महोत्सव : विपन्न र स्थानीय कलाकार सधैँ मर्कामा

रमा केसी ११ फागुन २०८० १५:१९
126
SHARES
महोत्सव : विपन्न र स्थानीय कलाकार सधैँ मर्कामा वीरेन्द्रनगरमा हुन लागेको कर्णाली एक्सपो आयोजना स्थल। एक्सपो फागुन १४ देखि २२ गतेसम्म हुँदैछ। तस्बिर : हिमाल प्रेस

सुर्खेत- हिउँद लागेपछि विभिन्न महोत्सव हुन्छन्। कर्णालीमा पनि कतै उद्योग व्यापार त कतै कृषि क्षेत्रलाई लक्षित गरी मेलामहोत्सव आयोजना भइरहेका छन्। महोत्सवले मानिसको आवतजावत बढ्छ। व्यापारिक कारोबारमा बढोत्तरी आउँछ। त्यसैले मेलामहोत्सवप्रतिको दृष्टिकोण सकारात्मक हुन्छ।

कमजोर आर्थिक अवस्था भएका नागरिक र स्थानीय कलाकार भने मेलामहोत्सवप्रति त्यति सन्तुष्ट हुँदैनन्। विपन्नहरू महोत्सवले कुनै सरोकार नराख्ने गुनासो गर्छन्। बरु उल्टै उनीहरूमाथि आर्थिक भार थपिन्छ।

वीरेन्द्रनगरकी स्थानीय कृष्णा शाही मेलामहोत्सवले आफूहरूलाई कुनै उपलब्धि हासिल नहुने बताउँछिन्। यसले त उल्टै आर्थिक भार बढ्ने उनको अनुभव छ। उनले भनिन्, ‘आर्थिक आम्दानी केही छैन। बच्चाबच्ची मेलामा जाम भन्छन्। ऋण मागेर भए नि लैजानुपर्छ।’

दीनदुःखीका लागि यस्ता महोत्सव आवश्यक नरहेको उनले बताइन्। उनले भनिन्, ‘मेलाले व्यापारीलाई फाइदा होला, हामीजस्ता दुःख गरेर खानेलाई थप पीडा हुन्छ।’
आर्थिक अवस्था कमजोर भएकाहरू मात्रै होइनन् स्थानीय कलाकार पनि मेलामहोत्सवबाट सन्तुष्ट छैनन्। मेलामहोत्सवमा हुने सांस्कृतिक कार्यक्रममा नाम चलेका कलाकारलाई मात्रै स्थान दिइँदा स्थानीय प्रतिभा ओझेलमा पर्ने गरेका छन्।

बागिना समूह सुर्खेतका कलाकार कुलमान नेपालीले मोहत्सवमा स्थानीय कलाकारलाई सहभागी नगराउँदा स्थानीय भाका र नृत्य हराउन थालेको बताए। उनले भने, ‘महोत्सवले व्यापारिक क्षेत्रमा फाइदा भए पनि स्थानीय स्तरका कलाकार मारमा परेका छन्।’

कलाकारिता क्षेत्रमा ठेक्कापट्टा हुन थालेपछि उनी निराश बनेका छन्। नेपालीले भने, ‘कलासंस्कृतिलाई जोगाइराख्ने बहानामा क्षमता नभएका कलाकारलाई ल्याउन धेरै पैसा खर्च गर्ने तर स्थानीय कलाकारलाई पारिश्रमिक दिन नमान्ने चलन छ।’ मेलामहोत्सवमा आधुनिक गीत र सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने गरेको छ। त्यसका लागि नाम चलेका कलाकारलाई भनेजति रकम दिएर सहभागी गराइन्छ।

यस्ता गतिविधिले कर्णालीका रैथाने संस्कृति छायामा पर्दै आएको नेपाली बताउँछन्। उनका अनुसार मेलामहोत्सवमा सोरठी, घाटु, कौडा, हुड्के, न्याउली भाका तथा सिंगारुजस्ता नाचगान हराउन थालेका छन्। सारंगी, सिंगारु, सहनाई बजाउने प्रतिस्पर्धा भएमा स्थानीय प्रतिभा आकर्षित हुने उनको भनाइ छ। उनले स्थानीय स्तरका कलाकारलाई पनि क्षमता प्रस्तुत गर्ने अवसर दिनुपर्ने बताए।

व्यवसायी भने मेलामहोत्सवले पर्यटन क्षेत्रमा फाइदा हुने बताउँछन्। उद्योग वाणिज्य सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेल कर्णालीमा मात्र नभई देशभर वर्षमा एकपटक मेलामहोत्सव हुनुपर्ने बताउँछन्। मेलाले व्यापारिक क्षेत्रलाई मात्र नभई कर्णालीमा उब्जाउ हुने घरेलु तथा साना उद्योगलाई पनि फाइदा पुग्ने उनले बताए।

महोत्सवका कारण कलासंस्कृतिको जगेर्ना गर्नुको साथै व्यापार व्यवसाय फस्टाउनमा पनि मद्दत गर्ने दाबी उनको छ। पालिकादेखि प्रदेशसम्मका यस्ता मेला आयोजना भएमा स्थानीय स्तरमा उत्पादित सामग्री बजारमा पुर्‍याउन सहज हुने कँडेलले बताए।

२०६४ सालदेखि मेलामा सहभागी हुँदै आएका सूर्यबहादुर खड्काले कर्णालीलाई चिनाउन र कलासंस्कृति जोगाइराख्न मेला उपयोगी रहेको बताए। उनले भने, ‘कर्णालीमा उत्पादित सामग्री बजारमा पुर्‍याउन र पर्यटकीय क्षेत्रलाई चलायमान बनाउन मेला राम्रो माध्यम हो।’

सुर्खेतमा कर्णाली एक्सपो

सुर्खेतमा फागुन १४ गतेदेखि २२ गतेसम्म कर्णाली एक्सपो हुँदैछ। नौ दिनसम्म चल्ने एक्सपोमा चार लाखभन्दा धेरै मानिस सहभागी हुने दाबी आयोजकको छ। स्थानीय उत्पादनको बजारीकरण बढ्ने एक्सपोका प्रचार विभाग प्रमुख भद्र भण्डारीले बताए। उनका अनुसार महोत्सवमा स्थानीय उत्पादनका साथै खानेकुरा पनि राखिनेछ।

वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले महोत्सव कर्णालीको पर्यटन प्रवर्धनमा टेवा पुर्‍याउन र यहाँ उत्पादित रैथाने बालीको महत्त्वबारे बुझाउन एक सशक्त माध्यम रहेको बताइन्।

कर्णाली एक्सपोमा दुई करोड १५ लाख खर्च हुने अनुमान गरिएको छ। एक्सपोका लागि अघिल्ला वर्षमा प्रदेश सरकारका तर्फबाट २५ देखि ३० लाखसम्म सहयोग हुँदै आएको थियो। यस वर्ष पनि ५० लाखको अपेक्षा गरेको उनले बताए।

महोत्सवमा ४५० देखि पाँच सयवटा स्टल राखिनेछ। महासचिव भण्डारीका अनुसार घरेलु उद्योग र बालबालिकाले तयार पारेका सामग्री पनि प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ। कर्णाली एक्सपो सुन्दर बनाउन शैक्षिक सुधार, इन्जिनियरिङ, लागूऔषध, महिला उद्यमी, कर्णाली सम्पदा र समृद्धिका विषयमा विज्ञहरूसँग दैनिक दुई घण्टा परामर्श गरिनेछ।

कर्णालीका सिम्ताको मौलिक भाकाको नृत्य, नेवारी बाजा, मगर, गुरुङ, थारूको मौलिक नृत्य र हुड्केनाचका साथै मुस्लिम समुदायको कलासंस्कृति पनि समावेश हुनेछन्।

कर्णाली एक्सपोको मुख्य उदेश्य कर्णालीको व्यापार तथा पर्यटन प्रवर्धनका साथै संस्कृति, जडिबुटी र सम्भावनाको उजागर गर्नु रहेको भण्डारीले बताए। उनले भने, ‘कर्णालीका रैथाने बाली तथा व्यापारीलाई प्राथमिकतामा राखिएको छ। राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति हुनेछ। रैथाने बाली, कृषि तथा व्यापार मेला प्रदर्शनी हुनेछ। स्थानीय उत्पादन प्रवर्धन र विभिन्न विषयवस्तुमा विज्ञहरूसँग छलफल हुनेछ।’

महोत्सवका नाममा सरकारी पैसा ‘पचाउने धन्दा’

भुइँमान्छेलाई नछुने महोत्सव

प्रकाशित: ११ फागुन २०८० १५:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =