सुनसरीका पाँच कार्यक्रम, जसले एक वर्ष बित्न लाग्दासम्म खर्च सार्वजनिक गरेनन्

विवेक विवश रेग्मी २८ माघ २०८० १०:४२
462
SHARES
सुनसरीका पाँच कार्यक्रम, जसले एक वर्ष बित्न लाग्दासम्म खर्च सार्वजनिक गरेनन् सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा गत वर्ष फागुनमा धरानमा आयोजित ‘धरान एक्सपो’। फाइल तस्बिर

इटहरी- कहिले खेलकुद, कहिले सम्मान र कहिले मेलामहोत्सव आयोजना हुँदा मनोरञ्जन हुन्छ, मानिसको आवतजावत बढ्छ र अर्थतन्त्र चलायमान हुन्छ। आयोजकहरू पनि यस्ता कार्यक्रम गर्न पाउँदा उत्साहित हुन्छन्। पत्रकार सम्मेलन गर्छन्। अनुमानित खर्च विवरण गर्छन्। सरकारी वा गैरसरकारी क्षेत्रबाट सहयोग र विज्ञापनका नाममा रकम संकलन गर्छन्।

कार्यक्रम सम्पन्न हुन्छ। त्यसपछि न त आयोजकले आयव्यय विवरण सार्वजनिक गर्छन् न त नागरिक समाजका तर्फबाटै नै उनीहरूमाथि प्रश्न उठाइन्छ। अधिकांश कार्यक्रममा भएका खर्च विवरण सार्वजनिक नहुँदा आयोजकहरूको जबाफदेहितामाथि प्रश्न उठ्दै आएको छ। कार्यक्रम आयोजना हुनुअघि पत्रकार सम्मेलनमा आयव्ययबारे जानकारी दिने तर कार्यक्रम सकिएपछि भने आय व्यय गुपचुप राख्ने प्रवृत्तिले गर्दा हरेकजसो कार्यक्रमका आयोजकमाथि ‘कमाउधन्दा’ को आरोप लाग्दै आएको छ।

यी हुन् जबाफदेहीहीन कार्यक्रम

कार्यक्रम १ : २०७९ माघ २७ गते इटहरीका शिक्षासेवी लेखनाथ घिमिरेलाई अभिनन्दन गरियो। सामाजिक, शैक्षिक र साहित्य क्षेत्रमा समेत प्रशंसित भन्दै घिमिरेलाई ७७ औँ जन्मोत्सवको अवसर पारेर इटहरी ९ स्थित जनता माध्यमिक विद्यालयको खेलमैदानमा एक कार्यक्रमको आयोजना गर्दै अभिनन्दन गरिएको हो। उनकै कद बराबरको अभिनन्दनपत्रले घिमिरेलाई निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अभिनन्दन गरेका थिए।

कार्यक्रमअघि रथारोहणसहित इटहरी नगर परिक्रमा गराइएको थियो। उक्त कार्यक्रममा कोशी प्रदेशका १४ वटै जिल्लाबाट, अन्य प्रदेशका २५ जिल्लाबाट र भारतका विभिन्न प्रदेशबाट उल्लेख्य संख्यामा मानिसको सहभागिता रहेको आयोजकको दाबी थियो। उक्त कार्यक्रमको अवसर पारेर लेखनाथ घिमिरे अभिनन्दन ग्रन्थ ‘सार्थक जिन्दगी’ पनि सार्वजनिक गरिएको थियो।

इटहरीका शिक्षासेवी लेखनाथ घिमिरेलाई अभिनन्दन गरिँदै। फाइल तस्बिर

अभिनन्दन कार्यक्रमलाई संयोजन गरेका थिए, अनिल पौडेलले। ‘लेखनाथ घिमिरे अभिनन्दन मूल समारोह समिति’ नामक पौडेल नेतृत्वको समूहले हालसम्म पनि उक्त कार्यक्रमको खर्च सार्वजनिक गरेको छैन।

कुल २५ लाख खर्च अनुमानित गरिएपनि कति खर्च भयो, कति आम्दानी भयो भन्नेबारे जनमानस हालसम्म बेखबर छ। कार्यक्रम आयोजना भएको एक वर्ष बित्न लाग्दासमेत समूहले आयव्यय सार्वजनिक गर्ने सुरसार गरेको छैन।

कार्यक्रम संयोजक पौडेल आफूलाई खर्च कति भएको भन्नेबारे थाहा नभएको भन्दै पन्छिए। ‘आर्थिक कुरा आर्थिक समितिको संयोजक र कोषाध्यक्षलाई थाहा हुन्छ,’ पौडेलले भने, ‘आर्थिक समितिको संयोजक दिनेश भट्टराई हुनुहुन्छ। कोषाध्यक्ष शुभद्रा प्याकुरेल हुनुहुन्छ। आर्थिक कुरा उहाँहरू दुईजनालाई थाहा हुन्छ।’ उनले खर्च विवरण सार्वजनिक नभएको स्वीकार गरे।

कार्यक्रम २ : सुनसरी सदरमुकाम इनरुवामा १० दिने चलचित्र महोत्सव आयोजना भयो। २०७९ फागुन ७ गतेदेखि १७ गतेसम्म नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं. १ ले आयोजना गरेको इनरुवा उत्सव तथा चलचित्र महोत्सवको कार्यक्रम एक वर्ष पुग्न लाग्दासमेत खर्च सार्वजनिक भएको छैन।

महासंघका अध्यक्ष अरुणकुमार प्रधानले नेतृत्व गरेको उक्त कार्यक्रममा चलचित्र प्रदर्शनीका साथै सांस्कृतिक कार्यक्रम, पुस्तक विमोचन, बेबी फेन्सी ड्रेस प्रतियोगिता, साहित्य सम्मेलन, उत्कृष्ट तरकारी उत्पादक प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, नेता भर्सेज अभिनेता फुटबल लगायत अन्य विविध कार्यक्रम आयोजना गरिने तत्कालीन पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो।

इनरुवामा आयोजित चलचित्र महोत्समा सहभागी कलाकार र पत्रकार। फाइल तस्बिर

११ दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रममा कुल ५० लाख बढी खर्च हुने अनुमान गरिए पनि हालसम्म कति खर्च, कति आम्दानी भयो भन्नेबारे सार्वजनिक गरिएको छैन। महासंघका अध्यक्ष अरुणकुमार प्रधान भन्छन्, ‘नगरपालिकाले अहिलेसम्म पनि भुक्तानी दिएको छैन। साउन्ड सेटस र सेक्युरिटीको पैसा तिर्न बाँकी छ।’

उनले हालसम्म हिसाब पूरा नभएका कारण खर्च विवरण सार्वजनिक नभएको स्वीकारे। ‘इनरुवा नगरपालिकाले एक रुपैयाँ दिएको छैन। हिसाब क्लियर नगरीकन हिसाबकिताब सार्वजनिक गर्ने कुरा भएन,’ उनले भने, ‘हिसाब पूरा नभएकाले हालसम्म होल्ड गर्नुपरेको हो।’

उनका अनुसार तत्काल १० दिने भनिए पनि एक दिन थपेर ११ दिने महोत्सव आयोजना गरिएको थियो। इनरुवामा धेरै राजनीति भएका कारण महोत्सवलाई ‘असफल’ पार्न सक्रिय हुनेहरूसमेत रहेको उनले गुनासो गरे। उनले भने, ‘इनरुवामा चेते मैले। यहाँ धेरै पोल्टिक्स हुनेरहेछ। आफ्नो ठाउँमा केही गरौँ भन्ने थियो, म पो राजनीति गर्न आएजस्तो भयो।’

कार्यक्रम ३ : सुनसरीको व्यावसायिक, व्यापारिक, कृषि, औद्योगिक, शैक्षिक, साहित्यिक, सूचना तथा प्राविधिक र पर्यटन प्रवर्धन  गर्ने उद्देश्यसहित २०७९ फागुन ११ गतेदेखि १० दिने ‘धरान एक्सपो’ आयोजना भयो।

आयोजक समितिका संयोजक एवम् सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठका अनुसार सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा धरान रंगशालामा भएको एक्सपोमा कुल ९९ लाख ५० हजार खर्च हुने अनुमान गरिएको थियो। खर्च अनुमान गरिएपनि हालसम्म कति खर्च भयो भन्नेबारे सार्वजनिक गरिएन।

एक सय ३० वटा स्टल राखिएको उक्त एक्सपोमा दुई करोड बढीको कारोबार भएको आयोजकले दाबी गरेको थियो। यसबारे बुझ्नका लागि पटकपटक सुनसरी उवासंघका अध्यक्ष विजय श्रेष्ठलाई सम्पर्क गरे पनि उनको फोन उठेन। स्रोतका अनुसार गत वर्ष गरिएको एक्सपोको खर्च साधारणसभाबाट पास गरिएको दाबी गरिए पनि औपचारिक रूपमा सार्वजनिक गरिएको छैन। जसले गर्दा जनमानसले त्यसबारे सूचना हालसम्म पाएको छैन।

गत वर्षको खर्च हालसम्म सार्वजनिक नगरिए पनि पुनः धरान एक्सपो २०८० फागुन ११ गतेबाटै गर्ने तयारी गरिएको छ।

कार्यक्रम ४ : २०७९ चैत ४ गतेदेखि इटहरीमा १३ औँ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको आयोजना भयो। राष्ट्रिय जागृति क्लब (राजा) इटहरीको आयोजनामा इटहरी रंगशालामा भएको गोल्डकपमा ७० लाख ५० हजार खर्च हुने अनुमान गरिएको थियो।

क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनका अनुसार प्रतियोगितामा देशबाहिरका सहित गरी आठवटा टिम सहभागी थिए। क्लबले यस वर्ष पनि गोल्डकपको तयारी थालेको छ। हालसम्म पनि अघिल्लो वर्षको खर्च सार्वजनिक गरिएको छैन।

१३ औँ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपबारे जानकारी दिन इटहरीमा आयोजित पत्रकार सम्मेलन। फाइल तस्बिर

डुम्जनले खर्चको हिसाब अब हुने फुटबल प्रतियोगितासम्बन्धी कार्यक्रममा सार्वजनिक गरिने बताए। ‘अब एकैपटक सार्वजनिक गर्छौँ। हिसाब सबै निकालिएको छ,’ उनले भने, ‘अब अर्को गोल्डकप चैततिर हुन्छ। त्यसैबेला पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्छौँ।’ क्लबले अघिल्ला वर्षमा गरेको गोल्डकपको पनि हालसम्म खर्च सार्वजनिक गरेको छैन।

कार्यक्रम ५ : इटहरीमा २०८० असोज २० गतेदेखि १५ दिनसम्म सांस्कृतिक पर्यटन महोत्सव सञ्चालन भयो। स्थानीय पर्यटन र संस्कृतिलाई एकसाथ जोड्न महोत्सव आयोजना गरिएको पत्रकार सम्मेलन गरी जानकारी दिइए पनि महोत्सवको नाममा राष्ट्रियस्तरका कलाकारलाई मात्रै ल्याएर आयोजकले ‘सांस्कृतिक महोत्सव गरेजस्तो’ गर्‍यो।

विकास निर्माणकर्ताहरूको सञ्जाल इटहरीले आयोजना गरेको उक्त कार्यक्रममा ५७ लाख ९० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष विशुधन राईले बताएका थिए। हालसम्म उक्त कार्यक्रमको आयव्यय विवरण सार्वजनिक गरिएको छैन। अध्यक्ष राईले करिब ३८ लाख खर्च भएको बताए।

उनले भने, ‘करिब ३८ लाखजति खर्च आयो। ठ्याक्कै खर्चचाहिँ म उपलब्ध गराउँछु नि।’ उनले खर्च विवरण सार्वजनिक नगरिएको स्वीकार गरे।

फाइल तस्बिर

नागरिक समाज इटहरीका पूर्वअध्यक्षसमेत रहेका बुद्धिजीवी कमलेश पौडेल भन्छन्, ‘विभिन्न खालका कार्यक्रम सार्वजनिक रूपमा गरिएको हुन्छ। ती कार्यक्रम गर्न आर्थिक सहयोग संकलन गरिन्छ तर आयव्यय सार्वजनिक गरेको विरलै पाइन्छ। यो भनेको समाजप्रति जबाफदेही नहुनु हो।’

समाजप्रति जबाफदेही हुनका निम्ति नेपालमै यस किसिमको संस्कार नभएको उनले बताए। ‘एउटा त संस्कार नभएर हो, अर्को आर्थिक लाभ गरौँ भनेर पनि हुन्छ,’ उनले भने, ‘सार्वजनिक रूपले सहयोग उठाएर गरिएको कार्यक्रमका आयोजक समाजप्रति जबाफदेही बन्नुपर्छ।’

कार्यक्रम गरेको केही महिना, वर्षमात्रै नभएर कहिल्यै सार्वजनिक नगर्ने प्रवृत्ति गलत रहेको उनको टिप्पणी छ। ‘हामीकहाँ सामाजिक जबाफदेहिताको अभ्यास छैन। हामीले सहयोग गरेका थियौँ भनेर दिनेले पनि सोधीखोजी गर्दैन। लिनेले त गर्ने कुरै भएन,’ पौडेलले भने, ‘यहाँ यसलाई सामान्य मानिन्छ। अन्य देशमा त केही आरोप लाग्दा मात्र राजीनामा दिने चलन छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =