लय समाउँदै पुष्प व्यवसाय

हिमाल प्रेस १८ मंसिर २०७९ १६:०६
6
SHARES
लय समाउँदै पुष्प व्यवसाय

काठमाडौँ- कोरोना महामारीको त्रास कम भएसँगै पुष्प व्यवसाय लयमा फर्किएको छ। ३ वर्षपछि महामारीको त्रास कम भएसँगै यो व्यवसायले गति लिएको हो।

मठमन्दिर, पार्टी प्यालेस पूर्ववत रूपमा नै सञ्चालन भएपछि र विभिन्न किसिमका सभा, सम्मेलन र पर्यटन व्यवसाय पनि सञ्चालमा आउँदा फूलको व्यापार पहिले जसरी नै हुन थालेको छ।

यसका साथै यसवर्ष वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा फूलको माग भएकाले पनि यसवर्ष उल्लेख्य मात्रामा कारोबार भएको बताइएको छ।

३ वर्षको समयमा कोरोना महामारी तेस्रो चरणसम्म आइपुग्दा पुष्प व्यवसायीले कठिन अवस्थाको सामना गर्नुपरेको थियो।

खुसी र विभिन्न उत्सवमा बढी प्रयोग हुने फूल कोरोना महामारीका कारण त्यस्ता गतिविधि ठप्प भएपछि यसको कारोबार पनि नगन्य मात्र भएको थिएन यस व्यवसायले दैनिक एक करोड रुपैयाँसम्मको नोक्सानी सामना गर्नुपरेको फ्लोरी कल्चर एशोसिएशन नेपालका अध्यक्ष मीन तामाङले जानकारी दिए।

कात्तिकदेखि फागुनसम्म विभिन्न चाडपर्व र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ।

पछिल्ला वर्षमा सयपत्री फूलमा पनि देश आत्मनिर्भर हुँदै गएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही सयपत्री फूलको मालामात्रै भारतबाट ल्याउने गरिएको छ ।

अन्य समयमा प्रयोग हुने फूलमा भने देश आत्मनिर्भर भइसकेको अवस्था छ ।

फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको अध्यक्ष तामाङले जानकारी दिए।

नेपालमा हाल व्यवसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको उनले बताए।

नेपालमा लगभग एक सय ५७ हेक्टर क्षेत्रफलमा सात सय व्यवसायीले यसको खेती गर्दै आएका छन्। एशोसिएशनले चालू आर्थिक वर्षमा विगतका वर्षभन्दा २० करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने लक्ष्य लिएको छ।

प्रकाशित: १८ मंसिर २०७९ १६:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − five =