शुभकामना दिँदै पूर्वराजाले भने : अब कोरा नारा छोडौँ, गल्ती सच्याएर देशको लागि सोचौँ

हिमाल प्रेस ३० चैत २०७९ १८:१८
24
SHARES
शुभकामना दिँदै पूर्वराजाले भने : अब कोरा नारा छोडौँ, गल्ती सच्याएर देशको लागि सोचौँ फाइल तस्बिर।

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो तीन दशकमा नागरिकहरूमा चरम विद्रोहको भाव देखिएको बताएका छन्। आज बिहीबार नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै कोरा नारा छोडेर देशको लागि सोच्ने बेला आएको बताएका हुन्।

उनले शुभकामना सन्देशमा भनेका छन्, ‘अब कोरा नारा छाडौँ, सही प्रकारको राज्य पद्धतिका निम्ति सोचौँ, सबै खाले गल्ती सच्याउनेतिर लागौँ । देशलाई थाहा पाई पाई बरबादीतिर नधकेलौँ।’

राजनीति र राज्य संचालनको प्रक्रियामा इमान्दारीताको ठूलो महत्व रहने भन्दै उनले दल र दलका नेता त्यसप्रति सचेत रहनुपर्ने उनको भनाइ छ।

‘हालैका दशकहरूमा जानेर नजानेर देशका विभिन्न पक्षहरुबाट जे जस्ता कमजोरी भए त्यसबाट यो गौरवशाली इतिहास बोकेको हाम्रो देशले धेरै दुःख पाएको सबैले महसुस गरेका छन्,’ उनले भनेका छन्,’त्यसैले आन्तरिक सद्भाव र एकता, महत्वपूर्ण संस्थाहरुको सबलता, अर्न्तराष्ट्रिय सम्मान, सबैमा गम्भिर आँच पुगेको छ।’

यस्तो छ उनको शुभकामना सन्देश 

नयाँ वर्ष २०८० को उपलक्ष्यमा बक्सेको सन्देश
नेपाली दिदी बहिनी तथा दाजुभाइहरू
विक्रम सम्बत २०७९ लाई बिदाइ गर्दै अहिले हामी २०८० मा आईपुगेका छौं । नयाँ वर्ष प्रारम्भको यो अवसरमा हिमाल, पहाड र तराई मधेशमा र देश बाहिर रहेका समस्त नेपाली दिदी बहिनी तथा दाजुभाइको जीवन व्यवहारमा सुख, शान्ति, सन्तुष्टि तथा प्रगतिको शुभकामना व्यक्त गर्दछौं ।
राजनीति र राज्य संचालनको प्रकृयामा इमान्दारीताको ठुलो महत्व रहन्छ । राजनीतिक दल र त्यसका जिम्मेवार नेताहरुले बोलेको तथा सम्झौता र सहमतिको अझ ठुलो अर्थ रहन्छ । मति, मत, मान्यता र नीति निर्णय भद्रताले गर्ने तर स्वयम् अभद्रतापूर्वक सहमति तोड्ने कुरा राजनीति र राज्य प्रणालीमा वाञ्छनीय हुँदैन । आज उत्पन्न बेथिति, अविश्वास, द्धन्द र जटिलताको जड पनि त्यही नै हो । हालैका दशकहरूमा जानेर नजानेर देशका विभिन्न पक्षहरुबाट जे जस्ता कमजोरी भए त्यसबाट यो गौरवशाली इतिहास बोकेको हाम्रो देशले धेरै दुःख पाएको सबैले महशुस गरेका छन । त्यसैले आन्तरिक सद्भाव र एकता, महत्वपूर्ण संस्थाहरुको सबलता, अर्न्तराष्ट्रिय सम्मान, सबैमा गम्भिर आँच पुगेको छ ।
हाम्रो सरकारी ढुकुटी र सञ्चालित वित्तीय संस्थाहरुको आर्थिक कारोबार आम विपन्नवर्गको उत्थानमा परिचालित छैन । सिमित व्यक्ति र सानो घेराका परिवारमा मात्र त्यसको लाभ खुम्चिन गयो भन्ने पनि आम जन गुनासो सुनिन्छ । उत्पादन, आर्जन एवम् समुचित वितरण र परिचालनमा उपयुक्त ध्यान नदिंदा जनसाधारणमा समस्या तथा आक्रोश बढ्नु स्वभाविक हो । युवापिढी, बिद्यमान प्रणाली र शासकीय गतिविधीप्रति पूर्णतया असन्तुष्ट हुँदै गएको देखिन्छ ।विगत तीन दशक बढी समयको अनर्थ प्रयत्न उपर उनीहरूको चरम विद्रोहभाव देखिन थालेको छ । यस्तो अवस्थामा कसैको मुख थुनेर, धरपकड गरेर वा पुनरुत्थानको अर्थहिन आरोप थोपरेर हुँदैन । त्यसैले अब कोरा नारा छाडौं, सहि प्रकारको राज्य पद्धतिका निम्ति सोचौं, सबै खाले गल्ती सच्याउने तिर लागौं । देशलाई थाहा पाई पाई बरवादी तिर नधकेलौं ।
नेपाली माटो, नेपालको प्रकृति, नेपाली मौलिक संस्कृति र आम नेपालीको आशा अनुभूतिलाई बुझेर अग्रगति तर्फ लागौ । सबैमा विगतको कमीकमजोरी प्रति क्षमाशील भावना जागोस । नयाँ बर्ष २०८० सुन्य परिणामको होइन दशकाब्दी प्रारम्भको फलदायी अवधी बन्न सकोस यही हाम्रो शुभेच्छा हो ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्
जय नेपाल
२०८० साल बैशाख १ गते

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =