पुष्प व्यवसायमार्फत अर्थतन्त्रमा टेवा पुर्‍याउन सकिन्छ : नारायणकाजी श्रेष्ठ

हिमाल प्रेस १७ चैत २०७९ १६:४२
8
SHARES
पुष्प व्यवसायमार्फत अर्थतन्त्रमा टेवा पुर्‍याउन सकिन्छ : नारायणकाजी श्रेष्ठ फाइल तस्बिर।

काठमाडौँ– भृकुटीमण्डपमा ‘२४औँ फ्लोरा एक्स्पो’ (पुष्प मेला) सुरु भएको छ। पुष्प व्यवसायको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एसोसिएसन नेपालले मेला आयोजना गरेको हो।

मेलाको उद्घाटन गर्दै उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले स्वदेशी वस्तुको उत्पादन र प्रवर्द्धनमार्फत आयात प्रतिस्थापन अहिलेको मुख्य दायित्व रहेको बताए।

‘सुशासन, पुँजीगत खर्च र आन्तरिक उत्पादन बढाएर आयात प्रतिस्थापनलाई सरकारले पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेछ। त्यसका लागि सबै क्षेत्रको सहकार्य आवश्यक छ,’ श्रेष्ठले भने। पुष्प व्यवसाय प्रवर्द्धनमार्फत अर्थतन्त्रमा टेवा पुर्‍याउन यो क्षेत्रलाई थप विकास गर्दै लैजान आवश्यक रहेको उनको भनाइ छ।

त्यस्तै अहिलेको बिग्रँदो अर्थतन्त्रलाई यथास्थितिमा चल्न दिन नसकिने बताउँदै श्रेष्ठले सुधारका लागि सरकारले हस्तक्षेप गर्ने जनाए।

फ्लोरिकल्चर एसोसियसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले अहिले नेपालमा कृषि क्षेत्रमा लगानी घट्दै जाँदा उत्पादन खुम्चिएको र त्यसले आयात बढ्न गएको बताए।

‘बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा पर्याप्त लगानी गर्न सकेका छैनन्। परियोजना धितो राखेर सजिलै परियोजना कर्जा पाउने र महिला उद्यमीका लागि पनि विनाधितो महिला उद्यमी कर्जा प्रवाह गरिनुपर्छ,’ उनले भने।

कोभिड-१९ महामारीअघिसम्म नेपाल पुष्प व्यवसायमा आत्मनिर्भर भइसकेकामा अहिले लगानी घट्दै गएपछि फेरि भारतबाट आयात हुन थालेको उनको भनाइ छ।

अहिले पुष्प व्यवसायमा ७ अर्ब बराबरको लगानी र २ अर्ब ३० करोडको वार्षिक कारोबार रहेको उनको भनाइ छ। गत वर्षको तथ्यांकअनुसार भारतबाट ३६ अर्ब बराबरको पुष्प आयात भएको तामाङले जानकारी दिए।

अहिले नेपालको पुष्प व्यवसायले भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले यो क्षेत्रमा लगानी घट्दै गएको तामाङको भनाइ छ।

‘अहिले ठूलो मात्रामा चोरी निकासी भइरहेको छ। नेपालको उत्पादनले भारतीय बजारसँग प्रतिस्पर्धा गर्न नसक्दा यो क्षेत्रमा लगानी घट्दै गएको छ। प्लान्ड क्वारेन्टाइन तथा विषादी व्यवस्थापनमा पनि समस्या छ,’ उनले भने। पुष्प प्रवर्द्धन नीतिलाई समयसापेक्ष परिमार्जन गरी तीनवटै तहका सरकारमार्फत कार्यान्वयन हुनुपर्ने उनको भनाइ छ।

मेलामा ८० वटा स्टल छन्। जसमध्ये ६२ वटा व्यावसायिक स्टल, तीन वटा ल्यान्डेस्केपिङ स्टल, १० वटा अफिसियल स्टल, तीन वटा प्रतियोगितात्मक प्रदर्शनी स्टल र दुई वटा फुड स्टल छन्। मेलामा मौसमी फूल, कट् फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोस्ट मल, फूलका बीउबिजन, ग्रीन हाउस, कृषि औजार, विषादी, प्याकेजिङ सामग्रीलगायतका स्टल राखिएका छन्।

पुष्प नर्सरी, आपूर्तिकर्ता कम्पनी, व्यावसायिक तथा विभिन्न संघसंस्थाका साथै भारत र बंगलादेशका पुष्प व्यवसायी पनि मेलामा सहभागी रहेको आयोजकको भनाइ छ।

मेलामा सहभागी भएका विभिन्न पुष्प व्यवसायीद्वारा उत्पादित फूल बिरुवाबीच प्रतिस्पर्धा गराई उत्कृष्टलाई पुरस्कृत गरिएको छ। पुष्पजन्य वस्तुको बजारीकरण, यस क्षेत्रसँग सम्बन्धित नयाँ ज्ञान तथा सीप, बजारको अवस्थालगायतका विषयमा जानकारी लिनका लागि यो मेला उपयुक्त अवसर रहेको एसोसियसनले जनाएको छ।

‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ सुरु भएको मेला चैत २० गतेसम्म चल्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 15 =