एग्रो मनाङ अवैध रूपमा सञ्चालन भएको सांसद मनाङेको आरोप

हिमाल प्रेस २८ मंसिर २०८० १२:०८
32
SHARES
एग्रो मनाङ अवैध रूपमा सञ्चालन भएको सांसद मनाङेको आरोप

पोखरा- गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले हिमालपारिको जिल्ला मनाङमा सञ्चालित एग्रो मनाङ प्रालिले सार्वजनिक जग्गा मिचेको आरोप लगाएका छन्। पूर्वसंघीय सांसद पोल्देन छोपाङ गुरुङले १० वर्षअघि सुरु गरेको सो उक्त फार्म एसियाकै सबैभन्दा ठूलो दाबी गरिएको छ। तर उक्त फार्मले अवैध रूपमा वन फडानी गरी सार्वजनिक जग्गा मिचेको र एउटै व्यक्तिको हालीमुहाली भएको भन्दै मनाङकै सांसद राजीव गुरुङले उक्त आरोप लगाएका हुन्।

समाजवादी प्रेस संगठन नेपाल कास्कीले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा (एकीकृत समाजवादी) का प्रदेश सांसद मनाङेले भने, ‘सात सय ३४ रोपनी जग्गाको अवैधानिक अनुमति लिएर ८ सय २५ भन्दा बढी रोपनी जग्गा भोगचलन गर्दै आएको पाइएको छ।’ फार्मले करिब ८० रोपनी जग्गामा अवैध रुख फडानी गरेको आरोप उनको छ।

उनका अनुसार हिमाली प्रोजेक्ट, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम, कोल्ड स्टोर सञ्चालन, स्याउ विशेष कार्यक्रम, फलफूल विस्तारजस्ता धेरै शीर्षकबाट केन्द्रदेखि स्थानीय तहबाट सो फार्मले करोडौँ रुपैयाँ अनुदान लिइसकेको र अनुदानदाता निकायबाट पनि गम्भीर त्रुटि रहेको बताए।

मनाङको पिसाङस्थित जनकल्याण प्राविको जग्गामा मदिरा कारखाना पनि खोलिएको र अनुमतिबिना विद्यालयको जग्गामा मनोमानी गरिनु कानुनविपरीत भएको जिकिर मनाङेको छ। उनले स्रोत दुरुपयोग भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरीसमेत दिइसकेको जानकारी दिए। उनले एग्रो मनाङ प्रालि कसरी दर्ता भयो र ठिक ढंगले चलेको छ कि छैन भन्ने कुराको हेक्का नराखी अनुदान बाँडिनु गलत भएको बताए।

फार्म सञ्चालनसँगै मनाङ एग्रोले गण्डकी प्रदेश सरकारलाई स्याउखेतीबारे प्राविधिक सहयोग पनि दिन थालेको छ। गण्डकी सरकारले मनाङ र गोरखाको चुनुब्रीमा सुरु गरेको स्याउखेती परियोजनामा मनाङ एग्रोले नै सघाएको थियो ।

प्रकाशित: २८ मंसिर २०८० १२:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + six =