परिवारलाई ढाँटेर रुसी सेनामा भर्ती भएका थिए बंकरमा बितेका सोनु

रमेश भारती २७ पुष २०८० १८:३६
52
SHARES
परिवारलाई ढाँटेर रुसी सेनामा भर्ती भएका थिए बंकरमा बितेका सोनु

काठमाडौँ-  प्युठान नगरपालिका-४ काठेवरका सोनु सुनारको रुस-युक्रेन युद्धमा  मृत्यु भएको छ। कतारबाटै गत असोजमा रुसी सेनामा भर्ती भएका सुनार डिसेम्बर ९ मा युक्रेनसँगको युद्धमा मारिएको खबर परिवारले दुई दिनअघि पाएका हुन्।

सुनार दुई वर्षअघि वैदेशिक रोजगारीमा कतार गएका थिए। उनी परिवारलाई ढाँटेर रुसी सेनामा भर्ती भएको बुबा बलबहादुरले बताए।

‘रुसी सेनामा भर्ती भएको दुई महिनाभित्रै छारोको मृत्यु भएको रहेछ। मृत्यु भएको एक महिनापछि मात्र खबर आयो’, बुबा कलबहादुर सुनारले हिमाल प्रेससँग भने, ‘खबर सुन्दा सपना जस्तो लागेको छ।’

कलबहादुरलाई छोरा मारिएको खबर युद्धमा घाइते भएका छिमेकी खगेश्वर थापाले दिएका हुन्।

‘मेरो छोरा र थापा सँगै थिए रे। मेरो छोरा विपक्षी सेनाले प्रहार गरेको बम पडकिएर बंकरमा बित्यो रे। थापाले आफूचाहिँ जस्तोतसो बाँचेँ भन्थ्यो।’ थापाले सोनुको शव पाउन कठिन रहेको बताएका छन्। थापालाई उधृत गर्दै कलबहादुरले भने, ‘शव त भेटिँदैन होला अंकल, कुशको शव बनाएर दहसंस्कार गर्नुहोला।’

बंकरमा बम खस्दा छोरासँगै अन्य तीन जना नेपालीको मृत्यु भएको खबर आएको जानकारी कलबहादुरले दिए। उनका अनुसार सोनु कार्यरत ब्यारेकमा युक्रेन सेनाले बम खसालेको थियो रे।

कलबहादुरले भने, ‘युक्रेनले बम खसालेको क्षेत्रमा दुई दिन त आगो बलिरहेको थियो भन्थ्यो खगेश्वरले।’ त्यसपछि त्यो ठाउँमा हिउँपहिरो गएको थापाले फोनमा बताएको उनले जानकारी दिए। शव आउँछ कि भनेर केही दिन पर्खने  उनी बताउँछन्।

सोनु वैदेशिक रोजगारीमा युरोप जान्छु भनेर रुसी सेनामा भर्ती हुन पुगेका रहेछन्। असोज अन्तिमदेखि उनी परिवारको सम्पर्कमा नआएको बुबा कलबहादुरले बताए।

‘छोरा रुसी सेनामा भर्ती हुन जाँदा नौ लाख रुपैयाँ नेपाली खर्च लागेको बुहारीलाई सुनाएको रहेछ। मलाई त एक महिनाअघि मात्र थाहा भएको हो’, उनले भने। सोनुको मृत्यु भएको खबर सुनेपछि परिवार शोकमा डुबेका छन्। उनका पत्नी पाँच वर्षका छोरा छन्। साथै परिवारमा दुई भाइ र एक बहिनी छन्।

भाइ पढाउने र बहिनीको बिहे गर्नका लागि पैसा कमाउन भनेर सोनु कतार गएको बुबा कलबहादुरले बताए। उनी भन्छन् ‘छोरीको विवाह यही वर्ष गर्ने कुरा थियो। छोरा नै कहाँ गयो कहाँ? शव मात्रै देख्न पाए पनि हुन्थ्यो।’

भारतमा पाँच वर्ष रोजगारी गरेर फर्किएका सोनु दुई वर्षअघि कतार गएका थिए।उनका बाबु कलबहादुर पनि भारतको महाराष्ट्रमा सुरक्षा गार्डको रोजगारी गर्दै आएका छन्। २० वर्षदेखि भारतमा सुरक्षा गार्डको काम गर्दै आएका उनी केही दिनका लागि घरबिदाका लागि आएको बताउँछन्। उनका अर्का छोरा रोजगारीका लागि भारतमा छन्।

सोनुका छिमेकी खगेश्वर थापा घाइते छन्। उनी रुसको कुनै अस्पतालमा उपचारत रहेको खबर पाएको प्युठान नगरपालिकाका प्रमुख विष्णु योगीले जानकारी दिए।
परराष्ट्र मन्त्रालयका अनुसार रुसी सेनामा कार्यरत १२ नेपालीको निधन भएको छ।

मस्कोस्थित नेपाली दूतावासका कर्मचारीले १ हजार ५ सयभन्दा बढी नेपाली रुसी सेनामा भर्ती भएको अनौपचारिक सूचना रहेको बताउँदै आएको छ। रुसी सेनामा भर्ती भएका करिब तीन सय नेपाली घाइते भएको र उनीहरुको उपचार भइरहेको दूतावासको अनुमान छ।

रुसी सेनामा भर्ती भई भागेर स्वदेश फर्किएका नेपालीका अनुसार रुसी सेनामा कम्तीमा दुई हजार नेपाली भर्ती भएका छन्।

नेपालले रूसी सेनामा कार्यरत नेपालीको अवस्थाबारे जानकारी दिन रुस सरकारसँग आग्रह गर्दै आएको छ। साथै मृत्यु भएकाहरूको शव ल्याउन, परिवारलाई क्षतिपूर्ति दिलाउन, घाइतेहरूको उपचार तथा राहत दिलाउन माग गरेको छ। रुस सरकारले यो विषयमा चासो नदिएको परारष्ट्र मन्त्रालयकै अधिकारीहरूले बताउँदै आएका छन्।

रुसमा रहेका १ सय ५० जना नेपालीले उद्धारका लागि आवेदन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनीहरूलाई फर्काउने विषयमा छलफल भइरहेको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताए। रुसी सेनामा नेपालीको अवस्थाबारे बुझ्न परराष्ट्रमन्त्री एनपी साउद त्यहाँ जाने तयारीमा छन्।

प्रकाशित: २७ पुष २०८० १८:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 11 =