व्यक्ति हत्याको आरोपित पञ्चा सिंहलाई फेरि ‘सत्ताको संरक्षण’

हिमाल प्रेस १० माघ २०८० १९:०४
22
SHARES
व्यक्ति हत्याको आरोपित पञ्चा सिंहलाई फेरि ‘सत्ताको संरक्षण’ तस्बिरः पञ्चा सिंहको फेसबुकबाट।

काठमाडौँ- व्यक्ति हत्याको आरोप लागेकी अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहलाई फेरि सत्ताको संरक्षण मिल्ने देखिएको छ। १५ वर्षअघि भएको एउटा हत्याको घटनामा संलग्न रहेको जाहेरीपछि गत शुक्रबार उनलाई पक्राउ पुर्जी जारी भएको थियो। सत्ताको नेतृत्व गरिरहेको माओवादी विद्यार्थी संगठनकी अध्यक्ष उनलाई प्रहरीले पक्राउ गरेको छैन।

यसअघि पनि राजनीतिक संरक्षण प्राप्त भएकै कारण प्रहरीले पक्राउ नगरेको आरोप पीडित परिवारजनको छ। सिंहमाथि २०६५ फागुन २६ मा सुर्खेतस्थित वीरेन्द्रनगरको जन माध्यमिक विद्यालयमा राजबहादुर मल्लको हत्याको आरोपमा दोस्रोपटक पक्राउ पुर्जी जारी भएको छ।

राजबहादुर मल्लका बुवा नवराज मल्लले दिएको जाहेरीपत्रपछि सुर्खेत प्रहरीले कालीकोटको महावै गाउँपालिकाकी अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंह, सोही ठाउँका ‘टाइगर’भनिने पदमबहादुर रावत, ‘गुराँस’ भनिने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालीकोटकै खाडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’भनिने अलि कार्कीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। यसअघि पनि उनीहरूलाई पक्राउ पुर्जी जारी गरिएको थियो।

घटनालगत्तै मृतकका काकाले जाहेरी दिएका थिए तर त्यति बेला पनि उनीहरू पक्राउ परेका थिइनन्। यसअघि घटनामा आफ्नो संलग्नता नभएको बताउँदै आएकी सिंह पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन छिन्।

१५ वर्षअघि घटनापछि पञ्चासहितलाई प्रहरीले फरारको सूचीमा राखेको थियो। उनीचाहिँ विद्यार्थी राजनीतिमा सक्रिय हुँदै आएकी छन्। राजबहादुरका एक आफन्तका अनुसार आरोपितहरू केही भारत लागेका छन्।

१७ वर्षका राजबहादुर सोही विद्यालयमा अध्ययनरत  थिए। माओवादी निकट विद्यार्थीले भारतबाट नक्कली सर्टिफिकेट बनाएर विद्यालयमा भर्ना भएका थिए। मल्लका एक सहकर्मीका अनुसार उनले त्यसविरुद्ध आवाज उठाए। सोही कारण उनी अखिल क्रान्तिकारीको तारो बनेका थिए।

मृतकका बाबुले दिएको जाहेरीमा माओवादी निकट मानिने नेताहरूले राजकुमारलाई घेराबन्दी गरी खुकुरी प्रहार गरेको उल्लेख छ। उनलाई तत्कालीन माओवादीको जनमुक्ति सेनाको छैटौँ डिभिजनमा कार्यरत लडाकु र माओवादी निकटको अखिल क्रान्तिकारीका कार्यकर्ताले खुकुरी प्रहार गरेका थिए। राजबहादुरको २०६५ फागुन २६ गते मृत्यु भएको थियो। जाहेरीमा नक्कली सर्टिफिकेट ल्याएको विरोधमा आवाज उठाएकै निहुँमा राजबहादुरको हत्या गरेको कुरा उल्लेख छ।

आरोपित सिंहलाई पनि राजनीतिक संरक्षण मिल्दै आएको छ। त्यति बेला अखिल क्रान्तिकारीको सचिवालय सदस्य रहेकी पञ्चा संगठनको केन्द्रीय सचिव, उपाध्यक्ष हुँदै अध्यक्ष बनेकी छन्। अखिल क्रान्तिकारीको २० औँ राष्ट्रिय सम्मेलनबाट उपाध्यक्ष बनेकी उनी २१ औँ राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय अध्यक्ष बनेकी हुन्। साथै उनी माओवादी केन्द्रको केन्द्रीय सदस्य छन्। राष्ट्रियसभामा समेत उनको नाम आएको थियो।  सिंह उपमहासचिव जनार्दन शर्मा निकट मानिन्छिन्।

पक्राउ पुर्जी जारीपछि प्रहरी निरीक्षक कृष्ण खड्काको नेतृत्वमा अनुसन्धान टोली गठन भएको छ। ‘घटनामाथि छानबिन हुँदैछ। विस्तृत विवरण आएपछि थाहा भइहाल्छ,’ खड्काले भने, ‘पुरानो घटना हो। डिटेलमा जानकारी नलिई के हो थाहा हुन्न।’ घटना अनुसन्धान गर्न भन्दै यसअघि प्रहरीले ३१ जनालाई अनुसन्धान अधिकृत तोकिसकेको थियो।

वरिष्ठ मानव अधिकारकर्मी चरण प्रसाई पुष्पकमल दाहाल’प्रचण्ड’ नेतृत्वको सरकारले सत्ताको आडमा व्यक्ति हत्यामा आरोपित  व्यक्तिलाई संरक्षण गर्न खोज्नु गलत रहेको बताउँछन्। उनी भन्छन्, ‘यसले प्रचण्ड नेतृत्वको सरकारमाथिको विश्वसनीयता झन् कमजोर हुँदै जानेछ।’

प्रधानमन्त्री प्रचण्डले भाषणमा सुशासन गर्ने दाबी गरे पनि व्यवहारमा उल्टो यात्रामा हिँडिरहेको टिप्पणी प्रसाईको छ। ‘व्यक्ति हत्याजस्तो गम्भीर आरोप लागेका व्यक्तिलाई संरक्षण गर्न खोजेर सरकारले दण्डहीनता मात्रै बढाउन खोजेको छैन, पीडितलाई न्याय दिलाउने कानुनी प्रक्रियामै अवरोध गर्न खोजेको देखिन्छ। यो गलत हो।’

‘मलाई यसबारे थाहा छैन’

ज्यान मुद्दाको आरोप लागे पनि सिंहले जानकारी नभएको दाबी गरेकी छन्। समाचारमार्फत यो घटना सार्वजनिक भएपछि पञ्चाले सामाजिक सञ्जालमा आफ्नो राजनीति धुमिल बनाउन षड्यन्त्र गरिएको आरोप लगाइन्। ‘हामीले प्रशासनलाई दबाब दिएको भन्ने कुरा आएको छ तर दबाब दिएको छैन,’ उनले भनेकी छन्। सिंहले घटनाको छानबिनमा सहयोग गर्ने बताएकी छन्। ‘राजनीति जीवन सुरु भएपछि हरेक चरणमा षड्यन्त्रपूर्ण रूपमा कथाहरू तयार गर्ने र आरोपित गर्ने दुश्प्रयत्न नभएका होइनन्। यो घटना आरोपहरुको उत्कर्षका रूपमा रहेको बुझेको छु र यहीअनुरूप सामना गर्न पनि तयार रहेको जानकारी गराउँछु,’ सिंहले भनेकी छन्।

प्रकाशित: १० माघ २०८० १९:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =