१० हजार भारुमा महिला बिक्री !

हिमाल प्रेस ४ माघ २०८० १७:५५
40
SHARES
१० हजार भारुमा महिला बिक्री !

काठमाडौँ- मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी ३२ वर्षपछि प्रहरीको फन्दामा परेका छन्। धादिङ नेत्रावती डबजोङ गाउँपालिका-२ का ५७ वर्षीय वीरबहादुर तामाङलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको हो।

तामाङले एक महिलालाई २०४७ साल चैत ३ गते ब्रुनाई लैजाने भन्दै काठमाडौँबाट काँकरभिट्टा हुँदै पश्चिम बंगालको बागडोग्रा पुर्‍याएका थिए। पीडित महिलाले प्रहरीलाई दिएको जानकारी अनुसार रोजगारीका लागि उनका श्रीमान् ब्रुनाईमा हुँदा ब्रुनाई नै लगिदिने भन्दै तामाङले झुक्याएका थिए।

तामाङले ‘तिम्रो श्रीमान्‌ले तिम्लाई पनि ब्रुनाई ल्याइदिनु भनेर मलाई चिठ्ठी पठाएको छ’ भन्दै झुक्याएका थिए। पत्रमार्फतमात्रै पीडित महिला र उनका श्रीमान्‌को कुराकानी हुने गरेको थाहा पाएका तामाङले झुक्याउन नक्कली पत्र खडा गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

ब्रुनाई लैजान भनेर बागडोग्रा पुर्‍याएर भारतीय नागरिकलाई बेचेर उनी नेपाल फर्किएको पाइएको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोको प्रारम्भिक अनुसन्धानमा तामाङले ती महिलालाई १० हजार भारतीय रुपैयाँ (नेपाली १६ हजार रुपैयाँ)मा बेचेको पाइएको छ।

१६ हजार रुपैयाँमा बेचेर फरार भएका तामाङलाई प्रहरीले बुधबार ३२ वर्षपछि ललितपुर महानगरपालिका-१४ तिखेदेवलबाट पक्राउ गरेको छ। महिला बेचबिखन गर्नेहरूको गिरोह नै रहेको र ति गिरोहको खोजी भइरहेको प्रहरीको भनाइ छ। प्रहरीले पक्राउ परेका तामाङमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ।

बेचबिखनमा संलग्न भारतीय नागरिकले पीडितलाई रिक्सामा राखेर लैजाने क्रममा पीडित रिक्साबाट भागेकी थिइन्। उनी भागेर नजिकै रहेको भारतीय प्रहरी चौकीमा पुगेकी थिइन्। भारतीय प्रहरीले ती महिलालाई नेपाल प्रहरीसँग सम्पर्क गरी काकरभिट्टा ल्याएर बुझाएको थियो।

प्रकाशित: ४ माघ २०८० १७:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 10 =