गण्डकीमा दीपक मनाङे मन्त्री नबन्ने पक्का!

हिमाल प्रेस २९ वैशाख २०८० १५:४२
118
SHARES
गण्डकीमा दीपक मनाङे मन्त्री नबन्ने पक्का!

काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज मन्त्रिपरिषद्को विस्तारको तयारी गरेका छन्। आज मन्त्रीपरिषद् विस्तार हुँदा स्वतन्त्र उम्मेदवारी दिएर मनाङबाट निर्विरोध निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) भने मन्त्री नबन्ने पक्का भएको छ।

‘दीपक मनाङे मन्त्री बन्दैनन्,’ मुख्यमन्त्री कार्यालय स्रोतले भन्यो, ‘गठबन्धनमा सन्तुलन मिलाउनका लागि पनि उनी अहिले मन्त्री बन्दैनन्।’ सत्ता गठबन्धनका ठूला दल कांग्रेस र माओवादीले पनि उनलाई मन्त्री बनाउन इन्कार गर्दै आएका थिए। तर, मनाङेले केन्द्रमा माधवकुमार नेपालमार्फत दबाब दिइरहेका थिए। मनाङे स्वतन्त्रबाट चुनाव जितेर पछि नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका हुन्। उनी उक्त पार्टीका गण्डकीका एक्ला सांसद हुन्।

यसपटक गण्डकी प्रदेशसभामा दीपक मनाङे पहिले जस्तो निर्णायक भूमिकामा छैनन्। पृथ्वीसुब्बा गुरुङ, कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री हुँदा मनाङे निर्णायक थिए। त्यस बेला उनी खेलकुद मन्त्री पनि बनेका थिए।

गत १४ वैशाखमा मुख्यमन्त्री नियुक्त पाण्डेले भोलिपल्ट शपथ ग्रहण गर्दा ३ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका थिए। गण्डकीमा हाल कायम ७ मन्त्रालयमा अब ४ मन्त्रीको नियुक्त हुन बाँकी छ।

यसअघि नेपाली कांग्रेसबाट सरस्वती अर्याल तिवारी र सत्ता गठबन्धनको अर्को दल नेकपा (माओवादी केन्द्र) बाट सुशीला सिंखडालाई बिनाविभागीय मन्त्रीको जिम्मेवारी दिइएको थियो। अर्याल सरकारका प्रवक्तासमेत हुन्।

आज मन्त्रिपरिषद् विस्तारसँगै कार्यविभाजना पनि तोक्ने तयारी छ। मुख्यमन्त्रीले कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दीपेन्द्रबहादुर थापालाई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। माओवादीबाट रेशमबहादुर जुग्जाली मन्त्री बन्ने पक्का छ।

मन्त्रिपरिषद् विस्तार पूर्व बिहीबारको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको नाम र जिममेवारी तोक्ने निर्णय गरेको थियो। जसअनुसार गण्डकीमा अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कायम भएका छन्।

यस्तै, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, कृषि तथा भूमि व्यवस्था मन्त्रालय, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय रहने छन्।

सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री कार्यालयमा गाभेको छ। कृषि ऊर्जा तथा जलस्रोत मन्त्रालयबाट ऊर्जा, जलस्रोत तथा खानेपानी र कृषि मन्त्रालय फरक फरक बनाइएको छ। कृषिमा यसअघि अर्थ मन्त्रालयमा रहेको भूमि व्यवस्थालाई गाभिएको छ। नयाँ मन्त्रीहरूलाई आजै शपथ गराउने तयारी छ।

प्रकाशित: २९ वैशाख २०८० १५:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + six =