फूलमा जमेर फुट्नेहरू

रमेश भारती २० कार्तिक २०८० १६:५०
20
SHARES
फूलमा जमेर फुट्नेहरू फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान) का अध्यक्ष मीनबहादुर तामाङ र नर्सरी व्यवसायी संघका अध्यक्ष रामजीप्रसाद तिमिल्सिना (दायाँ)।

काठमाडौँ- नेपाल फूलमा आत्मनिर्भर नजिकै पुगेको छ। सरकारी तथ्यांकमै नेपाल फूलमा ९२ प्रतिशत आत्मनिर्भर भएको देखाउँछ। तर पुष्प व्यवसायको नेतृत्व गर्दै आएको छाता सगंठन भने आफूमै विभाजित हुँदै गइरहेको छ।

फूल अर्थात् पुष्पको उत्पादन र व्यापार गर्ने व्यवसायीहरूको छाता संगठन फ्लोरिकल्चर एसोसिएसन नेपाल यसै महिनामा फुटेको हो। फ्लोरिकल्चर एसोसिएसन नेपाल फुटेर नर्सरी व्यवसायी संघ बनेको छ। यसरी फुटेको फ्लोरिकल्चरमा समेत राजनीति प्रवेश गरेको व्यवसायी बताउँछन्।

तीन दशकसम्म चलेको संस्था एकाएक विभाजन मात्र भएपछि यो संस्थामा संलग्न व्यवसायी अचम्ममा परेका छन्। विभाजनपछि दुवै संस्थाले एकैसाथ पुष्प प्रदर्शनीसमेत गरे।

फ्लोरिकल्चर एसोसिएसन नेपालले कात्तिक १४ देखि १८ गतेसम्म जाउलाखेलमा गोदावरी फूलको प्रतियोगितासहितको प्रदर्शनी गरेको छ भने नर्सरी व्यवसायी संघले पनि भृकुटीमण्डपमा त्यही मितिमा प्रदर्शनी गर्‍यो। दुवै प्रदर्शनीमा सोचेजस्तो व्यापार नभएपछि उनीहरू एकअर्कोप्रति आरोपप्रत्यारोपमा उत्रिएका छन्।

विगतमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको समेत आर्थिक सहयोगमा पुष्प प्रदर्शनी हुने गरेको थियो। तर यसपटक भएको प्रदर्शनीमा कृषि मन्त्रालयले आर्थिक सहयोग गर्ने चासो देखाएको छैन। दुवै संघले आर्थिक सहयोगका लागि कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसालसँग माग गरेका छन्।

एकै किसिमका दुई प्रदर्शनी भएका कारण पनि कृषि मन्त्रालय आर्थिक सहयोग गर्न चासो नदेखाएको व्यवसायी बताउँछन्। विगतका प्रदर्शनीमा कृषि मन्त्रालयले पुष्प व्यवसाय प्रवर्द्धनका लागि करोडौँ रुपैयाँ अनुदानसमेत दिँदै आएको थियो। पुष्प व्यवसायीबीचको विवादका कारण मन्त्रालयले अनुदानका बारेमा केही प्रतिक्रिया दिएको छैन।

फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान) का अध्यक्ष मीनबहादुर तामाङ भने पुष्प व्यवसायी विभाजित नभएको दाबी गर्छन्। दुईतिर प्रदर्शनी हुँदा विभाजन भएको भन्न नमल्नि उनले बताए। उनले भने, ‘कसले किन र कसरी विभाजन गर्‍यो मलाई थाहा छैन। फूल व्यवसायीको छाता संगठन फ्यान मात्र हो। योभन्दा अरू विषयमा जानकारी छैन।’

कृषि उद्यम केन्द्रलाई एक गाउँ एक उत्पादनका लागि सरकारले उपलब्ध गराएको ७० करोड रुपैयाँभन्दा बढी रकम बेरुजु छ। पुष्प व्यवसाय प्रवर्द्धनका लागि कृषि मन्त्रालयले छुट्याएको ८० लाख रुपैयाँ बेरुजु फर्स्योट भएको छैन। यही बजेटमा कुरा नमिल्दा फ्लोरिकल्चर एसोसिएसन नेपाल फुटेको यसै संस्थाका प्रतिनिधि बताउँछन्।
संस्था फुट्नु र जुट्नुमा कुनै भिन्नता नभए पनि व्यवसायीको आन्तरिक लफडा एवं आर्थिक स्वार्थ भएको फ्लोरिकल्चर एसोसिएसन नेपालका एक केन्द्रीय सदस्यले जानकारी दिए।

कात्तिक १२ गते दुवै संस्थाले पुष्प प्रदर्शनीबारेमा जानकारी दिन फरकफरक स्थानमा पत्रकार सम्मेलन गरेका थिए। कतिपय व्यवसायीलाई पत्रकार सम्मेलनपछि मात्र फरक स्थानमा प्रदर्शनी हुने जानकारी भएको ती सदस्यले बताएका छन्।

पुष्प व्यवसाय प्रवर्धनका लागि प्राप्त अनुदानका विषयमा विवाद हुँदा संस्था विभाजित भएको व्यवसायीहरू बताउँछन्। उनीहरूका अनुसार कृषि मन्त्रालयका कर्मचारी र फ्लोरिकल्चर एसोसिएसन नेपालको मिलेमतोमा अनुदान रकम कसरी खर्च गर्ने भन्नेबारे विवाद थियो।

आर्थिक विषयमा विवाद भएकै कारण संस्थामा विभाजित भएको व्यवसायीहरूको भनाइ छ। ‘आन्तरिक विवादका कारण समस्या उत्पन्न भएकै कारण पुष्प व्यवसायीहरूमा मन मुटाव उत्पन्न भएको हो’, नर्सरी व्यवसायी संघका अध्यक्ष रामजीप्रसाद तिमिल्सिना भन्छन्। अहिले आपसी छलफल र समस्याका विषयमा अध्ययन भइरहेका कारण विभाजनका विषयमा केही भन्न नमिल्ने उनको दाबी छ।

पुष्प व्यवसाय फस्टाइरहेका बेला संस्थाको विभाजनले बजारसँगै उत्पादनमा समस्या हुने व्यवसायीको भनाइ छ। व्यवसायीहरूले दुवै संस्थालाई एक हुन आग्रह गर्दै आएका छन्।

कृषि मन्त्रालयका अनुसार नेपालमा लगभग १४७ हेक्टर क्षेत्रफलमा ६ सय प्रजातिका फूल उत्पादन हुँदै आएको छ। पुष्प व्यवसायमा करिब ४५ हजार किसान र उद्यमी आबद्ध रहेको कृषि मन्त्रालयले जनाएको छ। यही क्षेत्रमा ६० हजारले रोजगारीसमेत पाएको मन्त्रालयको तथ्यांकमा छ। तामाङ कांग्रेस निकटका नेताहरूसँग नजिक छन् भने तिमिल्सिना एमाले निकट मानिन्छन्।

प्रकाशित: २० कार्तिक २०८० १६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 10 =