विनोद चौधरी : निर्वाचन क्षेत्रको मुहार फेर्न तल्लीन

हिमाल प्रेस २४ मंसिर २०८० १६:४२
244
SHARES
विनोद चौधरी : निर्वाचन क्षेत्रको मुहार फेर्न तल्लीन

काठमाडाैँ- विनोद चौधरीलाई धेरैले चिन्ने व्यवसायीको रूपमा हो। प्रख्यात ‘फोर्ब्स’ म्यागेजिनमा विश्वको धनाढ्यको सूचीमा दशकदेखि लगातार पर्दै आएका चौधरी पछिल्लो समय भने राजनीतिमा बढी सक्रिय छन्। अमेरिकी बिजनेस पत्रिका ‘फोर्ब्स’का अनुसार चौधरी अहिले १ अर्ब ८० करोड अमेरिकी डलर अर्थात् दुई खर्ब ४० अर्ब रूपैयाँभन्दा बढी सम्पत्तिका मालिक हुन्। १ अर्ब डलरको सम्पत्ति बनाएर उनी पहिलोपटक सन् २०१३ मा ‘फोर्ब्स’को सूचीमा अटाएका थिए।

बुवाको जगमा आफूले थप मिहिनेत गरेर बनाएको व्यापारिक साम्राज्य अहिले चौधरीले दोस्रो पुस्ताको जिम्मा लगाएर पूर्णकालीन राजनीतिमा होमिएका छन्। त्यसो त विनोद चौधरीको संसद्को यात्रा नै १६ वर्ष भइसकेको छ। उनी पहिलो पटक २०६४ सालमा पहिलो संविधान सभाको सदस्य भएका थिए। तर जनताबाट प्रत्यक्ष निर्वाचित चाहिँ चौधरीका लागि यो पहिलो कार्यकाल हो। गत वर्ष भएको प्रतिनिधि सभाको निर्वाचनमा चौधरी पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। त्यसयता उनी दिनरात आफ्नो निर्वाचन क्षेत्र र संसद्मा सक्रिय छन्। चौधरी प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको सदस्य हुन्।

चौधरीले प्रतिनिधिसभा सदस्यको रूपमा संसद्‌मा महत्त्वपूर्ण विधेयक र विषयवस्तुमाथि आफ्नो धारणा राख्दै आएका छन्। उनी भन्छन्, ‘संख्यात्मक हिसाबले मेरो उपस्थिति शतप्रतिशत नहोला तर राष्ट्रिय महत्त्वको विषय होस् वा महत्त्वपूर्ण विधेयक र तिनीहरूमाथिको छलफल मैले आफूलाई सहभागी गराउँदै आएको छु।’

मुलुकमा संघीयता कार्यान्वयनमा गएको ७ वर्षभन्दा बढी भइसकेको छ। संघीयतापछि दोस्रो कार्याकालको रूपमा जनप्रतिनिधिहरू चुनिएका छन्। तीन तहका सरकार क्रियाशील छन्। तर पनि संघीयताको पूर्ण कार्यान्वयन नभएको र विकेन्द्रीकरणको आभास नभएको भन्दै प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको गुनासो उत्तिकै सुनिन थालेको छ। चौधरी संघीयता कार्यान्वयनमा देखिएका कठिनाइको सहजीकरणको लागि प्रतिवद्ध भएको बताउँछन्। ‘संघीयताको सबलीकरण र बाँकी रहेका मुद्दाहरूको उचित व्यवस्थापनका लागि प्रतिनिधिसभा सदस्यको रूपमा मेरो सधैँ भूमिका रहनेछ,’ सांसद चौधरी भन्छन्, ‘त्यसका लागि म प्रतिवद्ध भएर काम गर्दै आएको छु।’

जननिर्वाचित सांसदको रूपमा विनोद चौधरीका प्राथमिकता स्पष्ट छन्। तिनिहरूको कार्यान्वयनका लागि उनीसँग स्पष्ट खाका र योजना पनि छन्। कतिपय कार्यान्वयनमा पनि गइसकेका छन्। तर निर्वाचन लगत्तै सरकार गठनमा भएको फेरबेदल, गठबन्धनको परिवर्तन र निजी संसद् अर्थात् समितिहरू गठनमा भएको अन्योलले योजना कार्यान्वयनमा ढिलाइ ल्याएको चौधरीको भनाइ छ। उनी भन्छन्, ‘यावत् चुनौतीका बीच संघीय संसद्मा मैले आफ्नो उपस्थितिलाई अर्थपूर्ण बनाउन सकेकोमा खुसी छु।’

सिजी पोलिटेक्निकद्वारा नवलपरासीको प्रतापपुर गाउँपालिकामा सञ्चालित इलेक्ट्रिक र मेकानिकल तालिमका सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै सांसद चौधरी।

संसद्को भूमिकासँगै निर्वाचन क्षेत्रको विकास चौधरीका लागि उत्तिकै महत्त्वको विषय हो। आफ्नो क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राख्दै तीन तहका सरकारबीच विकास निर्माणका काममा देखिएको अन्योल र असमञ्जस्यता चिर्न चौधरी अहोरात्र खटिएकै छन्। यही कारण नवलपरासी पश्चिम क्षेत्र नम्बर १ मा तीनै तहका जनप्रतिनिधिको भूमिकालाई वर्गीकरण गरेर व्यवस्थित खाका निर्माण भएको छ।

निर्वाचनका बेला गरेका प्रतिबद्धताको कार्यान्वयनलाई सहज र प्रभावकारी बनाउन चौधरीको क्षेत्रका तीन तहका जनप्रतिनिधिले आयोजनाको प्राथमिकीकरण गरेका छन्। उनकै अगुवाइमा सरोकारवाला सबै निकाय र जनप्रतिनिधिबीच मिलेर काम गर्ने बानीको विकास भएको छ। सांसद चौधरी भन्छन्, ‘म यसलाई ठूलो उपलब्धीको रूपमा लिन्छु।’

यद्यपी प्रतिनिधिसभा सदस्यको रूपमा गरेको एक वर्षको कामलाई हेर्दा उनी सन्तुष्ट छैनन्। चौधरी भन्छन्, ‘मेरो क्षमता र योग्यताअनुसार योगदान दिन सकेको छैन । यसका आफ्नै सीमा र दायरा छन् । तर निर्वाचित जनप्रतिनिधिका रूपमा आफूलाई पूर्ण क्रियाशील बनाएको छु।’

चौधरीले सांसदको रूपमा संसद् सचिवालयबाट पाउने सुविधालाई व्यक्तिगतरूपमा प्रयोग गर्दैनन्। उक्त रकममा दशौँ गुणा थपेर सामाजिक कार्यमा खर्चिँदै आएका छन्।

केन्द्रमा निर्वाचन क्षेत्र

सांसद विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि भिन्न तरिकाले काम गर्दै आइरहेका छन्। निर्वाचन क्षेत्रका नागरिकको गुनासा र समस्या सम्बोधन गर्नेदेखि विकास निर्माणका कामलाई प्रभावकारी र व्यवस्थित बनाउन निर्वाचन क्षेत्रमा चौधरीले सचिवालय स्थापना गरेका छन्। केन्द्रमा पनि सांसदको भूमिकालाई प्रभावकारी बनाउन र निर्वाचन क्षेत्रको विकासका लागि सरकारसँग समन्वयकारी भूमिका निर्वाह गर्न राजनीतिक सचिवालय स्थापना गरिएको छ। यसले आफ्नो राजनीतिक र विकासको अभियानलाई सशक्त र सुदृढ बनाएको चौधरीको अनुभव छ।

चौधरीले निर्वाचन क्षेत्रको विकास लागि ‘निर्वाचन क्षेत्रका १५ गौरवका आयोजना’ घोषणा गरेर कार्यान्वयनमा लगेका छन्। यसभित्र नारायणी नदी (गण्डक नहर) व्यवस्थापन तथा सरसफाइ, सरवालको हुलासी खोलामा मत्स्यपालन, महेन्द्र माविमा प्राविधिक शिक्षा, प्रतापपुरमा एकीकृत उपनगरसहित चक्रपथ निर्माण, केरा तथा उखू खेती प्रवद्र्धन तथा विकास, विज्ञान तथा प्रविधि विषयमा मानित विश्वविद्यालय स्थापना चौधरीको क्षेत्रका गौरवका आयोजना हुन्।

बर्दघाट-आमबास हुँदै दुम्कीबास जोड्ने सडक निर्माणबारे बर्दघाट नगरपालिका वडा नं-२ का स्थानीयसँग छलफल गर्दै।

त्यस्तै सिँचाइमा विद्युतीकरण, पर्यटन प्रवद्र्धनका लागि बुद्ध सर्किट निर्माण, कृषि क्षेत्रको विकासका लागि कृषि प्रवद्र्धन केन्द्र, विपन्नलाई आवास, प्रकृतिमैत्री पर्वतीय पर्यटन विकास, साना तथा मझौला औद्योगिक ग्राम निर्माण, विशेष सेवासहित एकीकृत अस्पताल निर्माण, रंगशाला निर्माणसहित खेलकुद विकास तथा प्रवद्र्धन र बर्दघाट नगरपालिकामा सरसफाइसहित हरियाली प्रवद्र्धनजस्ता योजना समेटिएका छन्।

चौधरीले गौरवका आयोजनाका अतिरिक्त स्थानीयबासीबाट माग भएका र काम भइरहेका अन्य आयोजनाको काम चाँडो सकाउन सम्बन्धित मन्त्रालय तथा निकायमा खबरदारी, सहजीकरण र बजेट सुनिश्चित गर्ने पहल गरिरहेका छन्।

निर्वाचित भएपछि चौधरीले सबैभन्दा बढी दौडधुप गरेको र काम छिटो सकाउन ताकेता गरेको आयोजना हो– महेन्द्र राजमार्गअन्तर्गतको बुटवल–नारायणघाट सडक खण्ड। चौधरी निर्वाचित हुनुअघि ५४ महिनाको अवधिमा यो खण्डको काम जम्मा १७ प्रतिशत मात्रै भएको थियो। तर गत वर्ष चौधरी सांसद निर्वाचित भएपछि उनले गरेको समन्वय, सहजीकरण र अनुगमनले गर्दा हरेक महिना ४ प्रतिशतका दरले काम भइरहेको छ। अहिले यो खण्डको प्रगति ५९ प्रतिशत पुगेको छ।

चौधरीको सहजीकरणपछि तराई मधेशको समृद्धिका लागि लाइफलाइन मानिएको हुलाकी राजमार्गको काम पनि तीव्र गतिमा भइरहेको छ। गण्डक नहरको काम पनि उही गतिमा चलेको छ। दुई दशकदेखि बिग्रेर रहेको गण्डक नहरमा अहिले ८० करोडको बजेट विनियोजना मात्रै भएको छैन, सोही गतिमा काम पनि भइरहेको छ । यसको मर्मत सम्पन्न भएपछि नवलपरासी पश्चितमा बाढी र डुवानको समस्या हट्नेछ।

चौधरीकै योजनामा नवलपरासी पश्चिममा केराको चिप्स बनाउने उद्योग बन्न थालेको छ। उखूको न्यूनतम मूल्य तोक्ने र भुक्तानीलाई सहज बनाउन गरिएको सहजीकरणको नतिजा सकारात्मक आएको छ।

स्थानीयबासीसँग छलफलमा।

भूमिहीनले पाए लालपूर्जा

विनाद चौधरीले मत माग्दा एउटा बाचा गरेका थिए– भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउने। जुन कुरा उनी सांसद भएको ६ महिना नहुँदै पूरा भइसकेको छ। २०७९ को माघमा पहिलोपटक बर्दघाट नगरपालिका ७ जिमिरेभारस्थित त्रिनेत्रधामबाट पहिलोपटक जग्गा नापी सुरू भएको थियो। जुन बेला चौधरी सांसद निर्वाचित भएको दुई महिनामात्रै भएको थियो। नापी भएको केही समयपछि भूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठलाई अतिथि बनाएर चौधरीले लालपूर्जा वितरण गरेका थिए। यो २०८० असारको कुरा हो।

चौधरी फाउण्डेसनसमेत सक्रिय

विनोद चौधरी अर्बपति र सांसदमात्रै होइनन् समाजसेवी पनि हुन्। उनले आफ्नै कम्पनीको नाम राखेर चौधरी फान्डेसन गठन गरेका छन्। जसले विश्वभर स्वयमसेवामार्फत सेवा दिइरहेको छ। चौधरीले यसलाई आफ्नो निर्वाचन क्षेत्रमा झन् बढी सक्रिय बनाएका छन्। फाउन्डेसनको आन्तरिक स्रोतबाट विभिन्न सामाजिक, आर्थिक तथा व्यावसायिक काम भइरहेका छन्। फाउन्डेसनबाट महिला सीप विकास, बर्थिङ सेन्टरसहितको स्वास्थ्य सेवा, चिसापानी अस्पताल, सबल कार्यक्रम, प्राविधिकि तथा पोलिटेक्निक शिक्षा, युवा क्लबलाई खेलकुद सामग्री हस्तान्तरण, ज्येष्ठ नागरिकलाई शाीवतधाम भ्रमणलगायत दर्जनौँ काम भइरहेका छन्। यसले स्थानीयबासी प्रत्यक्ष लाभान्वित भएको चौधरीको भनाइ छ।

प्रकाशित: २४ मंसिर २०८० १६:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − six =