दसैँमा के गुमाउँदै छौँ हामी?

रमेश दवाडी ३१ असोज २०८३ १३:२४ | Saturday, October 17, 2026
8
SHARES
दसैँमा के गुमाउँदै छौँ हामी? निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष कृष्ण अधिकारी।

काठमाडौँ- समयसँगै दसैँ मनाउने शैली फेरिएको छ। परिवार र आफन्तसँगको भेटघाट पातलिँदै गएको छ भने चाडपर्वले सिकाउने संस्कार, आत्मीयता र सामाजिक सम्बन्धको महत्त्व पनि ओझेल पर्दै गएको छ।

विपत्तिका कारण यस वर्षको दसैँमा उल्लासभन्दा संवेदना र सहयोगलाई प्राथमिकता दिनुपर्ने धारणा राख्छन्, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष एवं भ्याली पब्लिक माध्यमिक विद्यालय, भंगालका संस्थापक प्रधानाध्यापक कृष्ण अधिकारी।

गत भदौ १० गते रसुवाको भोटेकोशी-त्रिशूली नदी क्षेत्रमा आएको भीषण बाढी र असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीले पुर्‍याएको जनधनको क्षतिले यस वर्षको दसैँलाई विगतजस्तो उल्लासमय बनाउन नसकेको उनको बुझाइ छ। विपत्तिमा परेका नागरिकको पीडालाई आत्मसात् गर्दै चाडपर्व मनाउनु अहिलेको आवश्यकता भएको उनी बताउँछन्।

अधिकारीका अनुसार राजनीतिक परिवर्तनपछि नागरिकमा नयाँ आशा पलाएको थियो। तर प्राकृतिक विपत्तिले थप पीडा दिएको छ। त्यसैले यस वर्ष तामझाम र अनावश्यक खर्चमा रमाउनुभन्दा पीडितलाई सहयोग गर्नु र परिवार तथा समाजसँगको सम्बन्ध बलियो बनाउनु उपयुक्त हुन्छ।

‘अहिलेको दसैँ पहिलाको दसैँजस्तो त हैन। अहिले राजनीतिक परिवर्तन आएपछि मान्छेहरूले धेरै ठूलो सपना देखेका थिए। तर सरकारले राम्रो गर्छ भन्दाभन्दै पनि प्रकृतिबाट ठूलो अप्ठ्यारो आइसकेको छ। फेरि अर्को अप्ठ्यारो बूढीगण्डकी नदी क्षेत्रमा आएको छ। धेरै क्षति भएको छ, खुसीको दिन छैन,’ उनी भन्छन्।

प्याब्सन अध्यक्षका हैसियतले अधिकारीले सदस्य विद्यालयहरूलाई पनि यस वर्षको दसैँ सादगीपूर्ण रूपमा मनाउन आग्रह गरेका छन्। चाडपर्वका नाममा अनावश्यक खर्च र देखावटीपन गर्नुभन्दा विपत्तिमा परेकालाई सहयोग गर्नुपर्ने उनको सुझाव छ।

‘थोरै खर्चले, घरमै बसेर, उत्ताउलो नभईकन अहिले दसैँ मनाउन सकिन्छ भने राष्ट्रलाई र त्यहाँ दुःखीहरूलाई सहयोग गरेर, अनि अभिभावकहरूका बीचमा, विद्यार्थीका बीचमा पनि राम्रो मित्रता बनाएर एउटा दसैँ मनाऔँ। अर्को वर्ष राम्रो हुन्छ, फेरि त्यसपछि रमाइलो गरौँला भन्ने सन्देश दिएको छु,’ अधिकारी भन्छन्।

उनका अनुसार विपत्तिका बेला प्याब्सनले सरकारलाई सहयोग गर्दै आएको छ। हालै प्रधानमन्त्री राहत कोषमा प्याब्सनका तर्फबाट १२ करोड रुपैयाँ सहयोग गरिएको जानकारी दिँदै उनले शिक्षा क्षेत्रमा आबद्ध संस्थाहरूले सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए।

‘हाम्रा साथीभाइहरूको मन ठूलो छ। प्याब्सनका हजारौँ सदस्य विद्यालय छन्। यो दुःखमा समाजको सहयोगी बनेर अगाडि बढ्छ भन्ने कुरामा म विश्वस्त छु। म पनि त्यसरी नै बढ्छु, अरूलाई पनि त्यसरी नै अगाडि बढ्न निवेदन गर्छु,’ उनी भन्छन्।

दसैँ अधिकारीका लागि गाउँ, परिवार, संस्कार र सामूहिक जीवनसँग जोडिएको स्मृति पनि हो। स्याङ्जाको आँधीखोला गाउँपालिका–१ सिरुबारीमा जन्मिएका उनले बाल्यकालमा गाउँमै दसैँ मनाए। अहिले पनि गाउँको दसैँ र त्यहाँको आत्मीयता उनको मनमा ताजै छ।

यस वर्ष भने उनी परिवारसहित काठमाडौँमै दसैँ मनाउँदै छन्। पुर्ख्यौली घरमा गएर सबै दाजुभाइ भेला हुने योजना भए पनि भाइको विवाह, घरको सरसफाइ र लिपपोतका लागि समय अभाव तथा आवतजावतको असहजताका कारण गाउँ जान सम्भव नभएको उनले बताए।

‘अहिले हामी पुर्ख्यौली घर जाने, सबै दाजुभाइ जम्मा हुने भन्ने कुरा थियो। तर भाइको बिहे पनि परेको हुनाले, घरमा गएर सबै सरसुसार र लिपपोत गर्ने समय नभएको हुनाले र सबैभन्दा जानआउन असुरक्षित भएको हुनाले अहिले हामी यतै (काठमाडौँ) मनाउँछौँ,’ उनले भने।

गाउँमा बिताएको बाल्यकाल सम्झँदा अधिकारीलाई दसैँको रौनकसँगै गाउँले जीवनको आत्मीयता पनि याद आउँछ। उनका बुवा प्रधानाध्यापक थिए। घरमा शिक्षाको वातावरण थियो। दसैँमा नयाँ लुगा किनिदिने चलन भए पनि उनका बुवाले सुखसुविधाको उपभोगमा संयम र मितव्ययिता अपनाउन सिकाउँथे।

‘बुबाले भन्नुहुन्थ्यो, ‘तिमीहरूलाई यो खाट, यस्तो राम्रो सट दसैँमा किनिदिएको छ भन्दैमा जहिलेसुकै खाटमा सुत्न, लगाउन पाइँदैन।’ बरु हप्तामा एक दिन खास्टो ओढेर गुन्द्रीमा सुतेर पिर्काको सिरानी हाल्नुपर्छ भन्नुहुन्थ्यो,’ अधिकारी सम्झन्छन्।

दसैँमा एक दिन चाडपर्व मनाएपछि भोलिपल्टदेखि फेरि गाउँको दैनिकीमा फर्किने चलन थियो। धान काट्ने, खेतबारीको काम गर्ने र गाउँलेसँग मिलेर रमाइलो गर्ने परम्पराले बाल्यकालको दसैँलाई विशेष बनाएको उनको अनुभव छ।

‘एकदमै रमाइलो जिन्दगी थियो केटाकेटीको त्यो गाउँको जिन्दगी। ती बुढाबुढीहरूको कुराकानी, त्यो उठबस अहिले पनि सम्झन्छु। अहिले म जे छु, त्यो मेरो शिक्षाको पनि हो, विश्वविद्यालयको पनि हो, तर मेरो विश्वविद्यालय मेरो गाउँ नै हो,’ उनी भन्छन्।

बाल्यकालमा गाउँका विभिन्न घरमा गएर टीका लगाउने, आशीर्वाद लिने र दक्षिणा पाउने क्षण पनि उनका प्रिय सम्झना हुन्। विशेषगरी हजुरआमा र मामाघरका आफन्तबाट पाएको मायाले दसैँलाई आत्मीय बनाएको उनी सम्झन्छन्। दसैँमा दक्षिणा पाउँदा र तिहारमा दिदीबहिनीलाई पैसा दिँदा हुने खुसी पनि उनको स्मृतिमा ताजै छ।

गाउँप्रतिको उनको लगाव अहिले पनि उत्तिकै छ। अवकाशपछि गाउँमै फर्केर बस्ने र सामाजिक काममा समय बिताउने सोच रहेको उनले बताए।

अधिकारीका विचारमा बाल्यकालको दसैँ र अहिलेको दसैँबीचको सबैभन्दा ठूलो अन्तर जीवनशैलीमा आएको परिवर्तन हो। पहिले चाडपर्व परिवार, आफन्त, छरछिमेक र समाजसँग जोडिने अवसर हुन्थे। अहिले शिक्षा र आर्थिक उन्नतिको दौडमा चाडपर्वले सिकाउने सामाजिक संस्कार र पारिवारिक आत्मीयता कमजोर हुँदै गएको उनको बुझाइ छ।

‘हामीले धेरै कुरा गुमाएका छौँ। संस्कार छोराछोरीलाई हामीले दिनुपर्ने हो। दसैँको माध्यमबाट, तिहारको माध्यमबाट, चाडपर्वको माध्यमबाट जुन हाम्रो संस्कार दिने परम्परा थियो, त्यसको व्याख्या र विश्लेषण हामीले गर्न सकेनौँ,’ उनी भन्छन्।

उनका अनुसार शिक्षा र आर्थिक समृद्धिको खोजी गर्दा परिवार तथा समाजसँग जोडिएका परम्परागत मूल्यलाई पनि उत्तिकै महत्त्व दिन आवश्यक छ। जीवनलाई सुखी बनाउने र धन कमाउने विषयमा केन्द्रित शिक्षाले पारिवारिक तथा सामाजिक जीवनका पक्षलाई पर्याप्त महत्त्व दिन नसकेको उनको टिप्पणी छ।

‘हाम्रो शिक्षा कसरी जीवन सुखी हुन्छ, कसरी धनपैसा कमाउन सकिन्छ भन्ने कुरातिर गयो। त्यसकारण नेपालले पनि आफ्ना बच्चाबच्चीलाई यही देशमा राख्न सकेन। पैसा देखियो तर घरव्यवहारमा धेरै परिवर्तन आयो,’ उनी भन्छन्।

अधिकारीका विचारमा चाडपर्व रमाइलो गर्ने अवसर मात्र होइनन्, नयाँ पुस्तालाई आशीर्वाद, आत्मीयता, सहयोग र सामाजिक उत्तरदायित्व सिकाउने माध्यम पनि हुन्। बालबालिकाले चाडपर्वको अर्थ र त्यससँग जोडिएका संस्कार बुझ्न सके मात्र परम्पराको वास्तविक महत्त्व अर्को पुस्तासम्म पुग्न सक्छ।

विद्यालयका संस्थापक प्रधानाध्यापकसमेत रहेका अधिकारी दसैँ बिदालाई बालबालिकाले परिवारसँग समय बिताउने र जीवनोपयोगी सीप सिक्ने अवसर बनाउनुपर्ने बताउँछन्। उनको सुझावमा विद्यालयले बिदामा बालबालिकालाई गृहकार्यको बोझ दिनुभन्दा घरायसी काममा सहभागी हुन र परिवारका सदस्यसँग घुलमिल हुन प्रोत्साहित गर्नुपर्छ।

बालबालिकाले पढाइसँगै घरको जिम्मेवारी बहन गर्न, श्रमको सम्मान गर्न र परिवारका सदस्यको दुःखसुख बुझ्न सिक्नुपर्ने उनको भनाइ छ।

‘मैले मिटिङमा के भनेँ भने अहिले बच्चाबच्चीलाई होमवर्क नदेऊ, लेख्न नलाऊ, पढ्न नलाऊ। अभिभावकलाई फोन गरेर भनिदिनुहोस्, अहिले बच्चाबच्चीलाई घरका कामहरू गर्न लगाउनुहोस्,’ उनी भन्छन्।

बिहान उठ्ने, आफ्नो ओछ्यान मिलाउने, घर सफा गर्ने, आमाबुवासँगै खाना पकाउने, आफ्ना कपडा धुने र विद्यालयको पोसाक आफैँ मिलाएर राख्नेजस्ता काम बालबालिकाका लागि उपयोगी हुने उनको सुझाव छ। यस्ता कामले उनीहरूलाई आत्मनिर्भर बनाउनुका साथै श्रम र जिम्मेवारीको महत्त्व बुझाउन मद्दत गर्ने उनको विश्वास छ।

‘सीप सिकाउन प्रयत्न गर्नुस्। अहिले १५–१६ वर्षभन्दा मुनिका बच्चाबच्चीलाई घरका कामहरू, आमाबुबाको दुःख बसेर गफ गर्नुहोस्, यसरी केटाकेटीमा खाइन्थ्यो भनेर सिकाउनुहोस्। अहिले नै सुनाउनुभयो भने तपाईंका बच्चाले सुन्छन्, अब पाँच वर्षपछि सुनाउनुभयो भने तपाईंका बच्चाबच्चीले सुन्दैनन्,’ अधिकारी भन्छन्।

उनको भनाइमा दसैँजस्ता चाडपर्व नयाँ पुस्तालाई पारिवारिक सम्बन्ध, सामाजिक संस्कार र जीवनका व्यावहारिक पक्ष सिकाउने महत्त्वपूर्ण अवसर हुन्। त्यसैले चाडपर्वमा खर्च र तामझामलाई प्राथमिकता दिनुभन्दा परिवारसँग समय बिताउने, पुराना पुस्ताका अनुभव सुन्ने र अरूको दुःखमा साथ दिने संस्कार विकास गर्न आवश्यक छ।

प्रकाशित: ३१ असोज २०८३ १३:२४ | Saturday, October 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast