ज्ञानेन्द्र भन्छन्, डेढ दशकयता नेपालीको उत्साह हरायो

हिमाल प्रेस ३ कार्तिक २०८० १९:१८
12
SHARES
ज्ञानेन्द्र भन्छन्, डेढ दशकयता नेपालीको उत्साह हरायो पूर्वराजा ज्ञानेन्द्र शाह।

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले डेढ दशकयता नेपालीको उत्साह हराएको बताएका छन्। उनले गणतन्त्रको १५ वर्षमा नेपाली जनतामा निराशा मात्रै थपिँदै गएको औँल्याएका हुन्। विजया दशमी २०८० को शुभकामना सन्देश दिँदै ज्ञानेन्द्रले भनेका छन्, ‘डेढ दशकयताका अवधिमा नेपाली उतिविधि उत्साहमा छैनन्, हर्षित छैनन्।’

एकतिहाइ जनसंख्या देशबाहिर रहेको, बिदेसिएका र देशमै रहेबसेका दुवैथरीमा बिछोडको पीडा रहेको र महँगी, रोग, शोक र भोकको तापमा नेपाली जनता रहेको उनको भनाइ छ।

‘हामीले नजिकबाट नियालेर हेर्दा र बुझ्दा जनता अति नै निराश र हतासमा छन्’, उनले भनेका छन्। नेपाली निरन्तर परनिर्भर हुँदै जाँदा आर्थिक अवस्था जर्जर बन्दै गएको उनको भनाइ छ।

यसैगरी उनले लोकहित र अग्रगतिका नाममा भनेर आएको परिवर्तनले कुनै सुधार गर्न नसकेको टिप्पणी गरेका छन्। उनले भनेका छन्, ‘हाम्रो देश झन् झन् खराबीतिर गयो भन्ने आमजनगुनासो हाम्रा गाउँ, सहर, लेक, बेसी, कुना कन्दरा सबैतिर सुनिन्छ।’

व्यक्तिगत स्वार्थ, दलीय भागबण्डा, आपसी राजनीतिक द्वन्द्व, चरम भ्रष्टाचार र बेथितिबाट जनता आजित रहेको उनले प्रश्न गरेका छन्, ‘यस्तो अवस्थामा जनताले उत्साह, उल्लास र उमंगका साथ चाडबाड मनाउन पाउनु त कता कता साँझबिहानको जीवनयापन पनि कष्टकर बन्दै गएको त छैन?’

जनताले खोजेको र रोजेको सही पात्रबाट जनहितमा गतिलो काम अघि बढ्न पाउनुपर्ने उनको जोड छ। उनले आफ्नो चाहना देश र जनतामाथि अब कुनै प्रकारको घात हुनु हुँदैन भन्ने रहेको स्पष्ट पारेका छन्।

ज्ञानेन्द्रको शुभकामना सन्देशमा उल्लेख छ, ‘हिमाल, पहाड र तराईमा बसोबास गर्ने जो विविध वर्ग, समुदाय र विभिन्न सनातनी संस्कृति जे जुनभित्र रहे पनि अन्ततः हामी सबै नेपाली हौँ। यो साझा फूलबारीलाई सजाउनु, सिँगार्नु अनि यसको माली बनेर यो सुन्दर बगैँचाको संरक्षण गर्नु हाम्रो साझा दायित्व हो।’

उनले हामी सबै स्वतन्त्र सार्वभौम नेपाल राष्ट्रका होनहार सन्तति हौँ भन्ने हेक्का रहनैपर्नेमा जोड दिएका छन्। उनले भनेका छन्, ‘कसैले कसैप्रति निषेध र निन्दा नगर्ने सबैले सबैको आस्था उपर उदारभाव राख्न हाम्रो प्रयत्न हुनैपर्दछ।’

प्रकाशित: ३ कार्तिक २०८० १९:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 12 =