शिर निहुरिने अवस्था आउन दिन्न : गगन थापा

हिमाल प्रेस ४ जेठ २०८३ १९:१७ | Monday, May 18, 2026
8
SHARES
शिर निहुरिने अवस्था आउन दिन्न : गगन थापा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो कारणले पार्टीका एक जनाको पनि शिर निहुरिने अवस्था आउन नदिने बताएका छन्।

सोमबार काभ्रेको धुलिखेलमा कांग्रेस प्रदेश र स्थानीय तह केन्द्रित बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै थापाले सभापतिको हैसियले आफूले गर्ने कुनै पनि निर्णयका कारण पार्टीका एकजनाको पनि शिर निहुरिने अवस्था आउन नदिने बताएका हुन्।

उनले जिम्मेवारीमा बसेको कुनै अर्को नेताका कारण पार्टीका कसैलाई पनि समस्या हुने अवस्था आए सहेर नबस्ने स्पष्ट पारे। सभापति थापाले पार्टी सदस्यता अद्यावधिक गर्नै दिन्न भन्ने केही पार्टीका नेताहरुले भनेको कुरा आफूले बुझ्न नसकेको धारणा राखे।

त्यस्तै सभापति थापाले कांग्रेस देशको मुख्य राजनीतिक शक्ति भएकाले मुलुकलाई संवैधानिक व्यवस्था अनुसार अघि बढाउने जिम्मेवारी पनि कांग्रेसकै भएको बताए। वर्तमान सरकार संख्याको आधारमा बरालिने सम्भावना रहेको भन्दै उनले संविधानभन्दा बाहिर गएर सरकार चल्न थाले संविधानको दायराभित्र ल्याउने काम पनि कांग्रेसकै भएको उल्लेख गरे।

कांग्रेस प्रतिपक्षी भएकै कारण प्रतिक्रिया दिएर भाग्ने सुविधा नरहेको उनले बताए। उनले इतिहासमा कांग्रेसले निर्वाह गरेको जिम्मेवारीलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए।

प्रकाशित: ४ जेठ २०८३ १९:१७ | Monday, May 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast