‘नेपाल फूलमा निर्भर छ, आयात रोक्नुपर्छ’

रमेश भारती १५ कार्तिक २०८० १६:२७
80
SHARES
‘नेपाल फूलमा निर्भर छ, आयात रोक्नुपर्छ’ काठमाडौँको भृकुटीमण्डपमा भएको ‘तिहार फ्लावर एक्स्पो’ मा सजाइएका फूल। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- काठमाडौँ रुद्रेश्वरमा पुष्प व्यवसाय गर्दै आएकी समृद्धि तामाङ तिहारमा फूलको राम्रो व्यापार हुने बताउँछिन्। उनले बारा जिल्लाबाट आएर १३ वर्षदेखि पुष्प व्यवसायी सञ्चालन गर्दै आएकी छन्। भृकुटीमण्डपमा मंगलबारदेखि लागेको ‘तिहार फ्लावर एक्स्पो’मा फूल किन्न आउने ग्राहकको चहलपहल बढेको छ।

‘फूल उत्पादन भएका बेला बजारमा व्यापार कम हुन्छ। फेरि फूल उत्पादन गरे पनि बजारमा समस्या छ। सरकारले पुष्प व्यवसायीका लागि छुट्टै बजारको व्यवस्था गर्नुपर्छ’, व्यवसायी तामाङले  भनिन्, ‘नेपाल फूलमा सम्भावना भएको देश हो। फूल निर्यातसमेत गर्न सक्छौँ। तर नेपालमा प्रविधि नभएका कारण भनेजति फूल उत्पादन गर्न सकिएको छैन।’

तिहारमा चार लाखभन्दा बढीको फूलको व्यापार गर्ने अपेक्षा उनको छ। तामाङ परिवार नै पुष्प व्यवसायमा संलग्न छ। उनीहरूले थप दुई जनालाई रोजगारी दिएका छन्।

तामाङजस्तै १४ वर्षदेखि पुष्प व्यवसाय गर्दै आएको गौतम नर्सरीका बजार व्यवस्थापक रवीन्द्र केसी पनि फूलमा नेपाल निर्भर भएको दाबी गर्छन्। फूलमा सम्भावना भए पनि बजारको मागअनुसार उत्पादन गर्न नसकेको उनले बताए। ‘फूल तिहारमा मात्र चाहिन्छ भन्ने हाम्रो भ्रम छ। फूल त सधैँ चाहिन्छ नि। हामीले सोहीअनुसार उत्पादन गर्न सकेका छैनौँ’, उनले भने, ‘फूलमा नेपाल आत्मानिर्भर छ। तर सरकारले आयात घटाउन सकेको छैन। नेपालबाट फूल बाहिर पनि जान्छ।’

एक्स्पोमा १० लाख रुपैयाँभन्दा बढीको व्यापार हुने उनको अनुमान छ। उनले नर्सरीमा तीन जनालाई रोजगारी दिएका छन्।

सुनिता प्रधानले तिहारमा सजाउने फूल किन्न भृकुटीमण्डपमा आएको बताइन्। फूल भएन भने तिहार आएजस्तो नहुने उनी बताउँछिन्। ‘नेपालमा यति राम्रो फूल खेती हुँदो रहेछ। हामी भने विदेशी फूल किनेर तिहार मनाउने गरेका रहेछौँ। सबैले आफ्नो देशकै उत्पादन प्रयोग गर्नुपर्छ’, उनले भनिन, ‘तिहारमा मात्र होइन फूल त नेपालीलाई जहिल्यै चाहिन्छ। मन्दिरदेखि मलामीसम्म फूल आवश्यक पर्छ। त्यही भएर फूल उत्पादनमा जोड गर्नुपर्छ।’

प्रधानजस्तै काठमाडौँ कुलेश्वरकी गीता अधिकारी पनि एक्स्पोमा तिहारका लागि फूल किन्न र रमिता हेर्न पुगेकी थिइन्। एक्स्पोमा कस्तो फूल राखिएको रहेछ हेर्न र किन्न आएको उनले बताइन्। ‘तिहार भनेकै फूल हो। त्यही भएर तिहारमा फूलको महत्त्व हुन्छ। नेपालमा सयपत्री, मखमली फूल देखिएपछि मात्र तिहार आएजस्तो हुन्छ।’

फूलखेतीमा आकर्षण बढेका कारण ९० प्रतिशत स्वदेशी उत्पादनले आत्मनिर्भर भइरहेको नर्सरी व्यवसायी संघ नेपालका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले जानकारी दिए।
१० प्रतिशत फूलका लागि आयातको भर पर्नुपरेको उनले बताए। ‘१० प्रतिशत आयातमा भर पर्नुपर्ने कारण भने तिहारको तीन दिन सयपत्री फूलको अत्यधिक माग हो। अरू समयमा भने त्यसले बजार पाउँदैन’, उनले भने, ‘गाउँघर भने फूलखेतीमा निर्भर छ। सहरमा मात्र आयात हुने गरेको छ। ग्रामीण भेगको फूल बजारमा ल्याउन सके आयात रोकिन्छ।’

सरकारले फूल व्यवसाय व्यवस्थित गर्न नसक्दा समस्या रहेको गुनासो उनको छ। नेपालमा  ४८ जिल्लाका दुई सय २१ हेक्टरमा फूल खेती भइरहेको छ। यस्तै १ हजार २ जना भन्दा बढीले पुष्प व्यवसाय गरिरहेका छन्। तिनमा करिब ४४ हजारले प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी पाएका छन्। अघिल्लो तिहारमा २० प्रतिशत सयपत्रीको माला आयात भएको संघले जनाएको छ। यस वर्ष पनि १५ प्रतिशत आयात हुने व्यवसायीको अनुमान छ।

एक्स्पोमा चार हजारभन्दा अवलोकन गरेको नर्सरी संघले जनाएको छ। स्टलमा रहेको एउटै गोदावरी फूलको आठ सय रुपैयाँ पर्छ। विभिन्न किसिमका गोदावरी फूलको एउटा गमलाको दुई हजार रुपैयाँ छ। यी गोदावरी फूलहरु मेलाको आकर्षण हुन्। एक्स्पोमा १ सय प्रकारका फूल राखिएका छन्।

 

प्रकाशित: १५ कार्तिक २०८० १६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 15 =