भुइँमान्छेलाई नछुने महोत्सव

रमेश भारती ७ फागुन २०८० १३:४७
64
SHARES
भुइँमान्छेलाई नछुने महोत्सव तनहुँको शुक्लागण्डकी नगरपालिका–५ मा जारी तेस्रो शुक्लागण्डकी महोत्सवमा खादा र ब्याचको सट्टा समीको पातबाट बनाइएको मालामा सजिएका अतिथि। तस्बिर : रासस

काठमाडौँ- पछिल्लो समय फेसनजस्तै बनेको मेलामहोत्सव बजेट सक्ने माध्यम बनेको छ। सीमित मानिसको मात्रै सहभागिता रहँदा यस्ता महोत्सवले सर्वसाधारणलाई जोड्न सकेको त छैन नै आयोजक एउटै, सहभागी उस्तै र दर्शक पनि एउटै अनुहार भएकाले महोत्सवप्रतिको उत्साह पनि घट्दै गएको छ।

पोखरामा जारी साहित्य महोत्सव होस् या कर्णालीको कुडा कर्नाली या मधेसमा हुने महोत्सव, प्रायः एउटै अनुहार भेला हुन्छन्। आफ्नै गनथन सुनाउँछन्। विज्ञका रूपमा बर्सौँदेखि एउटै अनुहार दोहोरिरहन्छन्। पर्वविशेषमा महोत्सव आयोजना हुनु स्वाभाविक भए पनि अन्य समयमा हुने महोत्सवले स्थानीय जनताको जीवनशैलीमा कुनै उपलब्धि हासिल हुने देख्दैनन् जानकारहररू। आर्थिक गतिविधिमा चलायमान हुने भनेर आयोजकले भ्रममात्रै फिँजाउने उनीहरूको बुझाइ छ। अर्को कुरा महोत्सव आयोजकहरूमाथि आम्दानीखर्च पारदर्शी गर्न नसकेको आरोप लाग्ने गरेको छ।

पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाल यस्ता महोत्सव सीमित व्यक्तिको कमाइ खाने भाँडोका रूपमा मात्रै विकसित हुन थालेको टिप्पणी गर्छन्। ‘पछिल्ला दिनमा भइरहेका महोत्सवमा कुनै नयाँ मान्छे देखिँदैनन्। दसौँ वर्षदेखि विज्ञका रूपमा तिनै मान्छे जान्छन्। आफ्ना कथा दोहोर्‍याइरहन्छन्, नयाँ मान्छे गयो भने पो फेस्टिभल हुने हो। पुराना मान्छे दोहोरिरहँदा त्यति चलायमान हुन सक्दैन’, राष्ट्रपतिको आर्थिक सल्लाहकारसमेत रहेका नेपालले भने, ‘मेलामहोत्सव पुराना मान्छेका आफ्ना गनथन सुनाउने थलो मात्रै बनेको छ।’

काठमाडौँमा सधैँ बोलिरहेको मान्छे पोखराको साहित्य महोत्सवमा पनि बोलिरहेको हुन्छ। कुडा कर्नालीमा पनि तिनै मान्छे बोलिरहेका हुन्छन्। मधेस महोत्सवमा पनि यस्तै मान्छेको सहभागिता हुन्छ। डा. नेपाल भन्छन्, ‘ती मान्छेले सधैँ अन्तर्वार्ता दिइरहेका हुन्छन्। तिनै व्यक्तिहरू सुनिरहनुपर्दा मान्छे वाक्क हुन्छ नि। सधैँ एउटै व्यक्तिलाई ताली बजाउन त्यति मजा हुन्छ र?’

एउटा विषयमा विज्ञका रूपमा सधैँ एउटै अनुहारको सहभागिता हुने गरेको छ। यसले गर्दा नयाँ पुस्ता ओझेलमा पर्न थालेका छन्। ‘फेस्टिभल नै गर्ने हो भने काठमाडौँको टुँडिखेलमा गरे भइहाल्यो नि। टुँडिखेलमा लिट्रेचर फेस्टिबल भनेपछि सर्वसाधारण पनि सहजै प्रवेश गर्न पाउँछन्’, डा. नेपालले भने।

अर्का पूर्वगर्भनर दिपेन्द्रबहादुर क्षेत्री पनि कलासाहित्यका नाममा महोत्सवले जमेर बसेको रकमलाई चलायमान बनाउन नसकेको बताउँछन्। महोत्सवलाई फरकफरक ढंगले परिचालन गर्न नसक्दा यस्तो भएको उनको बुझाइ छ। उनी भन्छन्, ‘अहिलेजस्तो एकै खालको होइन नयाँनयाँ अनुहारलाई महोत्सवमा ल्याउन आवश्यक छ। सधैँ देखिएको बोलिरहेको व्यक्तिले कुनै प्रभाव जमाउन सक्दैन।’

उनी पनि सधैँ एउटै अनुहारलाई अघि सार्दा कार्यक्रमको औचित्य नहुने बताउँछन्। ‘हाम्रो पोखरा राम्रो छ। हाम्रो कर्णाली राम्रो छ। हाम्रो मधेस राम्रो छ। हाम्रो राजधानी त्यतिकै राम्रो छ। सबैतिर यस्तो कार्यक्रम हुनुपर्छ तर सधैँ उही लय उही तालमा होइन। एकै मानिसलाई ल्याइरहने हो भने त्यसको औचित्य रहँदैन।’

उद्योग व्यापारका नाममा हुने मेला पनि विवादित

साहित्यबाहेक स्थानीय उत्पादन, भेषभूषा, सांस्कृतिक सम्पदा, कृषि, उद्योग, व्यापार, रैथाने खाना, बाजागाजाहरूको संरक्षणका नारा अघि सारेर पनि देशका विभिन्न ठाउँमा मेलामहोत्सव भइरहेका छन्। यस्ता महोत्सवका आयोजकमा स्थानीय सरकार र सम्बन्धित तहका उद्योग वाणिज्य संघ हुन्छन्। कतैकतै केही व्यावसायिक संस्थाले मोटो रकम खर्च गरेर महोत्सव आयोजना गर्दै आएका छन्। महोत्सवको हिसाबकिताब भने दुरुस्त हुने गरेको पाइँदैन।

समाजशास्त्रीहरूको बुझाइमा महोत्सवबाट सामान्य नागरिकलाई कुनै फाइदा हुँदैन। कतिपय आयोजकले संस्कृति संरक्षणका कुरा अघि सारेर महोत्सवलाई व्यापार बनाएको पाइन्छ। सांस्कृतिक नाच र लोकदोहोरी स्थानीय भुलाउने माध्यम मात्रै बन्ने गरेका छन्।

संस्कृति संवेदनशील विषय हो। मानिसलाई संस्कृतिले एकजुट बनाउँछ। प्रशासनले नसकेको काम पनि संस्कृतिले मिलाइदिन्छ। समाजशास्त्री पुष्पराज राई भन्छन्, ‘स्थानीय संस्कृतिको संरक्षण गर्ने, सबैमा सद्भाव र एकता कायम गर्ने मेलामहोत्सवको मुख्य लक्ष्य देखिन्छ।’ यस्ता भावनात्मक कुरा गरेर उपभोक्तालाई ठग्ने काम भइरहेको टिप्पणी उनको छ।

मेला महोत्सवका नाममा हुने कार्यक्रमले सम्बन्धित ठाउँमा केही दिन मानिसको चहलपहल भए पनि त्यसले स्थानीयको जीवनमा कुनै परिवर्तन नल्याउने समाजशास्त्री राई बताउँछन्।

महोत्सवको लक्षित वर्ग स्थानीय बासिन्दा हुन्। स्थानीयलाई सरोकार राख्ने विषय महोत्सवमा राखिन्छ। अहिले महोत्सव पैसा उठाउनका लागि प्रयोग गर्ने थालिएको राईले बताए। उनले भने, ‘विगतमा महोत्सव धार्मिक, सांस्कृतिक र केही महत्त्वपूर्ण कामका लागि गरिन्थ्यो। अहिले त फेसनतिर मोडिन थालेको छ। त्यसमा आर्थिक कुरामात्रै अगाडि आउँछन्। व्यापारिक प्रतिष्ठानकै बोलवाला रहन्छ।’

आयोजकको दाबी : उद्योग व्यापारमा उत्साह थप्छ

सांसद प्रेमबहादुर महर्जनचाहिँ आर्थिक गतिविधिमा निराशा छाइरहेका बेला यस्ता महोत्सव उपयोगी हुने दाबी गर्छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा महर्जनले भने, ‘स्थानीय भेषभूषा, सांस्कृतिक सम्पदा, कृषि, उद्योग, व्यापार, स्थानीय उत्पादन रैथाने खाना, स्थानीय बाजागाजाहरूको संरक्षण गर्ने कुरालाई महोत्सवले सम्बोधन गरेको छ।’

देशको उद्योग व्यापार व्यवसायमा उत्साह ल्याउने र केही गर्नुपर्छ भन्ने हुटहुटी जगाउने यस्तो कार्यक्रममा सरकारको ध्यान जानुपर्ने उनले बताए।  ललितपुरको महालक्ष्मी नगरपालिकामा जारी महोत्सवका बारेमा संसद्‌मा बोल्दै उनले उक्त कुरा बताएका हुन्।

स्याङ्जाको चापाकोट नगरपालिकाका प्रमुख देवबहादुर खाण पनि सांसद महर्जनको भनाइ सहमत छन्। उनी भन्छन्, ‘एउटा त ठाउँको चिनारी बढाउने मौका हो। पर्यटकीय, धार्मिक, जलयात्रा, प्याराग्लाइडिङजस्ता क्षेत्रबाट आर्थिक चलायमान हुन्छन्’, चापाकोट महोत्सवको आयोजकसमेत रहेका नगर प्रमुख खाणले भने। केही व्यक्तिको कमजोरीका महोत्सवबारे नकारात्मक सन्देश प्रवाह हुनु स्वाभाविकै रहेको उनले बताए।

महोत्सवको आम्दानी खर्च अपारदर्शी : सरकार

स्थानीय सरकारले त महोत्सवका लागि भनेर बजेट विनियोजन गर्दै आएका छन्। प्रदेशका मुख्यमन्त्री, मन्त्री र ससंदहरूको काम नै महोत्सव उद्घाटन हुने गरेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका कर्मचारी बताउँछन्।

मन्त्रालयले केही वर्षदेखि मेलामहोत्सवमा हुने गरेको खर्चका विषयमा निगरानी गर्दै आएको छ। ‘हामीले गरेको एक सर्वेक्षणअनुसार महोत्सवको कुल व्यापारमध्ये करिब ४० प्रतिशत आयोजकले देखाउँदैनन्’, मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले भने। महोत्सवमा हुने ३० प्रतिशत खर्च बाल मनोरञ्जन, मनोरञ्जन र त्योबाहेक खर्चको विवरण नखुल्ने उनी बताउँछन्।

महोत्सवले स्थानीय सांस्कृतिक, उत्पादन र अन्य क्षेत्रको पहिचानको प्रचार गर्न मद्दत गर्ने उनले बताए। ‘महोत्सवले समाजमा सकारात्मक सन्देश जानुपर्छ। त्यसो भएमा मात्र महोत्सवको सार्थकता झल्किन्छ। अहिलेका महोत्सव त्यस्ता छैनन्। यसलाई नियन्त्रणका लागि सरकार नयाँ नियमन ल्याउने प्रयासमा छ’, भट्टराईले भने।

महोत्सवमा राष्ट्रपति, पूर्वराष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्री, पूर्वमन्त्री एवं वर्तमान र पूर्व माननीयको पनि लर्को लाग्छ। सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमा आयोजना भएको महोत्सवमा पुग्ने गरेका छन्।

स्याङ्जाको चापाकोट नगरपालिकामा आयोजना गरिएको चापाकोट महोत्सवमा गीत गाउँदै गायिका।

महोत्सवमा कति खर्च भयो यसबारे आयोजकले नखुलाउँदा कति ठाउँमा विवादसमेत हुन्छ। महोत्सवको आयोजककै सीमित व्यक्ति मात्र मोटाउने र उनीहरूले सजिलै आर्थिक चलखेल गर्न पाउने माध्याम समेत बनेको आरोप लाग्ने गरेको छ। चापाकोटका नगरप्रमुख खाण भन्छन्, ‘हामी कमजोरी नहोस् भनेर सचेत छौँ। नाफाघाटा जति पनि हुन्छ, एकएक रुपैयाँको हिसाबकिताब हुनुपर्छ भनेर हामी लागिपरेका छौँ। महोत्सव सकिएपछि सार्वजनिक सुनुवाइ गर्ने योजना छ। त्यसमा सबै हिसाबकिताबको विवरण सार्वजनिक हुन्छ।’

पर्यटन व्यवसायीचाहिँ महोत्सवलाई आर्थिक पक्षसँग जोड्नुपर्ने बताउँछन्। नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) का अध्यक्ष शिव अधिकारीले महोत्सवलाई पर्यटन, संस्कृति र आर्थिक पक्षसँग जोड्नुपर्ने बताए।

‘अनिमात्र स्थानीय सरकार र त्यहाँका बासिन्दालाई फाइदा हुन्छ’, उनले भने। महोत्सवका लक्ष्य भनेको व्यापार बढाउन र आफ्नो क्षेत्रको सम्भावित पर्यटन स्थलका पहिचान देखाउन हो। पछिल्लो समय महोत्सवलाई फेसनका रूपमा लिन थालेका कारण उद्देश्य एउटा काम अर्को भइरहेको उनको आरोप छ।

महोत्सवमा राखिएका धेरैजसो खेलसामग्रीको बाल स्वास्थ्यका दृष्टिले अनुकूल छैनन्। यसबारे स्वास्थ्य मन्त्रालय गत वर्ष चितवन र पोखरा महोत्सवमा एउटा अध्ययन गरेको थियो। मन्त्रालयको अध्ययनमा महोत्सवमा राखिएका रोटे पिङ, मोटरसाइकल खेलजस्ता सामग्रीले बच्चाको शारीरिक र मानसिक स्वास्थ्यमा असर पर्ने उल्लेख छ।  त्यस्ता सामग्रीको सट्टामा विज्ञान प्रदर्शनी, ज्ञानवर्धक नाटक वा कार्टुन निर्माण गरी प्रदर्शनीस्थलमा राख्ने व्यवस्था गर्न मन्त्रालयले संघीय मन्त्रालयमार्फत स्थानीय तहलाई सुझावसमेत दिएको थियो।

महोत्सव सक्नेबित्तिकै सम्बन्धित पक्षले टिकट बिक्रीबाट प्राप्त आम्दानी, स्टल भाडा, स्थानीय उत्पादनको बिक्रीबाट प्राप्त आम्दानी, होटल रेस्टुरेन्टले प्राप्त गरेको आम्दानी विवरण स्थानीय तहलाई देखाउनुपर्ने व्यवस्था छ। तर आयोजकले महोत्सव सकिएपछि कार्यक्रमको प्रतिवेदन नदिने गुनासो पालिका प्रमुखहरूको छ।

पूर्वगभर्नर क्षेत्री मानिससँग पैसा नभएका बेला जताबाट पनि निचोर्ने काम भइरहेको बताउँछन्। उनले भने, ‘मानिससँग पैसा छैन। कसरी उत्साह र उमंग आओस्? माथि रहेकाले जनतालाई निचोर्ने काम मात्र गरेको छ। जनतालाई सुवधिा दिने भन्दा जनताबाट लिने काम भइरहेको छ। त्यो दुःखद् हो।’ उनका अनुसार मेलामहोत्सवमा भुइँमान्छेका कुराहरू सधैँ ओझेलमा पर्ने गर्छन्। नितान्त व्यावसायिक प्रयोजनका लागि हुने मेलामहोत्सवमा व्यापारिक प्रतिष्ठानकै स्वार्थअनुसारका गतिविधि हुनुले पनि अन्य कुरा छायामा पर्ने स्पष्ट छ।

नेपालमा मात्र होइन यूएई, कतार, पोर्चुगल, अस्ट्रेलिया, अमेरिका, क्यानडामा रहेका नेपालीमाझ पनि विभिन्न महोत्सव हुँदै आएका छन्। विदेशमा आयोजना हुने महोत्सवमा मानव तस्करीसमेत हुने गरेको छ। विकसित देशमा महोत्सव गर्ने बहानामा नेपालीलाई ती देशमा नक्कली कलाकार बनाएर आयोजकले लैजाने गरेका उदाहरण धेरै छन्।

कलाकारलाई ‘राम्रो आम्दानी’

महोत्सवको आकर्षणको केन्द्रका रूपमा कलाकार हुने गर्छन्। टेलिभिजनको पर्दामा देखिएका तर मनमुटुमा बसेका कलाकारलाई नजिकैबाट नियाल्न पाउने आसमा धेरै मानिसहरू महोत्सवमा पुग्छन्। यसरी दर्शकले साथ दिँदा कलाकार पनि खुसी हुने गरेका छन्।

पछिल्लो समय महोत्सवमा निकै व्यस्त रहेकी गायिका एलिना चौहान मेलामहोत्सवबाट आफूहरूलाई राम्रो आम्दानी हुने बताउँछन्। उनलाई कहिले पूर्व त कहिले पश्चिममा हुने महोत्सवमा सहभागी हुन भ्याईनभ्याई छ। यो साता पनि उनले आफ्नो व्यस्त तालिका सार्वजनिक गरिसकेकी छन्। चौहान दिनमा एक ठाउँको महोत्सवमा मात्र जाने गरेको र यसबाट राम्रो आम्दानी हुने बताउँछिन्।

‘दिनमा एक ठाउँको महोत्सव भ्याउँछु। आम्दानी राम्रै हुन्छ’, उनले भनिन्, ‘हामी पहिला नै सम्झौता गरेर कार्यक्रममा सहभागी हुन्छौँ। प्रत्येक कलाकारको आफ्नै माग हुन्छ, न्यूनतम २० हजारदेखि एक लाख रुपैयाँसम्म।’

अन्य थुप्रै गायकगायिका, हास्य कलाकार, मोडल पनि महोत्सवमा देशविदेश धाइरहेका छन्। जो चर्चामा छन् र जसलाई दर्शकले रुचाउँछन्। उनीहरू महोत्सवमा बढी व्यस्त रहेको एलिनाको बुझाइ छ। ‘महोत्सव हुँदा नयाँ तथा पुराना सबै कलाकारले अवसर पाइरहनुभएको छ’, उनले भनिन्। कलाकारलाई कमाउने एउटा माध्यम महोत्सव रहेको उनले बताइन्।

रेकर्ड गरिएका गीतमात्रै बज्छन् मेलामा

प्रत्यक्ष दोहोरी गीत आयोजना नहुँदा अचेलका मेलामहोत्सवबाट मौलिकता हराउन थालेको छ। कुनै बेला मेलाको मुख्य आकर्षण ‘प्रत्यक्ष लोक दोहोरी’ प्रतिस्पर्धा थियो। लोकदोहोरीलाई धेरैले रुचाउँथे। दोहोरी गाउने कलाकारले मेलापर्वबाटै आफ्नो प्रतिभा प्रस्फुटन र पहिचान गर्ने अवसर पाउँथे।

प्रत्यक्ष दोहोरीमा माया प्रेम, सद्भाव, नातासम्बन्ध, घरदेखि अन्यका कथा सुनेर मनोरञ्जन लिन टाढाटाढाबाट मानिसहरू पुग्थे। दोहोरीका सवालजवाफ र घोचपेचलाई छलफल र बहसको विषयसमेत बनाइन्थ्यो। मौलिक मनोरञ्जन, प्रतिभाको पहिचान र प्रस्फुटनमा परम्परागत रूपमा हुने प्रत्यक्ष दोहोरी प्रतियोगिताको भूमिका महत्त्वपूर्ण रहे पनि बिस्तारै ओझेल पर्न थालेका छन्।

पछिल्ला दिनमा मेलामहोत्सवमा रेकर्ड गरिएका गीत बज्छन्। त्यस्ता गीतमा प्रस्तुत गरिने नृत्य मौलिक हुँदैनन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली मेला महोत्सवका कतिपय प्रस्तुति अत्यन्तै भद्दा, परिवार र साथीहरूसमेत सँगै बसेर हेर्न नसकिने खालका हुने गरेको गुनासो आउने गरेको बताएका छन्। गत साता राजधानीमा आयोजित एक कार्यक्रममा उनले यस्ता गतिविधि निरुत्साहित गर्न आग्रह गरेका थिए।

प्रकाशित: ७ फागुन २०८० १३:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 11 =