गण्डकीमा भौतिक पूर्वाधारमन्त्री बने दीपक मनाङे

विजय नेपाल ५ चैत २०८० १३:४०
52
SHARES
गण्डकीमा भौतिक पूर्वाधारमन्त्री बने दीपक मनाङे

पोखरा- गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बनेका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गगठन गर्दै मनाङेलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयको जिम्मेवारी दिएका हुन्।

मनाङे मनाङमा स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका व्यक्ति हुन्। उनी पछि नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका थिए। आइतबारमात्रै मनाङेले प्रदेशसभामा पार्टी परित्याग गरी स्वतन्त्रकै हैसियतमा रहेको विवरणको पत्र बुझाएका थिए।

‘गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ। जसअनुसार मुख्यमन्त्रीले नै सम्हाल्दै आउनु भएको भौतिक मन्त्रालयको जिम्मेवारी राजीव गुरुङलाई दिइएको छ’ मुख्यमन्त्री पाण्डेका प्रेस संयोजक नरहरि सापकोटाले हिमालप्रेसलाई जानकारी दिए।

यसैगरी कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयकाे पनि जिम्मेवारी थप गरिएको छ। यसअघि यी दुई मन्त्रालयमा माओवादीका मन्त्री थिए। केन्द्रको गठबन्धनको असर प्रदेशमा पनि परेपछि मुख्यमन्त्रीले फागुन २२ गते माओवादीका मन्त्रीलाई बर्खास्त गरेका थिए। त्यसको ३० दिनभित्र मुख्यमन्त्रीले संसद्‌मा विश्वासको मत लिनुपर्ने हुन्छ।

गण्डीमा नयाँ सत्तासमीकरणमा रहेका दलहरूले बहुमतको सरकार बनाउन नसक्ने अवस्था छ। न त पाण्डे सरकारले सरकार टिकाउन सक्छन्। ६० सदस्यीय गण्डकी प्रदेशसभामा कांग्रेस सबैभन्दा ठूलो दल भए पनि उसको बहुमत पुग्दैन। उसको २७ सिट मात्र छ।

उता, नयाँ गठबन्धनका दलहरू एमालेको २२ र माओवादीको ८ सिट जोड्दा बहुमत पुग्दैन। यहाँ बहुमतका लागि ३१ सदस्य चाहिन्छ। अर्को दल राप्रपाको २ मात्र सिट छ। नयाँ सरकार गठनमा राप्रपा यहाँ निर्णायक हो। तर उसले तत्काल कुनै पनि दललाई समर्थन नगर्ने अडानमा छ। राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङले यही व्यवस्थामा आफूहरू सरकारमा नजाने बताउँछन्।

गण्डकी सरकार अन्योलमा रहँदा मनाङेको दल त्यागसँगै मन्त्री बन्नुले रोचक मोड बनेको छ। मनाङेले गण्डकी प्रदेशमा अप्ठेरो परिस्थिति सिर्जना भएको र मध्यावधिमा जान सक्ने सम्भावना भएकोले त्यसतर्फ आफू सचेत रहेको बताएका छन्। आफू कुनै पनि हालतमा मध्यावधिको पक्षमा नरहेको उनले बताए।

यसैबीच, आइतबारमात्रै गण्डकी प्रदेशका नवनियुक्ति प्रदेश प्रमुख डिल्लीराज भट्टले पदभार ग्रहण गरेका छन्। एमालेनिकट उनी गण्डकीको पाँचौं प्रदेश प्रमुख हुन्।

मनाङेलाई मन्त्री नियुक्ति गरेको पत्र प्रदेश प्रमुखको कार्यालय पुगिसकेको छ। नवनियुक्त मन्त्रीको शपथ आज दिउँसो साढे तीन बजे हुने बताइएको छ।

यसअघि भाैतिक पूर्वाधारमा माओवादीका रेशमबहादुर जुग्जाली र सामाजिकमा सुशीला सिम्खडा मन्त्री थिइन्।

प्रकाशित: ५ चैत २०८० १३:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 19 =