सांसद दीपक मनाङले त्यागे नेकपा एकीकृत समाजवादी

हिमाल प्रेस ४ चैत २०८० १८:३७
236
SHARES
सांसद दीपक मनाङले त्यागे नेकपा एकीकृत समाजवादी

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सांसद राजीव गुरुङ (दीपक मनाङे)ले पार्टी परित्याग गरेका छन्। स्वतन्त्र उम्मेदवार भएर मनाङबाट निर्वाचित मनाङे पछि नेकपा एकीकृत समाजवादी प्रवेश गरेका थिए। उनले प्रदेशसभा सचिव हरिराज पोखरेललाई दल त्याग गरेको विवरणको पत्र बुझाएका हुन्।

उनले भनेका छन्, ‘स्वतन्त्र रूपमा म जनताको मन जितेर निर्वाचित भएको हुँ र आजको मितिदेखि नेकपा एकीकृत समाजवादी दलको सांसदको मान्यता र संसदीय अभिलेख सच्चाई स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन माग गर्दछु।’

बिना कारण केन्द्रमा गठबन्धन फेरिँदा देशमा अस्थिरता मौलाएको उनको टिप्पणी छ। ‘बिना कारण र अनायासै केन्द्रमा फेरिइरहने गठबन्धनका कारण देशमा अस्थिरता मौलाउँछ,’ उनले भने, ‘गण्डकीमा त्यस किसिमको परिस्थिति सृजना हुन नदिन सधैँ प्रतिबद्ध छु।’

उनले केन्द्रको गठबन्धनले पनि एमाले र माओवादीलाई गण्डकीमा बहुमत पुर्‍याउन सहज नहुने बताएका छन्। नयाँ गठबन्धनले पनि बहुमत नपुर्‍याउँदा प्रदेश मध्यावधिमा जान सक्ने भएकोले मध्यावधि रोक्न आफूले पहल गर्ने उनको भनाइ छ।

उनले भने, ‘यहाँ कुनै पनि गठबन्धनले बहुमत पुर्‍याउने अवस्था छैन। मध्यावधिमा धकेलेर देशको ढुकुटी रित्याउने काम रोक्न मैले सकेको भूमिका खेल्छु।’

गत फागुन २१ गते केन्द्रमा नेपाली कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादीसहितको गठबन्धनको सरकार बदलिएर नेकपा माओवादी, एमाले, नेकपा एकीकृत समाजवादीसहितको गठबन्धनको सरकार बनेको छ। प्रदेश सरकारमा पनि केन्द्रको गठबन्धनको असर देखिएको छ।

गण्डकीमा अहिले कांग्रेस नेतृत्वको सरकार छ। एमाले-माओवादीले नयाँ गठबन्धनको नेतृत्वमा सरकार बनाउन पहल गरिरहेको बेला मनाङेले पार्टी परित्याग गरी आफू स्वतन्त्र रहने निर्णय लिएका हुन्।

प्रकाशित: ४ चैत २०८० १८:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 2 =