युक्रेन युद्धमा हरिसँगै अस्ताएको बिहे सपना

रमेश भारती १७ पुष २०८० १९:३३
394
SHARES
युक्रेन युद्धमा हरिसँगै अस्ताएको बिहे सपना

काठमाडौँ– स्याङ्जा वालिङ नगरपालिका-१४ मान्खुका २३ वर्षका हरि अर्यालले तीन वर्ष नेपाली सेनामा जागिर खाए। सेनाका जागिरबाट असन्तुष्ट भएर राजीनामा दिई घरमै बसेका उनलाई वैदेशिक रोजगारीले तान्यो।

म्यानपावर कम्पनीलाई ९ लाख रुपैयाँ तिरेर दुबई हुँदै रुस पुगेका अर्यालको घरमा बिहे गर्ने सल्लाह भइरहेको थियो। उनी पनि विदेशमा पैसा कमाएर फर्केर झ्याइँझ्याइँ बाजा बजाएर बिहे गर्ने योजनामा थिए। तर उनको योजना सपनामै सीमित भएको छ।

गत कात्तिक ५ गते रुसी सेनामा भर्ती भएका अर्यालको गत नोभेम्बर २६ (मंसिर १०) मा युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएको हो। अर्याल नोभेम्बर २६ देखि परिवारको सम्पर्कमा थिएनन्। अर्यालको मृत्यु भएको खबर परिवारले मंगलबार मात्र थाहा पाएका छन्।

तीन वर्ष नेपाली सेनाको जागिर खाएका उनले जागिर छाडेर रुसी सेनामा गएको परिवारले जानकारी दिएको छ। अर्यालका बुबा रुद्रप्रसाद र आमा तारादेवी छोराको मृत्यु सुनेपछि विक्षिप्त छन्। आमाले दुई दिनदेखि खाना नखाएको अर्यालकी भाउजू अम्बिका अर्यालले जानकारी दिइन्।

अम्बिकाका अनुसार मंसिर ७ गते ‘खै के हुन्छ, यहाँ त साथीहरू मरेका-मरै छन्, आफ्नो पालो कहिले आउने हो’ भनेर छिमेकी साथीसँग फोनमा कुराकानी गरेका थिए रे। परिवारसँग त घरबाट हिँडेपछि ३-४ पटक मात्र कुराकानी भएको अम्बिकाले जानकारी दिइन्।

उनका अनुसार ९ लाख रुपैयाँ तिरेर म्यानपावर कम्पनीमार्फत अर्याल रुसी सेनामा भर्ती हुन गएका थिए। यूएई पुलिसको रोजगारीमा जान कोसिस गरिरहेका अर्याल अन्तिममा म्यानपावरको झूटो प्रलोभनमा परी रुसी सेनामा भर्ती हुन गएको भाउजू अम्बिकाको भनाइ छ।

‘रुसमा जोखिम छ, बरु अन्य देश वैदेशिक रोजगारीमा जान परिवारले सल्लाह दिएका थियौँ। तर देवरबाबुले केही हुँदैन भनेर यूएई हुँदै रुसी सेनामा भर्ती हुन जानुभएछ’, अम्बिका भन्छिन्। ‘देवरबाबु वैशाखमा सेनाको जागिर छाडेर घरमै बस्नुभएको थियो। त्यसपछि देशमै केही गरुँ कि वैदेशिक रोजगारीमा जाऊँ भनेर दोधारमा हुनुहुन्थ्यो। अन्तिममा कहाँबाट रुसी सेनामा जाने निधो गर्नुभयो, थाहा भएन।’ यसबारे परिवारलाई कुनै जानकारी नभएको उनले बताइन्। उनी रुसी सेनामा गएपछि बाबुआमा भने सन्तुष्ट थिएनन्।

अम्बिकाका अनुसार घरमा हरिको विवाह गर्ने सल्लाहसमेत भइरहेको थियो। उनी भन्छिन्, ‘पैसा कमाएर फर्किएपछि झ्याइँझ्याइँ बाजा बजाएर बिहे गर्ने हो भनेर विदेश जानुभएको थियो। अन्तिममा यस्तो खबर सुन्नुपर्दा परिवारलाई कस्तो भएको होला?’

घरको कान्छो छोरा भएका कारण पनि उनी सबैका प्यारो थिए। उनको मृत्युको खबर सुनेपछि बाआमा बेहोस् जस्तै भएको उनले जानकारी दिइन्। देशमा रोजगारी भए पनि सुविधा राम्रो नभएपछि युवा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता छ। त्यही बाध्यताका कारण ज्यानसमेत गुमाउनुपरेको अम्बिकाको गुनासो छ।

अर्यालका दुई जना दाइ पनि वैदेशिक रोजगारीमा कार्यरत छन्। दुवै जना दाइ यूएईमा कार्यरत छन्।

रुस-युक्रेन युद्धमा ११ जना नेपालीले ज्यान गुमाएका छन्। मस्कोस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा सन्दीप थपलिया (गोरखा), रूपक कार्की (वाणगंगा-१ कपिलवस्तु), देवान राई (कास्की), प्रितम कार्की (पुतलीबजार-५, स्याङ्जा), राजकुमार रोका (मेलुङ-६ दोलखा), गंगाराज मोक्तान (इलाम-५, इलाम), कैलालीको टीकापुर नगरपालिका-१ नयाँ टीकापुरका ३६ वर्षीय भरत शाह, राजकुमार गिरी (धादिङ), हरि अर्याल (स्याङ्जा), भरतबहादुर शाह (कैलाली) र कुन्दनसिंह नगल (ठेगाना नखुलेको) को मृत्यु भएको पुष्टि गरेको छ। युद्धमा दुई सयभन्दा बढी नेपाली घाइते भएको दूतवासको अनुमान छ।

रुसी सेनामा १ हजारभन्दा बढी नेपाली भर्ती भएको अनुमानित संख्या रहेको रुसमा रहेका नेपालीहरूले बताउँदै आएका छन्। मस्कोस्थित दूतावासले भने रुसी सेनामा भर्ती भएका नेपालीको विवरण सार्वजिनक गरेको छैन।

युक्रेनमा ४ जना नेपालीलाई बन्दी बनाइएको परराष्ट्र मन्त्रालयले गत महिना जारी गरेको विज्ञप्तिमा उल्लेख छ। युक्रेनमा बन्दी बनाइएकामा बर्दिया राजापुर-१ का विवेक खत्री, काभ्रेपलाञ्चोक मन्डनदेउपुर-६ का सिद्धार्थ ढकाल, मोरङ लेटाङ-२ का विकास राई र रोल्पा रुन्टीगढी-८ का प्रतीक पुन छन्। उनीहरूलाई मुक्त गराई स्वदेश फर्काउन सरकारले पहल गरिरहेको छ।

प्रकाशित: १७ पुष २०८० १९:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =