेको क्षेत्रमा माओवादीका कान्छा लावती गठबन्धनका साझा उम्मेदवार बने। सोही क्षेत्रमा माओवादीले चुनाव हार्‍यो। कांग्रेसका मतदाताले माओवादीलाई मत नहालेको माओवादी नेताहरूको आरोप छ।

प्रदेशसभा २ (क)मा भने कांग्रेसका गोविन्द गिरीले चुनाव जित्दा प्रदेशसभा २(ख)मा माओवादीका लावतीले चुनाव हारेका थिए। यसअघि वामपन्थी गठबन्धन हुँदा भने माओवादीले चुनाव जितेको थियो। स्थानीय तहमा पनि कांग्रेसले अन्तर्घात गरेको माओवादी नेताहरू आरोप लगाउँछन्।

माओवादीबाट उम्मेदवारका आकांक्षी देखिएका छैनन्। जिल्लामा धीरेन्द्र शर्मा ‘रमण’ र कान्छा लावतीले तयारी गरिरहेका छन्। विद्यार्थी राजनीतिबाट उदाएका प्रकाश परियार पनि आकांक्षी रहेको माओवादी नेताहरू बताउँछन्।

प्रकाशित: १५ फागुन २०८० ५:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + eight =