राष्ट्रियसभा चुनाव

दौडाहामा सिटौला, अन्योलमा एमाले

विवेक विवश रेग्मी ६ माघ २०८० १७:३५
172
SHARES
दौडाहामा सिटौला, अन्योलमा एमाले

इटहरी– ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि कोशी प्रदेशमा नेताहरू जिल्ला दौडमा छन्। राष्ट्रियसभाको निर्वाचनका लागि गत पुस २३ गते उम्मेदवारी दर्ता गरेपछि नेताहरू भोट माग्न निस्किएका हुन्।

कोशी प्रदेशमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा एमालेकी रुक्मिणी कोइरालाबीच मुख्य प्रतिष्पर्धा हुने आकलन छ।

सिटौलाले निर्वाचन केन्द्रित गतिविधि गरिरहेका छन्। हालसम्म सुनसरी, मोरङ, झापा, उदयपुर, इलाम, पाँचथर, धनकुटा, भोजपुर, खोटाङ र ओखलढुंगामा सिटौला आफैँ पुगेर मत मागेका छन्।

एमाले उम्मेदवार कोइरालाको पनि त्यति सक्रियता देखिँदैन। चुनावका लागि विशेष तयारी नगरेको बताउँछन् एमाले नेता रेवती भण्डारी। ‘हाम्रो त्यस्तो विशेष तयारी केही छैन। चिनेजानेका साथीभाइलाई अनुरोध गर्ने हो,’ कोशी प्रदेशसभामा एमालेका प्रमुख सचेतकसमेत रहेका नेता भण्डारीले भने, ‘हामी पैसा खर्च गर्ने पक्षमा छैनौँ। छुट्टै विशेष तयारी केही छैन।’

उनले राप्रपा मिल्ने कुरामा भने केन्द्रीय कमिटीमै छलफल भइरहेको बताए। उनले भने, ‘राप्रपाबारे केन्द्रीय तहमै छलफल भइरहेको भए पनि टुंगिएको छैन।’ उनले कोशी प्रदेशमा एमालेलाई एक हजार मत अपुग रहेको बताए। ‘हामीलाई एक हजार मतको अपुग छ। राप्रपा मिसिँदा पाँच सय मतको अपुग देखिन्छ। आफ्नो तर्फबाट सबैलाई मत माग्ने कामचाहिँ भइरहेको छ।’

चुनावमा माओवादी केन्द्रकी चम्पादेवी कार्की र एमालेका पर्शुराम अधिकारीबीच प्रतिस्पर्धा हुँदैछ। राप्रपाका उद्धव पौडेलले पुरुष अन्यमा उम्मेदवारी दिएका छन्।

एमाले र राप्रपा एक भएर निर्वाचनमा होमिएको अवस्थामा भने एमालेले राप्रपाका उद्धव पौडेललाई सहयोग गर्ने र राप्रपाले एमालेकी उम्मेदवार रुक्मिणी कोइरालालाई सहयोग गर्ने सम्भावना छ। एमाले र राप्रपा एक भए पनि गठबन्धन एक भएको अवस्थामा मतभार गठबन्धनकै पक्षमा छ।

सिटौलालाई कांग्रेसभित्रैबाट असहयोगको शंका

कांग्रेसका सिटौलाको सहज व्यवस्थापनका लागि राष्ट्रियसभामा उम्मेदवार उठाएको र जित्ने निश्चित रहेको कांग्रेस नेताहरूको विश्लेषण छ। नेताहरूले भनेजस्तो सिटौलालाई सहजै भने देखिँदैन। कांग्रेसमा देउवा समूहका सिटौलालाई कोइराला समूह र खासगरी महामन्त्री विश्वप्रकाश शर्माको समूहले ‘असहयोग’ गर्नसक्ने कतिपयको आकलन छ। यद्यपि यसलाई स्वीकार गर्ने पक्षमा छैनन्, कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापा।

उनले पार्टी र गठबन्धन एक रहेको दाबी गरे। ‘कोशी प्रदेशको सवालमा गठबन्धन पनि एक छ। पार्टीका नेताहरू पनि एक हुनुहुन्छ र पार्टी पनि एक छ,’ थापाले भने, ‘यसकारण पनि मतभारले नै सिटौलाले जित्ने देखाइरहेको छ।’

उनले मतभार गठबन्धनकै पक्षमा रहेका कारण जित्ने निश्चित रहेको दाबी गरे। गठबन्धनभित्र कुनै समस्या नरहेको र बाहिर जसरी चर्चा भइरहेको छ त्यसमा आशंका नगर्न उनको आग्रह छ।

नेताहरूको व्यवस्थापन गर्ने थलो राष्ट्रियसभा

संघीयताको बहसबारे पनि छलफल भइरहेको र ‘संघीयता आवश्यकता नरहेको’ बहस भइरहँदा राष्ट्रियसभा निर्वाचनमा नेताहरू व्यवस्थापन मात्रै गर्ने थलो भएको टिप्पणी गर्छन्, विश्लेषकसमेत रहेका प्रा.डा. भीमप्रसाद खतिवडा।

‘नेताहरूको व्यवस्थापनका रूपमा मात्रै राष्ट्रियसभालाई परिभाषित गर्नु त्यति राम्रो होइन, तर यो दलीय व्यवस्थामा दलहरूले नेता मात्रै व्यवस्था गर्ने कुरा जनअपेक्षाभन्दा विपरीत छ,’ खतिवडा भन्छन्, ‘समग्रमा संघीयताको स्वरूपमाथि प्रश्न उठ्ने काम भइरहेको छ। यहाँ विज्ञ को हो भन्ने पनि प्रश्न उठ्न सक्छ।’

उनले जाति, भूगोलमा रहेका विभिन्न विज्ञहरूलाई जुन सेक्टर तोकिएको छ सोहीअनुसार राष्ट्रियसभामा लैजानुपर्ने भए पनि दलतन्त्र मात्रै हाबी भएको बताए।

‘नेता र दलको झोला बोक्ने मात्रै विज्ञ नहुन सक्छन्। हरेक विषय क्षेत्रका विज्ञलाई लैजाने सभा नै राष्ट्रियसभा हो। संविधानले व्यवस्था गरेअनुसार जाति, भूगोलबाट प्रतिनिधित्व हुनेगरी लैजानुपर्छ,’ खतिवडाको तर्क छ, ‘विज्ञताको छनोट पनि देखिएन। यो व्यवस्थामा सधैँ निराशा मात्रै रहिरहेको छ।’

हरेक क्षेत्रमा दलतन्त्र हाबी हुँदा देश आलोचनाको तारो बनिरहेको खतिवडा बताउँछन्। दलका हर्ताकर्ता नेताहरूले अहिलेको पद्धति नै कुरूप बनाउन लागिपरेको उनले बताए। उनले भने, ‘सधैँ अभ्यास मात्रै गरिरहने ढंगका कुरा आइरहँदा जनतामा नैराश्य छाएको छ। जनअपेक्षा सम्बोधन भइरहेको छैन। जनतालाई झुक्याउने र नेताहरूको व्यवस्थापन मात्रै भयो भन्ने परिवेशमा गम्भीर हुनैपर्छ।’

विज्ञताका लागि दलहरूले स्थायी सभामा आफ्ना कार्यकर्ता मात्रै व्यवस्थापन गर्नाले चिन्तनशील मानिसको समूहले राष्ट्रिय समस्यामा समाधान निकाल्न सहभागी हुन नपाइरहेको उनले बताए।

आगामी २० फागुनमा वर्तमान राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाको कार्यकाल सकिँदैछ। कार्यकाल सकिन ३५ दिन बाँकी रहँदै राष्ट्रियसभाको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

निर्वाचनमा प्रदेशसभा सदस्य र पालिकाका प्रमुख-उपप्रमुखले मतदान गर्न पाउने व्यवस्था छ। सोहीअनुरूप उम्मेदवारहरू मतदाताकहाँ पुगिरहेका छन्।

राष्ट्रियसभाका लागि कोशी प्रदेशका ९३ सांसद र प्रदेशभर रहेका एक सय ३७ पालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउने संवैधानिक व्यवस्था छ। कोशीमा सत्ता गठबन्धनसँग ५ हजार ४३६ मत छ।

कांग्रेसको ३ हजार ६ सय ८४, माओवादी केन्द्रको १ हजार २ सय ७८, नेकपा एकीकृत समाजवादीको ३ सय ४५ र जसपाको १ सय २९ मतभार छ। एमालेसँग ४ हजार २ सय ४८ मतभार छ। सत्ता गठबन्धन र एमालेसँग पनि नरहेको राप्रपासँग ३ सय ९४ मतभार छ । यस्तै स्वतन्त्रहरूको ५७ मत छ।

प्रकाशित: ६ माघ २०८० १७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =