शोकमा जाजरकोट र रुकुम पश्चिम : उद्धारको पर्खाइमा भूकम्पपीडित

हिमाल प्रेस १९ कार्तिक २०८० ९:३७
12
SHARES
शोकमा जाजरकोट र रुकुम पश्चिम : उद्धारको पर्खाइमा भूकम्पपीडित

जाजरकोट- जाजरकोट र रुकुम पश्चिम शोकमा डुबेको छ। शुक्रबार राति ११ बजेर ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्पबाट जनधनको ठूलो क्षति हुँदा ती जिल्लाबासी शोक छन्।

एकातिर आफन्त गुमाउँदाको पीडा छ भने अर्कातर्फ घरबारविहीन हुँदा पीडितलाई झन समस्या भएको छ। प्रहरीको विवरणअनुसार भूकम्पमा परी एक सय ५७ जनाको ज्यान गएको छ।

करिब २०० जना घाइते छन्। जाजरकोट जिल्ला सदरमुकामबाट नजिकै रहेको छेडा बजारमा भूकम्पपीडित सुतिरहेका छन्। भूकम्पले घरमा त खासै क्षति भएन तर शुक्रबार रातिको भूकम्पको कम्पनले मुटु कापिरहेको उनीहरू बताउँछन्। रातभर निदाउन नसकिएको उनीहरूको गुनासो छ।

भूकम्पले जाजरकोट सदरमुकाम खलंगामा धेरै भौतिक क्षति पुर्‍याएको छ। क्षतिको किन विवरण नभए पनि पूर्णरूपमा क्षति भएका घर धेरै छन्। अधिकांश घरमा आशिंक क्षति पुगेको छ।

परम्परागत घरमा क्षति धेरै

जाजरकोटमा गएको भूकम्पले आधुनिक र पक्की घरभन्दा पराम्परागत घरमा क्षति धेरै पुगेको छ। प्रहरीले अहिले तथ्यांक संकलन गरिरहेको बताएको छ। तर भूकम्प प्रभावित क्षेत्रमा रहेका भत्किएका घरको अवस्था हेर्दा परम्परागत र पुराना घर नै पूर्णरूपमा क्षति भएको देखिएको हो।

जाजरकोटमा व्यवसाय गर्दै आएका दाङका अमन चौधरी जाजरकोटमा भूकम्पका कारण भत्किएका घर अधिकांश पुराना रहेको बताउँछन्। विशेषगरी पछिल्लो समय बनाइएका पक्की घरमा त्यति क्षति नपुगेको स्थानीयले बताएका छन्।

जिल्लाका अन्य पालिकामा समेत भूकम्पले क्षति पुर्‍याएको छ। त्यहाँ पनि परम्परागत र पुराना घरमा क्षति पुगेको बताइएको छ। ढुंगा र माटाले बनाइएका घरमा धेरै क्षति पुगेको भेरी नगरपालिका–२ का गोपाल विकले बताए।

खुला आकाशमुनि रात बिताउँदै

भूकम्प पीडितले खुला आकाश पालमुनि बसेर रात बिताएका छन्। घरहरू भत्किएका छन् भने कतिपय चिरा परेर बस्न नसक्ने अवस्थामा घर भएपछि बाहिर बस्नुपरेको उनीहरूको दुःखेसो छ।

बाहिर बस्नुपरेपछि चिसोको समस्या बढेको उनीहरूको भनाइ छ। जाजरकोट भेरी नगरपालिका–२ का मानबहादुर विकले आफ्नो घर भूकम्पले भत्काएपछि अहिले केटाकेटीसहित खुला आकाशमुनि बसिरहेको बताए।

‘एउटा सानो घर थियो, त्यही पनि भूकम्पले भत्काइदियो। साना केटाकेटीका साथमा बाहिर खुला आकाशमा बस्नुपर्ने बाध्यतामा छु। सरकारले पालको व्यवस्था त गरिदिएको छ, यो चिसोको समयमा पालमुनि बस्न पनि धेरै समस्या छ,’ उनले भने।

सरकारले जाजरकोटका भूकम्पबाट प्रभावित भएकाहरूका उद्धारको काम अन्तिम चरणमा पुगेको बताएको छ। ती दुई जिल्लाका भूकम्प प्रभावितको उद्धार गर्न तीनै तहका सरकाको समन्वयात्मक काम गरेको सरकारी अधिकारीहरूको दाबी छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का आफैँ प्रभावितस्थल जाजरकोट आएर उद्धार र राहतको कमी हुन नदिने बताएका थिए।

यस्तै प्रभावितलाई स्थानीय, प्रदेश र केन्द्र सरकारले राहत सामग्रीको पनि कमी हुन दिएका छैनन्। कर्णालीका गाउँपालिका र नगरपालिकासँगै कर्णाली प्रदेश सरकार र अन्य प्रदेश सरकारले समेत राहत सामग्री ल्याएर वितरण गरेका छन् भने अन्य विभिन्न संघसंस्थाले समेत राहत सामग्री वितरण गरिरहेका छन्। रासस

प्रकाशित: १९ कार्तिक २०८० ९:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =