प्रधानमन्त्री पुगे जाजरकोट

हिमाल प्रेस १८ कार्तिक २०८० ९:१७
2
SHARE
प्रधानमन्त्री पुगे जाजरकोट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार जाजरकोट जिल्ला अस्पतालमा भूकम्पबाट घाइते भई उपचाररतको अवस्थाबारे जानकारी लिँदै। तस्बिर सौजन्य : प्रधानमन्त्री कार्यालय

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जाजरकोट पुगेका छन्। उनी शनिबार बिहान नेपाली सेनाको हेलिकप्टरमा जाजरकोट पुगेका छन्। भूकम्प प्रभावितको उद्धार, खोज तथा राहतका लागि प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको १६ जनाको मेडिकल टिम र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्रमा गएका हुन्।

प्रधानमन्त्रीले जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसँग विवरण लिएपछि स्थलगत अवलोकनतर्फ लागेको जाजरकोट प्रहरीले जनाएको छ। जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुनारले जानकारी दिए।

घाइतेको उद्धार जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ। भूकम्पबाट रुकुम पश्चिममा कम्तीमा ३६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाको टोली उद्धार तथा राहत कार्यमा खटिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

यसैगरी सशस्त्र प्रहरी बलको टोली पनि उद्धारमा खटिएको छ। भूकम्प प्रभावितको उद्धारमा जाजरकोटस्थित आश्रिम गुल्मबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विकास थापाको नेतृत्वमा ६७ जनाको टोली खटिएको छ।

रुकुम पश्चिमस्थित नं ४७ गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक झक्कुप्रसाद शर्माको नेतृत्वमा २४ जना तथा नं ४७ गुल्मबाट सशस्त्र प्रहरीका वरिष्ठ नायव निरीक्षक बलबहादुर थापाको नेतृत्वमा ११ जनाको टोली भूकम्प प्रभावित क्षेत्रमा खटिएको सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।

भूकम्प प्रभावितको उद्धार तथा मद्दतका लागि सशस्त्र प्रहरी बल नं ३२ गण सुर्खेतबाट ३५ जनाको टोली जाजरकोटमा खटिएको छ। नं ६ बाहिनी सुर्खेतबाट एम्बुलेन्ससहित चिकित्सक टोली जाजरकोटमा खटिएको थापाले जानकारी दिए। प्रहरी नायब उपरीक्षक थापाका अनुसार नं २९ गण दाङ र आश्रित गुल्म पूर्वी रुकुमबाट पनि टोली प्रमभावित क्षेत्रमा खटिएको छ। बाँकेस्थित न। ४२ रिजर्भ गणबाट २५ जनाको टोली जाजरकोटमा खटिएको छ।

नेपाल एपीएफ अस्पताल बलम्बुबाट डा. रोशन पराजुलीसहितको नौ जनाको चिकित्सक टोली नेपाली सेनाको स्काई ट्रकमार्फत जाजरकोट पठाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसँग शनिबार बिहान भूकम्पमा भएको क्षतिबारे जानकारी लिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर स्रोत : प्रधानमन्त्रीको सचिवालय
प्रकाशित: १८ कार्तिक २०८० ९:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − four =