महायज्ञबाट संकलित रकम मन्दिर पुनर्निर्माण

हिमाल प्रेस ११ मंसिर २०८० १०:२१
6
SHARES
महायज्ञबाट संकलित रकम मन्दिर पुनर्निर्माण

म्याग्दी- बेनी नगरपालिका–५ पुलाचौरको गाजनेमा रहेको ऐतिहासिक जगन्नाथ मन्दिरको पुनर्निर्माण गरिएको छ। पुनर्निर्माण सो मन्दिरको जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिद्वारा आइतबार आयोजित कार्यक्रममा शुभारम्भ समेत गरिएको छ।

पन्ध्रौँ शताब्दीमा निर्माण भएको जगन्नाथ मन्दिरलाई महायज्ञ आयोजना गरेर संकलन भएको रकमबाट नयाँ स्वरूपमा पुनर्निर्माण गरिएको हो।

नवनिर्मित मन्दिरमा भगवान् जगन्नाथ, बलभद्र तथा सुभद्रादेवीको नवीन अर्चाविग्रहहरूको विधिपूर्वक पूजा गरेर प्राणप्रतिष्ठासमेत गरिएको छ।

विसं २०६९ मा मंसिरको ७ देखि १३ गतेसम्म लगाइएको सप्ताहव्यापी श्रीमद्भागवत् ज्ञान महायज्ञबाट संकलित रकमले जगन्नाथ मन्दिरको पुनर्निर्माण गरिएको थियो।

सप्ताहव्यापी सो महायज्ञबाट संकलित एक करोड आठ लाख रुपैयाँको रकममध्ये जगन्नाथ मन्दिरको पुनर्निर्माण गर्नका लागि कुल ४७ लाख ९१ हजार नौसय ७३ रुपैयाँ खर्च भएको गुठी व्यवस्थापन समितिका सचिव निलकण्ठ शर्माले जानकारी दिए।

मन्दिर शिखर शैली एवं काठमाडौँको पाटन, त्रिपुरेश्वर र भारतको उडिसा राज्यमा अवस्थित कृष्ण तथा जगन्नाथ मन्दिरको आकार र शैलीमा निर्माण गरिएको छ।

पुनर्निर्मित जगन्नाथ मन्दिरको उद्घाटन गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले ऐतिहासिक जगन्नाथ मन्दिरको प्रचार प्रसार र प्रवद्र्धन गरेर धार्मिक पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोड दिए।

जगन्नाथधाममा पूजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ। तत्कालीन राजा दिलीपबम मल्लले विसं १५५० को दशकमा निर्माण गरेको यो मन्दिरको २०३९ सालमा पुनर्निर्माण गरिएको भए पनि तत्कालीन मन्दिर थप जीर्ण बन्दै गएपछि समुदायकै अग्रसरतामा महायज्ञ आयोजना गरेर पुनर्निर्माण गरिएको हो।

मन्दिरको पुनर्निर्माण भएपछि अहिले यस क्षेत्रको भ्रमण तथा पूजापाठका लागि आउनेको संख्या बढेको छ।

प्रकाशित: ११ मंसिर २०८० १०:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − one =