फुर्सदमा फूलमाला व्यापारी

दिपेश श्रेष्ठ २६ कार्तिक २०८० १६:५३
14
SHARES
फुर्सदमा फूलमाला व्यापारी

काठमाडौँ- सिंगो देश तिहारको रमझममा झपक्क छ। यमपञ्चकको दोस्रो दिन आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेकाले मानिसहरू निकै चटारोमा देखिन्छन्। अधिकांश मानिस तिहारको किनमेलमा मात्र हैन साँझको लक्ष्मीपूजाको तयारीमा व्यस्त छन्।

भृकुटीमण्डपस्थित फूलमाला बिक्रीस्थलमा भने वातावरण भिन्न देखिन्छ। विभिन्न स्थानबाट फूलमाला बिक्रीका लागि पुगेका किसान तथा व्यापारी फुर्सदमा रहेका हुन्। फूलमाला बिक्री नभएकाले निराश भएको एक व्यवसायीले बताए।

धादिङ, काभ्रे तथा उपत्यकाका विभिन्न स्थानबाट फूलमाला बिक्रीका लागि आइपुगेका धेरैजसो व्यापारी ग्राहक कुरेर झोक्राइरहेका देखिन्थे। झ्यालढोकामाथि लगाउन पुग्ने लामो सयपत्री फूलको माला १०० रुपैयाँमा पनि बिक्री नभएको व्यवसायीको गुनासो छ। पोहोरको भन्दा निकै सस्तोमा बेच्न खोज्दा पनि ग्राहक नभेटिएको उनीहरू बताउँछन्।

यस वर्ष काठमाडौँ महानगरपालिकाले नेपाल फ्लोरिकल्चर एसोसिएसन र नेपाल चेम्बर अफ कमर्ससँगको संयुक्त पहलमा काठमाडौँको भृकुटीमण्डप, तीनकुने चौर, हाँडीगाउँ र बालाजु भ्याली कोल्ड स्टोरको प्रांगणलाई फूल बिक्रीस्थलका रूपमा तोकेको छ।

व्यवस्थित तरिकाले एकै ठाउँमा ग्राहकले फूलमाला किन्न सकून् भनेर यस्ताे व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ। तोकिएको बाहेक फुटपाथमा बिक्री गरिरहेका व्यवसायीलाई पनि महानगर प्रहरीले बिक्री स्थानसम्म लगेर छोड्ने गरिरहेको छ।

 

प्रकाशित: २६ कार्तिक २०८० १६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + sixteen =