पूर्वराजा अहिलेको व्यवस्थाप्रति असन्तुष्ट : राप्रपा अध्यक्ष लिङ्देन

हिमाल प्रेस १८ पुष २०८० १६:५८
24
SHARES
पूर्वराजा अहिलेको व्यवस्थाप्रति असन्तुष्ट : राप्रपा अध्यक्ष लिङ्देन पूर्वराजा ज्ञानेन्द्र शाहसँग बुधबार भैरहवास्थित एक होटलमा भेट गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेता। तस्बिर सौजन्य : रवीन्द्र मिश्र

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाह अहिलेको राजनीतिक व्यवस्थाप्रति असन्तुष्ट देखिएका छन्। उनले बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेताहरूसँग भैरहवामा गरेको लन्च बैठकमा राजनीतिक व्यवस्थाबारे असन्तुष्टि व्यक्त गरेका हुन्।

पूर्वराजाले देश र जनताका इच्छा बुझेर राजनीति गर्न सुझाव दिएको भेटमा सहभागी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए। राप्रपा अध्यक्ष लिङ्देनसहित नेताहरू बुद्धिमान तामाङ, धवलशमशेर राणा, दीपक सिंह र रवीन्द्र मिश्रलाई बुधबार पूर्वराजा ज्ञानेन्द्रले छलफलमा डाकेका थिए।

लिङदेनले पूर्वराजाले अहिलेको व्यवस्थाका कारण जनताले दुःख पाइरहेको विषयमा चिन्ता व्यक्त गरेको जानकारी दिए। ‘पूर्वराजाले के कारण देशमा यस्तो अप्ठयारो स्थिति सिर्जना भइरहेको छ भनेर हामीसँग लन्च बैठकमा चासो राख्नुभयो’, उनले भने, ‘उहाँ देशको अवस्था देखेर बढी चिन्तित हुनुहुन्छ। हामीलाई देश र जनताका इच्छा बुझेर राजनीति गर्न सुझाव दिनुभयो।’ राप्रपाका नेताहरूले पूर्वराजाको पछिल्लो योजनाका बारेमा छलफल गरेका थिए। कस्तो योजनाबारे छलफल भएको भन्नेबारे भने लिङ्देनले केही बताएनन्।

पछिल्लो समयमा पूर्वराजा ज्ञानेन्द्रले राजनीतिक गतिविधिमा बढी नै चासो दिन थालेको जानकारहरू बताउँछन्। यसै क्रममा उनले राजावादी शक्तिलाई एकै ठाउँमा ल्याउन प्रयास गरिरहेका छन्। उनले केही दिन अगाडि राष्ट्रवादी अभियानको नेतृत्व गरिरहेका दुर्गा प्रसाईसँग पनि भेटघाट गरेका थिए। पूर्वराजाले राजावादीका नेताहरूसँगको भेटघाटलाई बाक्लो बनाएका छन्।

गत साता नेपाली कांग्रेस, एमाले, माओवादीलगायत राजनीतिक दलका शीर्ष नेताहरूले एउटै मञ्चबाट राजतन्त्रको विरोधमा अभिव्यक्ति दिएका थिए।

प्रकाशित: १८ पुष २०८० १६:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =