पशुपति विकास कोषले भन्यो : हामी गंगा आरती र दीप प्रज्वलनको भिडियो खिच्न नदिने सन्दर्भमा संलग्न छैनौँ

हिमाल प्रेस २१ पुष २०८० ७:१८
20
SHARES
पशुपति विकास कोषले भन्यो : हामी गंगा आरती र दीप प्रज्वलनको भिडियो खिच्न नदिने सन्दर्भमा संलग्न छैनौँ

काठमाडौँ- पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न मनाही भएको आशय सहित जारी भएको सूचनामा कोषको संलग्नता नभएको बताएको छ।

पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्ले त्यसरी निकालिएको सूचनामा कोषको नाम र लोगो प्रयोग भएकोमा पनि अहसमति जनाएको छ।

यसअघि पशुपति क्षेत्र विकास कोष र बुढासुब्बा डिजिटल प्रालिले मन्दिर परिसरमा सूचना राखेर व्यापारिक प्रयोजनका लागि भिडिओ खिच्न नपाइने भनेको थियो।

‘पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ खिच्न सख्त मनाही छ,’ सूचनामा भनिएको छ, ‘यहाँ खिचिएका भिडिओ सामग्री फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्युबमा व्यावसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराइट ऐन अन्तर्गत कारबाही हुने जानकारी गराउँदछौं।’

कोषका प्रवक्ता रेवतीरमण अधिकारीले पूजा, ब्रतबन्ध लगायत व्यक्तिगत कार्यक्रममा आउँदा मेमोरीका लागि फोटोरभिडिओ खिच्न पाइए पनि व्यवसायिक उत्पादन र प्रसारण भने गर्न नपाइने बताएका थिए।

मन्दिरभित्रै प्रवेश गरी भिडिओहरू पनि खिचिएको र त्यसलाई हटाउन नसकेको हुनाले पनि यस्तो निर्णय गर्नुपरेको उनको भनाइ थियो।

प्रकाशित: २१ पुष २०८० ७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 2 =