अकासियो प्याजको भाउ, किलोको १७० रुपैयाँ

हिमाल प्रेस १५ कार्तिक २०८० १०:५३
12
SHARES
अकासियो प्याजको भाउ, किलोको १७० रुपैयाँ प्रतीकात्मक तस्बिर।

काठमाडौँ-  काठमाडौँको बजारमा प्याजको मूल्य अकासिएको छ। प्याजको प्रतिकिलो १७० रुपैयाँसम्ममा किन्नुपरेको उपभोक्ता बताउँछन्। दसैँअघि प्याजको मूल्य प्रतिकिलो एक सय रुपैयाँसम्म थियो। कालीमाटी फलफूल तथा तरकारी बजारमा प्याजको थोक मूल्य १२० रुपैयाँ रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए।

कालीमाटी तरकारी बजारमा भित्रिने प्याजमध्ये ९९ प्रतिशत भारतीय हो। अहिले भारतीय बजारमा प्याज अभाव भएका कारण आयात घटेको छ। भारतले प्याज निर्यातमा  पनि कडाइ गरेको छ। सोही कारण मूल्य बढेको श्रेष्ठले बताए।

पछिल्लो समय प्रतिदिन ४० देखि ५० टन हाराहारीमा प्याज भित्रिने गरेको छ। यसअघि  ६० देखि ७० टन  भित्रिने गरेको समितिको तथ्यांक छ।  भारतीय  बजारमै प्याजको मूल्य ७० देखि ८० भारु पर्छ।

नेपाली प्याज बजारमा आउने समय भएका कारण पनि मूल्य बढेको समितिका अधिकारीहरू बताउँछन्। नेपालमा चीनबाट पनि प्याज आयात हुन्छ। तर चीनबाट आएको प्याज नेपाली उपभोक्ताले त्यति रुचाउँदैनन्। सोही कारण व्यापारीहरू  चिनियाँ प्याज कमै मात्र आयात गर्छन्।

प्याजको मूल्यसँगै प्याज आयातमा केही कठिनाइ भएसँगै कालोबजारी सुरु भएको उपभोक्ताको गुनासो छ। खुद्रा व्यापारीले प्याजको मूल्य दुई सय रुपैयाँमाथि पुग्ने भन्दै कालोबजारी गर्न थालेको  उपभोक्ता अधिकारकर्मीहरूले बताएका छन्।

प्रकाशित: १५ कार्तिक २०८० १०:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =