सार्वजनिक निकायले जनताले मागेको बेला सूचना दिनुपर्छ : सञ्चारमन्त्री शर्मा

हिमाल प्रेस २२ वैशाख २०८१ १२:५५
2
SHARE
सार्वजनिक निकायले जनताले मागेको बेला सूचना दिनुपर्छ : सञ्चारमन्त्री शर्मा

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका सूचना प्रवाहलाई प्रभावकारी बनाइ सूचनाको हकलाई नागरिकको दायित्वका रूपमा स्थापित गर्न आवश्यक रहेको बताएका छिन्।

राष्ट्रिय सूचना आयोगको १७औँ स्थापना दिवसका अवसरमा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा मन्त्री शर्माले सूचनाको हक सार्वजनिक निकायले चाहेका बेला दिने ऐच्छिक विषय नभई नागरिकले मागेका बेला दिनैपर्ने दायित्व भएको बताइन्।

सार्वजनिक सरोकारका क्षेत्रमा नागरिकको सहज पहुँच स्थापित गरी लोकतन्त्र बलियो र दिगो शान्ति कायम गर्न सूचनाको हकको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उनको भनाइ थियो।

‘संविधानको मौलिक हकको कार्यान्वयन गर्न सूचनाको हकको प्रचलनलाई बढाएर लैजानुपर्नेछ। यसमा सरकार दृढ र प्रतिबद्ध छ। हरेक सरकारी निकायमा जनताले मागेका सार्वजनिक सरोकारका सूचना प्रवाह गर्न सूचना अधिकारीको व्यवस्था गरिएको छ’, मन्त्री शर्माले भनिन्, ‘सार्वजनिक सूचना सञ्चारमाध्यमबाट प्रवाह गर्न प्रवक्ताको व्यवस्था गरिएको छ। नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलेसमेत यो अभ्यास गरिरहेका छन्। नागरिकले सूचना माग्न र सरकारी निकायको कार्यसम्पादन प्रभावकारी बनाउनकै लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत हेलो सरकार सञ्चालनमा पनि ल्याएको छ।’

मन्त्री शर्माले सरकारी निकायले पारदर्शीता र सुशासनका लागि कतिपय सूचना स्वतः सार्वजनिक गर्नुपर्ने र कतिपय सूचना मागेपछि दिनुपर्ने भएकाले सरकारको मुख्य जोड सुशासन र सेवा प्रवाहलाई सरलीकरण गर्नेतिर केन्द्रित रहेको जानकारी दिइन्।

प्रकाशित: २२ वैशाख २०८१ १२:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =