महोत्सवका नाममा सरकारी पैसा ‘पचाउने धन्दा’

विवेक विवश रेग्मी ९ फागुन २०८० १८:५६
1.4k
SHARES
महोत्सवका नाममा सरकारी पैसा ‘पचाउने धन्दा’

इटहरी- मेला, महोत्सव र फेस्टिभलमा रैथाने खाना, उत्पादन र संस्कृतिलाई बिर्सन थालिएको छ। कृषि उत्पादन, स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले आयोजना गरिएको भनिए पनि यस्ता मेलामहोत्सवमा स्थानीयता झल्कने न संस्कृति प्रस्तुत हुन्छ, न त खानेकुरा! स्थानीय सरकार, उद्योग वाणिज्य संघ र प्रदेश सरकारको समेत संलग्नता हुँदै आएका यस्ता महोत्सवमा खर्चको विवरण सार्वजनिक नहुँदा विवादमा आउने गरेका छन्।

मेला, फेस्टिभल, सांस्कृतिक महोत्सवजस्ता कार्यक्रमले समाजमा कुनै न कुनै सन्देश दिनुपर्ने हो। सार्वजनिक स्थानमा आयोजना हुने कार्यक्रमको निश्चित उद्देश्य पनि हुनुपर्ने आमप्रचलन छ। यस्ता केही कार्यक्रम छन्, न समाजले त्यसको मूल मर्म बुझ्न चाहेको छ, न त आयोजकले नै स्पष्ट पार्न चाहन्छन्।

‘कन्सर्ट’का नाममा सरकारी बजेट दिन कानुनी वैधता नभएका कारण महोत्सव तथा फेस्टिभलजस्ता नाममा सरकारले बजेट उपलब्ध गराउँदै आएको छ।

बर्सेनि एउटै संस्था आयोजक, त्यही व्यक्ति प्रमुख अतिथि र त्यस्तै किसिमका सीमित दर्शकको सहभागितामा हुने महोत्सवले सरकारी बजेट पचाउने ‘धन्दा’ मात्रै भएको विज्ञहरू बताउँछन्। कतिपयले त सरकारी बजेट पचाउनकै लागि भए पनि बर्सेनि यस्ता कार्यक्रम गर्दै आएका छन्।

यसको पछिल्लो उदाहरण हो, इटहरीको दोस्रो खाना तथा पर्यटन महोत्सव। इटहरीमा उक्त महोत्सव जारी छ। जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीले आयोजना गरेको महोत्सवको संरक्षक छ इटहरी उपमहानगरपालिका। अनि सहयोगी कोशी प्रदेश सरकारको पर्यटन वन तथा वातावरण मन्त्रालय।

‘दोस्रो परम्परागत खाना महोत्सव’ का नाममा आयोजना भएको महोत्सवमा साँझको समयमा कलाकारहरूका प्रस्तुति मात्रै देखिन्छन्।

फागुन १ गतेदेखि जारी महोत्सव ११ गतेसम्म चल्ने आयोजक कमिटीका अध्यक्ष तेजबहादुर पुरीले बताए। ‘हामीले परम्परागत खानालाई प्रोत्साहन गरौँ भनेर दोस्रोपटक महोत्सव आयोजना गरेका हौँ’, पुरीले भने, ‘थारू, जनजातिलगायतका रैथाने खानाका परिकार समेटिएको छ। इटहरी पर्यटनको हब हुनसक्ने भएकाले चलायमान बनाउन कार्यक्रम आयोजना गरिएको हो।’

खाना महोत्सवममा कलाकार डाकेर प्रस्तुति राखिए पनि स्थानीयको उपस्थिति अपेक्षित नभएको बताए। ‘स्थानीय कलाकार ल्यायौँ। लोकगायकहरू बोलायौँ, तर मान्छे आउँदैनन्,’ उनले भने, ‘यसलाई थप चलायमान बनाउन राष्ट्रिय कलाकार नल्याईकन नहुने रहेछ। अहिलेका पुस्ताले यही रुचाउनेरहेछ।’

आयोजकले परम्परागत खाना महोत्सव भनेर दाबी गरे पनि सहर, बजारमा ‘आज फलानो कलाकार आउने’ भनेर मात्रै प्रचार गरिँदै आएको स्थानीय बताउँछन्।

‘यो किसिमको खाना उपलब्ध हुन्छ भनेर माइकिङ गरिनुपर्ने भए पनि आज फलानो कलाकार आउँदैछ भनेर प्रचार गरेको पाइन्छ,’ एक स्थानीय भन्छन्, ‘यसले खानालाई प्रोत्साहन होइन, कलाकार आउने विज्ञापन मात्रै गरेको पाइन्छ।’

कमिटीले अघिल्लो वर्ष चैतमा पनि सोही किसिमको कार्यक्रम आयोजना गरेको थियो। अघिल्लो वर्षको खर्च विवरण हालसम्म सार्वजनिक गरिएको छैन।
सुनसरीकै रामधुनीमा रामधुनी एक्सपो जारी छ। फागुन ४ गतेदेखि जारी महोत्सव फागुन १९ गतेसम्म सञ्चालन हुने आयोजक झुम्का उद्योग वाणिज्य संघका अध्यक्ष नवीनकुमार चौधरीले बताए।

एक्सपोलाई सहयोग गरेको छ, रामधुनी नगरपालिकाले। ‘कृषि, संस्कृति, पर्यटन तथा औद्योगिक प्रदर्शनी’ शीर्षकमा आयोजना गरिएको एक्सपोमा हरेक दिन कलाकार ल्याउनेबाहेक अन्य गतिविधि नभएको स्थानीय बताउँछन्।

‘यस्ता महोत्सवले कृषिसँगै स्थानीय संस्कृतिलाई प्रोत्साहित गर्दै स्थानीय स्तरमा भएका पर्यटनका क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्ने हो,’ रामधुनी–१ निवासी एक महिला भन्छिन्, ‘तर कलाकार ल्याएर उफार्नेबाहेक अरू खासै काम भएको पाइँदैन।’

विश्लेषकसमेत रहेका डा. रामजी तिम्सिना भन्छन्, ‘अहिले भइरहेका मेलामहोत्सव सत्तामा हुनेहरूले आफ्ना कार्यकर्तालाई पैसा दिने मेलो मात्रै हो।’ जुन उद्देश्यले मेला, महोत्सव तथा फेस्टिभल आयोजना गरिनुपर्ने हो, त्यसो नभइरहेको उनको तर्क छ।

पछिल्लो समय वडा कार्यालयदेखि पालिकासम्मले आफ्ना कार्यकर्तालाई विभिन्न बहानामा पैसा दिने चाहना देखिन्छ। जुनसुकै दलबाट निर्वाचित जनप्रतिनिधिले कार्यकर्ताको पक्षपोषण गरेकै हुन्छ।

तिम्सिनाले भने, ‘अहिलेका यस्ता कार्यक्रम भनेको निश्चित व्यक्ति र समूहका लागि पैसा कमाउने माध्यम मात्रै भएको छ। आयोजक संघसंस्थाले हिसाब पनि सार्वजनिक गर्दैनन्। मेलामहोत्सव नाजायज तरिकाले पैसा कमाउने माध्यम बन्यो।’

मेलामहोत्सवमा विकृति पनि उत्तिकै भित्रिने गरेका छन्। सस्तो लोकप्रियता देखाउनका लागि मेलामहोत्सवमा देखाइने नृत्यले केही क्षण निश्चित व्यक्तिहरू रमाउने गरे पनि यसको असर भने दीर्घकालसम्म पर्ने जानकारहरू बताउँछन्। छाडापनका कारण विकृति बढाएको छ। आयोजकहरू नै भन्ने गर्छन्, विशेष खालका गायकगायिका नल्याईकन मेलामहोत्सव चल्दैन।

‘सार्वजनिक ठाउँमा हुने मेलादेखि पुराणसम्म बच्चा, वृद्ध र बिरामीका लागि टाउको दुखाइको विषय भएको छ’, तिम्सिनाले भने, ‘नगर् भनौँ भने हाम्रो संस्कृति भन्छन्। कतिले त धर्म कमाउने नाममा पाप गरेका छन् जस्तो लाग्छ। अनि संस्कृतिका नाममा विकृति भित्र्याउने पनि धेरै भए।’

महोत्सव आयोजना गर्नु भनेको एकले अर्काको पइँचो तिरेजस्तो मात्रै देखिने गरेको छ। महोत्सव त सामाजिक सद्भाव बढाउने, मानवीय समाजको निर्माण गर्ने र आर्थिक गतिविधि बढाउने हुनुपर्ने भए पनि एउटा समूहले अर्काे समूहलाई गुन तिर्न मात्रै आयोजना हुने गरेको बुझाइ तिम्सिनाको छ। उनले भने, ‘साहित्यिक महोत्सवमै पनि त्यही किसिमको पइँचो तिरेजस्तो देखिन्छ।’

जुनसुकै क्षेत्रमा गरिएका यस्ता कार्यक्रमले रैथाने मानिसलाई सम्बोधन भएको पाइँदैन। फेस्टिभलहरूका कारण रैथाने मानिसलाई कति फाइदा भएको छ भन्नेबारे अध्ययन पनि हुँदैन। त्यसैले पनि मेलामहोत्सवबारे समाजमा सकारात्मक सन्देश गइरहेको छैन।

‘समाजमा बढेको विभेद घटाउन पनि यस्ता महोत्सवले योगदान पुर्‍याउनुपर्छ,’ उनी भन्छन्, ‘तर आयोजकले मूल उद्देश्यभन्दा विपरीत ‘हाम्रो दाइ सत्तामा छ, पैसा दिइहाल्छ’ भन्ने प्रवृत्तिले कार्यक्रम आयोजना गरेको पाइन्छ। कार्यक्रमको मूल मर्म के हो? भन्ने बुझ्नुपर्छ । तर आयोजकमै त्यो बुझाइको कमी छ।’

समाजमा भइरहेका मेला, महोत्सवको प्रतिरोध नभएर प्रवृत्तिलाई सचेत गराउने अभियानमा बुद्धिजीवीहरूले सुझाव दिनुपर्ने उनको भनाइ छ।

जुनसुकै कार्यक्रमका सकारात्मक र नकारात्मक कुरा हुन्छन्। महोत्सव तथा फेस्टिभलका आयोजना हुुनुले समुदायका मानिसलाई एकत्रित गराउने र सामाजिक अन्तरक्रिया बढाउने लक्ष्य लिनुपर्छ। यस्ता कार्यक्रमले आर्थिक पाटोमा चलायनमा बनाउनमा सहज पनि हुन्छ। तर त्यसभन्दा ठीक विपरीत भइरहेको पाइन्छ। कलाकार ल्याएर ‘उफार्ने’ मात्रै र स्थानीय सरकारलगायतबाट ‘आर्थिक उपार्जन’ गर्नेबाहेक दोस्रो कुनै उद्देश्य देखिँदैन।

केही समयअघि थारु कल्याणकारिणी सभाले चौथो बर्जु माघी महोत्सव आयोजना गरेको थियो। माघ पहिलो साता भएको उक्त कार्यक्रममा भारतीय कलाकारको टोली ल्याइएको थियो।

द ब्वाइज क्लबको आयोजनामा गत ४ कात्तिकदेखि १८ गतेसम्म लेटाङ महोत्सव आयोजना भयो। मोरङको उत्तरी क्षेत्रमा पर्ने लेटाङको उक्त महोत्सवमा पनि रैथाने संस्कृतिको प्रवर्धनको सट्टा राष्ट्रिय स्तरका कलाकार ल्याएर कन्सर्टजस्तै गरी आयोजना भयो।

विभिन्न समयमा झापाको बिर्तामोडमा बिर्तामोड फुड फेस्टिभल, मोरङको बेलबारीमा बेलबारी मिनी महोत्सव, इटहरी सांस्कृतिक पर्यटन महोत्सव, इनरुवा महोत्सव, बूढीगंगा महोत्सवजस्ता कार्यक्रम आयोजना भए पनि त्यसले कुनै सन्देश नदिएको स्थानीय बताउँछन्।

मोरङ व्यापार संघले केही महिनाअघि विराटनगरमा ‘मोरङ व्यापार ट्रेड एक्सपो’ आयोजना गर्‍यो। पुस ६ देखि १६ गतेसम्म आयोजना भएको एक्सपोको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए। उक्त एक्सपो अघिल्लो वर्षपनि आयोजना भएको थियो। यसपटक भने महानगरलाई कर नतिरेकोजस्ता कुरा बाहिरिएकाले विवादितसमेत बन्यो। एक्सपो आयोजना भए पनि त्यसले हालसम्म खर्च विवरण सार्वजनिक गरेको छैन।

यसरी आयोजना भएका सार्वजनिक कार्यक्रमहरूको आयव्यय सार्वजनिक नगरेको विषयमा नागरिक समाजबाट आलोचना हुने गरेको छ। सार्वजनिक कार्यक्रमहरूमा भएको आयव्यय सार्वजनिक नगर्दा जबाफदेही बन्न नसकेको आरोप उनीहरूको छ। पूर्वमा हुने विभिन्न कार्यक्रमका आयोजक खर्च विवरण सार्वजनिक गर्नका निम्ति नैतिक दबाबसमेत परेको जानकारहरू बताउँछन्।

सुनसरीका पाँच कार्यक्रम, जसले एक वर्ष बित्न लाग्दासम्म खर्च सार्वजनिक गरेनन्

भुइँमान्छेलाई नछुने महोत्सव

प्रकाशित: ९ फागुन २०८० १८:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + seventeen =