भूमिगत नेताहरूलाई चिया खुवाउने रुक्मिणी बनिन् राष्ट्रियसभा सदस्य

विवेक विवश रेग्मी ११ माघ २०८० १९:५४
172
SHARES
भूमिगत नेताहरूलाई चिया खुवाउने रुक्मिणी बनिन् राष्ट्रियसभा सदस्य

इटहरी- कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा विजयी भएकी रुक्मिणी कोइराला इटहरी-२ निवासी हुन्। उनी एमालेको तर्फबाट राष्ट्रियसभा निर्वाचनमा माओवादीकी चम्पादेवी कार्कीलाई पराजित गर्दै निर्वाचित भएकी हुन्। भूमिगत गतिविधिबाट राजीतिमा सक्रिय बनेकी कोइराला २०४६ सालपछि राजनीतिमा उदाएकी नेत्री हुन्।

नेकपा एमालेका त्यागी नेता स्व. ओम कोइरालाकी बुहारी (भाइकी श्रीमती) उनी घरको बुहारीका रूपमा काम गर्थिन्। त्यसबेला कोइराला परिवारमा मदन भण्डारीसहितका एमाले नेताहरू आउँथे। भूमिगत गतिविधि पनि उनको घरबाटै सञ्चालन हुन्थ्यो। त्यसैबेलादेखि पार्टीका नेताहरूसँग चिरपरिचित रहेकी उनले ०४६ सालबाट सक्रिय रूपमा राजनीतिमा होमिइन्। उनी यसअघि पार्टीको जिल्ला, प्रदेश सदस्य हुँदै हाल अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य छिन्।

इटहरी-२ का वडाध्यक्षसमेत रहेका उनका देवर माधव कोइरालाका अनुसार पार्टीमा निरन्तरता र सक्रियताकै कारण आज उनी राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन्। ‘भाउजूले सानै उमेरमा दाइसँग बिहे गर्नुभएको हो। दाइ १० कक्षामा पढ्नुहुन्थ्यो। बिहे भएर आएको कुरा मलाई थाहा नै छैन,’ कोइरालाले हिमाल प्रेससँग भने, ‘जेठा दाइ (ओम कोइराला) पहिलादेखि नै राजनीतिमा लाग्नुभयो। यसै क्रममा हाम्रो घरबाट भूमिगत गतिविधि पनि हुन्थ्यो। हाम्रोमा आएका नेताहरूलाई भाउजूले चिया पकाएर दिने गर्नुहुन्थ्यो। त्यही क्रममा नेताहरूसँग पनि राम्रो सम्बन्ध भयो।’

नेताहरू आउजाउ भइरहने र सोही प्रभावका कारण उनी पनि पार्टीको सदस्य हुँदै हाल राष्ट्रियसभामा निर्वाचित भएकी छन्। नेताहरूसँगको घुलमिलका कारण पार्टी राजनीतिमा सक्रिय हुँदै उनी निरन्तर योगदान गर्दै गइन्। फलस्वरूप २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा उनले इटहरी वडा नं. २ बाट महिला सदस्यमा निर्वाचित भइन्। महिला सदस्यमा निर्वाचित भएर जनसेवामा खटिएकी उनी पछि स्वयंसेवकसमेत बनिन्।

उनी इटहरी-२ मा स्वयंसेवक थिइन्। केही समयअघि मात्रै उनले सो पदबाट राजीनामा दिएकी हुन्। दुई छोरा र दुई छोरीकी आमा रुक्मिणीको निरन्तरता नै सफलताको सुत्र रहेको जानकारहरू बताउँछन्।

‘भाउजू यो बीचको समयमा निकै बिरामी पनि हुनुभयो। तर बिरामी भए पनि पार्टीमा निरन्तर लाग्नुभयो। पार्टीले जे जिम्मा दिन्छ त्यसलाई सक्रियतापूर्वक निर्वाह गर्नुभयो,’ वडाध्यक्ष कोइरालाले भने, ‘सोही निरन्तरताकै कारण आज सफलता मिलेको छ।’

पारिवारिक पृष्ठभूमि नै राजनीति

कोइरालाको पारिवारिक पृष्ठभूमि पनि राजनीति नै हो। सानै उमेरमा बिहे गरेर आए पनि घरको वातावरणले उनलाई राजनीतिमा सक्रियता हुन प्रेरित गर्‍यो। खास गरी जेठाजु ओम कोइराला राजनीतिमा सक्रिय थिए। मजदुर नेतासमेत भनेर चिनिने कोइरालालाई त्यागी नेताका रूपमा समेत चिनिन्छ।

२०३९ सालमा जननेता तत्कालीन एमाले नेता मदन भण्डारीले जोडबल गर्दा पनि राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचनमा जनपक्षीय उम्मेदवार नहुनु र सुनसरी पार्टीकै पनि प्रथम नेतृत्व गर्ने सवालमा आँट नगरेको कोइरालामाथि आरोपसमेत लाग्ने गर्थ्यो।

एक इमान्दार नेताका रूपमा चिनने ओमको २०७८ असोजमा निधन भइसकेको छ। यद्यपि ओमका भाइ माधव कोइराला अहिले इटहरी उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष छन्। गत स्थानीय तहको निर्वाचनमा उनी वडाध्यक्ष निर्वाचित भएका हुन्। पारिवारिक पृष्ठभूमि सबै राजनीतिक नै रहँदा रुक्मिणीलाई पनि राजनीतिमा होमिन सहज भयो।

राष्ट्रियसभा निर्वाचनका लागि एमाले केन्द्रीय कमिटिबाटै उनको नाम सिफारिस भएको एमाले नेताहरू बताउँछन्। ‘उहाँको नाम पार्टी केन्द्रीय कमिटिबाटै सिफारिस भएको हो,’ एमाले सुनसरीका एक नेताले भने, ‘निरन्तर र अनवरत रूपमा पार्टीमै योगदान गर्नुभएका उहाँजस्ता मानिस राष्ट्रियसभामा जानु हाम्रो लागि खुसीको कुरा हो।’

प्रकाशित: ११ माघ २०८० १९:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =