जाजरकोट भूकम्प : रुकुमपश्चिममा २५ हजार लाभग्राही यकिन

हिमाल प्रेस २६ मंसिर २०८० ७:२७
10
SHARES
जाजरकोट भूकम्प : रुकुमपश्चिममा २५ हजार लाभग्राही यकिन फाइल तस्बिर

रुकुमपश्चिम- गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले क्षति पुर्‍याएको रुकुमपश्चिममा २५ हजार लाभग्राहीको संख्या यकिन भएको छ। जिल्लाका छवटै पालिकामा ती लाभग्राहीको संख्या यकिन भएको हो।

प्रभावित क्षेत्रमा क्षतिको विवरण संकलन गरेर २५ हजार लाभग्राहीको लागत तयार भएको र केही स्थानीय तहमा अझै संकलनको काम जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए।

उनका अनुसार लाभग्राहीको विवरण संकलनको काम जारी रहेकाले जिल्लामा पाँच हजार लाभग्राही बढ्नसक्ने जनाइएको छ।

हालसम्म आठबीसकोट, चौरजहारी र मुसीकोट नगरपालिका तथा त्रिवेणी, बाँफीकोट र सानीभेरी गाउँपालिकामा गरेर साढे १७ हजार लाभग्राहीलाई अस्थायी आवास निर्माण गर्नका लागि प्रतिघर २५ हजारका दरले ४३ करोड ७५ लाख रुपैयाँ स्थानीय तह विपद् जोखिम न्यूनीकरण कोषमा पठाइसकिएको छ।

अब संघीय सरकारले पठाएको ५० करोडमा छ करोड २५ लाख मौज्दात रहेको सहायक प्रजिअ बढुवालले जानकारी दिए।

‘२५ हजार लाभग्राहीको मुचुल्का तयार भइसकेको छ,विवरण संकलनको काम केही ठाउँमा बाँकी रहेकाले पाँच हजार लाभग्राही थपिने अनुमान हामीले गरेका छौँ,संघीय सरकारले अस्थायी आवास निर्माणका लागि पठाएको ५० करोडले नपुग्ने देखिएपछि ३० हजार लाभग्राहीका लागि रकम माग गरेर पठाएका छौँ’, उनले भने।

घर क्षति भएका लाभग्राहीको विवरण संकलनको काम एक महिना बढी हुँदा पनि अझै पूर्ण विवरण आएको छ। सबै पालिकाबाट लाभग्राहीको विवरण आउन अझै तीन-चार दिन लाग्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। रासस

प्रकाशित: २६ मंसिर २०८० ७:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 6 =