नयाँ संविधानपछि सिटौलाको संसद् प्रवेश, अबको बाटो राष्ट्रियसभा अध्यक्ष

विवेक विवश रेग्मी ११ माघ २०८० १८:४६
288
SHARES
नयाँ संविधानपछि सिटौलाको संसद् प्रवेश, अबको बाटो राष्ट्रियसभा अध्यक्ष

इटहरी- बिहीबार दिउँसो कृष्णप्रसाद सिटौला विराटनगरस्थित राष्ट्रियसभा निर्वाचन भइरहेको एक छेउमा उभिएका थिए। साधारण पोसाकमा रहेका उनी मुस्कुराउँदै मतदानस्थलमा मत माग्न खटिइरहे।

खास गरी उनका समकालीनहरू (राजनीतिबाहेकका) यतिबेला अवकाशप्राप्त जीनव बाँचिरहेका छन्। उमेरले ७७ वर्ष पुगिसकेका सिटौला पनि यसबेला अवकाशप्राप्त जीवन बाँच्नुपर्ने हो। तर देशले नयाँ संविधान प्राप्त गरेपछि संसद् प्रवेश गर्नबाट वञ्चित भएका उनको संसद् प्रवेश गर्ने चाहना यसपालि पूरा भएको छ। संसद् प्रवेश मात्रै होइन, राष्ट्रियसभाको अध्यक्षकै रूपमा उनलाई हेरिएको छ।

बिहीबार भएको राष्ट्रियसभा निर्वाचनमा सिटौला निर्वाचित भएका छन्। उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव पौडेललाई पराजित गर्दै राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन्। अबको उनको बाटो राष्ट्रियसभा अध्यक्षको रहेको कांग्रेस नेताहरू बताउँछन्।

कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवाको निकट रहेका उनलाई डा. शेखर कोइराला-विश्वप्रकाश शर्मा समूहले असहयोग गर्नेसमेत शंका थियो। तर डा. कोइरालासहित पार्टीका महामन्त्री शर्मा र अर्का महामन्त्री गगन थापासमेत सिटौलालाई खुलेरै सहयोग गरे। निर्वाचनताका डा. कोइराला निवासमा महामन्त्रीद्वयको उपस्थिति भयो। त्यसो त सत्ता गठबन्धनले पनि सिटौलालाई सहयोग गरेका कारण उनको जित निश्चित भयो।

निर्वाचनमा सिटौलाले कुल ५ हजार २९२ मत प्राप्त गर्दै निर्वाचित भए भने उनका निकटतम् प्रतिस्पर्धी राप्रपाका उद्धव पौडेलले ४ हजार ५६२ मत प्राप्त गरे। यस्तै एमालेका पर्शुराम अधिकारीले १४८ मत प्राप्त गरे। कोशीमा एमाले र राप्रपाबीच तालमेल भएको थियो। एमालेकी रुक्मिणी कोइरालालाई राप्रपाले सघाउने र राप्रपाका उद्धव पौडेललाई सघाउने गरी मौन अवधि सुरु हुनुअघि सहमति भएको थियो। फागुन २० गते राष्ट्रियसभा अध्यक्षसहित २० सदस्यको पदावधि सकिँदैछ। रिक्त पद पूर्तिका लागि २० मध्ये १९ पद टुंगो लगाउन निर्वाचन भएको हो।

यस्तो छ उनको राजनीतिक यात्रा

अघिल्लो मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा सिटौला राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित बने। झापा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा यसअघि पराजित बने पनि उनलाई कांग्रेस सभापति शेरबहादुर देउवाको इच्छाअनुरूप नै राष्ट्रियसभाको उम्मेदवारी बनाइएको बताइन्छ।

गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री रहँदा गृहमन्त्री भएका उनी २०४८ सालयता सातपटक निर्वाचन लडेका छन्। निर्वाचनताका उनको परिणाम भने मिश्रित छ। उनी प्रत्येकपटकको निर्वाचनमा उम्मेदवार बनेकै छन्। तर जित भने कमै मात्र भएको छ। विजय र पराजय बराबर भोगेका सिटौला राजनीतिमा भने अनवरत रहे।

२०४८ सालमा झापाबाट सिटौला एमाले नेता द्रोणाचार्य क्षेत्रीसँग पराजित बने। २०५१ सालमा भएको उपनिर्वाचन उनी एमालेका उम्मेदवार लीला उदासीलाई पराजित गर्दै विजयी बने।

यसै गरी २०५६ मा भएको निर्वाचनमा एमालेका पुष्प पोखरेललाई पराजित गर्दै दोस्रोपटक उनी निर्वाचनमा विजयी भए। २०५६ सालपछि सिटौलाले नेपाली राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे। १० वर्षे जनयुद्धमा होमिएको माओवादीसँगको शान्ति सम्झौतामा कुशल भूमिका निर्वाह गरेका सिटौलालाई गणतन्त्र प्राप्तिका योद्धासमेत भनेर चिनिन्छ।

यससँगै पहिलो संविधानसभा निर्वाचन (२०६४) ताका गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको बखत सिटौला गृहमन्त्री भए। गणतन्त्र घोषणापछि भएको पहिलो संविधानसभा निर्वाचनमा उनी माओवादी नेता पूर्णसिंह राजवंशीसँग पराजित भए। तर राजनीतिमै उनको जीवन केन्द्रित भयो। लामो समयको संघर्षपछि राजनीतिमै अभ्यस्त भइसकेका उनी पटकपटक विजय र पराजित भइरहने क्रम नरोकिए पनि निर्वाचनमा भने होमिइरहे।

यसैबीच दोस्रो संविधानसभा निर्वाचन (२०७०) मा सिटौला विजयी भए। उनले त्यसबेला राप्रपाका राजेन्द्र लिङ्देनलाई पराजित गर्दै विजयी बनेका थिए। तर त्यसपछि भएका २०७४ र २०७९ को निर्वाचनमा भने झापा क्षेत्र नं. ३ बाट सिटौला उनै लिङ्देनसँग पराजित बनेका हुन्। उनी दुवैपटक राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित बने। लिङ्देनलाई २०७४ सालमा वाम गठबन्धन र २०७९ मा नेकपा एमालेसहित जसपाकोसमेत समर्थन थियो।

सिटौला समूह नेपाली कांग्रेसको १३ औँ महाधिवेशनबाट तेस्रो धारका रूपमा उदाएको थियो। बिस्तारै सिटौला समूह सभापति देउवा नेतृत्वको समूहको उपसमूहजस्तो बन्न पुग्यो। सोही कारण १४ औँ महाधिवेशनमा सिटौला समूहले महामन्त्रीको भाग पाएको थियो। १४औँ महाधिवेशअघि गगनकुमार थापाले सिटौला समूहबाट स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएका थिए। तर पछि थापाले सिटौला समूह छाडे। १४ औँ महाधिवेशनमा सिटौलाले महामन्त्रीमा अघि सारेका प्रदीप पौडेल पराजित भएपछि त्यो समूहको अस्तित्व पार्टीमा निकै कमजोर भएको थियो।

उमेरले ७७ वर्ष पुगिसकेका सिटौला राजनीतिमा अझै थाकेका छैनन्। त्यसैले उनी राष्ट्रियसभा सदस्य हुँदै अध्यक्ष बन्ने तयारीमा छन्। उनलाई राष्ट्रियसभाको अध्यक्ष बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वचन दिइसकेको उनी निकटहरू बताउँछन्। यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पनि सकारात्मक छन्।

वार्ता र संवादबाट मात्रै समस्या समाधान हुने सोच राख्ने सिटौला संविधान मस्यौदा समितिको सभापतिसमेत भए। वार्ता र संवादबाट अन्तरपार्टी सम्बन्ध सुधार गर्नका निम्ति पनि सिटौला सिपालु मानिन्छन्।

पञ्चायतकालमा नेपाली कांग्रेस झापाको उपसभापति भएका सिटौला २०४६ को संयुक्त जनआन्दोलनको बेला कमान्डर नै बने। तत्कालीन पार्टी सभापति रामबाबु प्रसाईँ पक्राउ परेपछि उनी कमान्डर बनेका थिए। त्यसपछि कांग्रेस झापाको दुईपटकसम्म पार्टी सभापति बने। २०४८ देखि ५६ सम्म जिल्ला सभापति बनेका उनी पछि केन्द्रीय सदस्य हुँदै महामन्त्रीसमेत बने।

२०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएर फोनदेखि सबै कुरा प्रतिबन्ध लगाए। सबै सम्पर्कविहीन र अन्धारजस्तै हुने भएपछि त्यसबेलाका कांग्रेस जिल्ला सचिव उद्धव थापालगायतका नेताहरू पक्राउ परे। त्यसपछि झापामा बस्न सक्ने अवस्था नभएपछि भारतमा तीन महिना बसेर गणतन्त्र स्थापनाका लागि काम गरेको बताइन्छ।

‘गहिरो अध्ययन गरेर समस्यालाई सहजतापूर्वक समन्वयकारी सुल्झाउन सक्ने क्षमतावान नेता हो, कुशल नेतृत्वकर्ता रहनुभएका उहाँ सरल ढंगबाटै समस्या सुल्झाउन सक्ने नेताका रूपमा चिनिनुहुन्छ,’ कांग्रेस निकट एक नेताले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 9 =