इलाम-२ : टिकटको निश्चित छैन मतदातामाझ पुगे कांग्रेसका आकांक्षी

किरण पौडेल १८ फागुन २०८० ७:५७
42
SHARES
इलाम-२ : टिकटको निश्चित छैन मतदातामाझ पुगे कांग्रेसका आकांक्षी

काठमाडौँ– वैशाख १५ मा हुने उपनिर्वाचनका लागि इलामको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा उम्मेदवारका आकांक्षीको संख्या बढिरहेको छ। उम्मेदवार बन्ने होड सबैभन्दा धेरै नेपाली कांग्रेसमा छ। कांग्रेसमा जिल्ला सभापतिदेखि सभापतिका निकटतम प्रतिस्पर्धी बनेका नेताले दाबेदारी प्रस्तुत गरिरहेका छन्।

टिकट पाउने दौडमा पूर्वराज्यमन्त्रीदेखि पूर्वसभासदसम्म छन्। कांग्रेसमा टिकटका प्रमुख दाबेदार जिल्ला सभापति डम्बर खड्का, भेषराज आचार्य र केशव थापा छन्। साथै पूर्वसभासद् नगेन्द्र कुमालको पनि आकांक्षी छन्। यीमध्ये अधिकांश नेताहरू मतदातासम्म पुगिसकेका छन्।

टिकट पाउने निश्चित छ : डम्बर खड्का

प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर २ का प्रबल दाबेदार हुन् डम्बर खड्का। उनी इलामका पार्टी सभापति हुन्। उपनिर्वाचनमा आफैँ उम्मेदवार बन्ने बताउँदै खड्का जिल्लामा कार्यकर्ता भेटिरहेका छन्।

खड्काले टिकट पाउने सम्भावना धेरै छ। किनकि उनी पार्टी संस्थापन पक्ष शेरबहादुर देउवा निकट नेता हुन्। जिल्ला उनको छवि विकासप्रेमी भनेर चिनिन्छ। उनले आफूलाई विकासवादी नेता रहेको प्रचार गर्ने गरेका छन्। यद्यपि खड्का आफूले टिकट पाउने निश्चित भएको दाबी गर्छन्।

‘मैले केन्द्रका नेतासँग कुरा गरेँ। टिकट पाउने निश्चित छ,’ हिमाल प्रेससँग खड्काले भने, ‘म यसअघि पनि चुनाव जितेको नेता हुँ। अब जित्न गाह्रो छैन।’ खड्का २०७९ को आमनिर्वाचनमा सोही क्षेत्रमा लडेका थिए। सुवास नेम्वाङसँग ११४ मतान्तरले पराजित भए।

मतदान र मतगणनामा ‘धाँधली’ भएको आरोप लगाउँदै निर्वाचन आयोगमा उजुरी दिएका थिए। ‘महासमिति बैठकमा सहभागी हुन काठमाडौँ आएको थिए। अब फर्किदैछु। नेताहरूले आश्वासन दिनुभएको छ,’ खड्काले भने। आफूले चुनावमा जित्ने निश्चित रहेको खड्काको भनाइ छ।

उम्मेदवार चुन्न प्राइमरी इलेक्सन गरौँ : भेषराज आचार्य

कांग्रेसका पुराना नेता भेषराज आचार्यले आकांक्षा देखाएका छन्। उनी यसअघिदेखि नै सोही क्षेत्रमा चुनाव लडेका नेता हुन्। तर पराजित भए। २०७९ को आमनिर्वाचनमा पनि आचार्य आकांक्षी थिए। सभापति खड्काले टिकट पाएपछि उनी खाली हात रहे। आचार्य यसअघि नै जिल्लाभर हिँडिसकेका छन्। टिकट पाएको खण्डमा आफूले जित्ने निश्चित रहेको दाबी आचार्यको छ।

जिल्लाका प्रभावशाली नेता भए पनि टिकट पाउन भने खड्कालाई जस्तो सहज आचार्यलाई नभएको कांग्रेस नेताहरू बताउँछन्। उनी कांग्रेस सभापति शेरबहादुर देउवा इतरपक्ष नेता हुन्। खड्का देउवापक्ष नेता भएकाले उनले पाउने सम्भावना बढी छ।

यही कारण आचार्यले चुनावको उम्मेदवार छनोट गर्न ‘प्राइमरी इलेक्सन’ गर्नुपर्ने प्रस्ताव राख्दै आएका छन्। प्राइमरी इलेक्सन भए आफू पहिलो हुने बुझाइ आचार्य रहेको उनी निकट नेताहरू सुनाउँछन्। उनी कांग्रेसको गएको जिल्ला अधिवेशनमा पनि खड्कासँगै भिडेका थिए।

खड्कासँग दोस्रो चरणमा आचार्यले हार व्यहोरे। आचार्यले यसअघि पनि सोही क्षेत्रमा चुनाव लडेका थिए। २०७० को संविधानसभाको चुनावमा नेम्वाङसँगै झन्डै दुई हजार मतले हारेका थिए।

मलाई टिकट नदिए अन्याय हुन्छ : केशव थापा

पुराना नेता एवं पूर्वजिल्ला सभापति केशव थापाले पनि यसपटक आकांक्षा देखाएका छन्। थापाले यसअघि निर्वाचन क्षेत्र घुमिसकेका छन्। ‘म सबै वडा पुगिसके। जनताले उठ्नुपर्छ भन्नुभएको छ,’ थापाले हिमाल प्रेससँग भने, ‘टिकट पाउनैपर्छ। टिकट नपाउन म केमा अयोग्य छु र?’

इलाममा तीनवटा क्षेत्र हुँदा क्षेत्र नम्बर ३ बाट थापाले जित्ने गरेका थिए। उनी पनि विकासवादी नेता मानिन्छन्। उनी चुनाव जितेर राज्यमन्त्रीसमेत बनेका थिए। ‘म विकास चाहने नेता हुँ। आजसम्म मैले के नगराम्रो गरेको छु र?’, उनले भने।

विकास गरेको र पुरानो नेता भएकाले टिकट पाउने निश्चित रहेको उनको दाबी छ। थापा दुईपटक जिल्ला सभापति भएका नेता हुन्। उनी पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन्।

मेरो दाबी स्वाभाविक : नगेन्द्र कुमाल

इलाम-२ मा अहिले कांग्रेसका पुराना नेता नगेन्द्र कुमालले पनि दाबी गरिरहेका छन्। उनी संविधानसभा सदस्य हुन्। समानुपातिकबाट सभासद् बनेका उनी यसपल्ट प्रत्यक्ष लडेर सांसद बन्न चाहन्छन्।

उनले पनि चुनावकै लागि घरदैलो कार्यक्रम पनि सकेका छन्। जनजाति समुदायका नेता समेत रहेका उनी नेपाल आदिवासी जनजाति महासंघका अध्यक्षसमेत बनिसकेका नेता हुन्।

कुमाल पुरानो नेता भएकाले दाबी स्वाभाविक रहेको बताउने गरेका छन्। उनी पनि कांग्रेस संस्थापन निकट नेता मानिन्छन्।

आआफ्नै डम्फु बजाउँदै नेता, छैन सहकार्य

कांग्रेस नेताहरूबीचमा टिकट पाउने विषयमा अहिले छलफल नभएको नेताहरू सुनाउँछन्। आकांक्षा व्यक्त गर्ने, आफू निकटलाई भेट्ने काम नेताहरू गरिरहेका छन्। यसअघि पनि कांग्रेसमा सहकार्य खास हुने गरेको थिएन।

यही कारण यसपटक पनि अन्तर्घात बल्झिने हो कि भन्ने डर छ। कांग्रेस कार्यकर्ताका अनुसार जिल्लाका नेताबीच एकता नहुनुको प्रमुख कारक केन्द्रीय नेतृत्व हो। केन्द्रीय स्तरमै गुट पलाएका कारण जिल्लाका नेता विभक्त भएको कांग्रेस कार्यकर्ताको बुझाइ छ। त्यसमा पनि इलाम-२ मा कांग्रेसले जित्न सकेको छैन। कांग्रेसमा आन्तरिक एकता नहुँदा चुनाव व्यहार्नु परेको कांग्रेस कार्यकर्ताकै दाबी छ।

यसपटक पहिलेजस्तो समस्या नहुने कांग्रेस जिल्ला कार्यसमिति सचिव निरोज खड्गीको दाबी छ। ‘विगतमा जस्तो नराम्रो वातावरण अब अहिले छैन। आमकार्यकर्तालाई चुनाव जित्नुपर्छ भन्ने छ’, उनी भन्छन्।

कांग्रेसमा संस्थापनपक्षले टिकट पाउने र अर्को पक्षले असहयोग गर्ने परम्पराजस्तै बनेको छ। यसपटक पनि असहयोग पुग्ने डर भने छ। गएको आम निर्वाचनमा पनि कांग्रेसले आन्तरिक कलहकै कारण हारेको नेताहरूको भनाइ छ। २०७९ को चुनावमा ३० हजार २० मत ल्याएर नेम्वाङ विजयी बन्दा कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार नौ सय ६ मत प्राप्त गरेका थिए।

यस क्षेत्रमा इलाम नगरपालिका (११ वटा वडा), देउमाइ नगरपालिकाको (९ वटा वडा), फाकफोकथुम गाउँपालिका (७ वटा वडा), मांसेबुङ गाउँपालिकको (६ वटा वडा), चुलाचुली गाउँपालिका (६ वटा वडा) र माई नगरपालिकाको (६,७ र ८ नम्बर वडा) पर्छन्।

यीमध्यै इलाम नगरपालिका र चुलाचुली गाउँपालिकामा कांग्रेसले जितेको थियो। देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिका पनि उल्लेखीय मत आएको थियो। देउमाई नगरपालिकाभित्र कांग्रेसका उम्मेदवार खड्कालाई अपेक्षा भन्दा कम मत आएको खड्कापक्षको दाबी छ। खड्कापक्षले देउमाई नगरमा ‘अन्तर्घात’ भएकाले चुनाव हारेको विश्लेषण गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =